लिदी पहिराेमा पुरिएका ३० को शव फेला ९ अझै वेपत्ता

भदौं ५, चौतारा (सिन्धुपाल्चोक) । लिदीमा हराईरहेका मध्ये आज सम्म ३० जनाको शव फेला परेको छ । जुगल गाउँपालिका–२ लिदीको लामागाउँ गएको पहिरोमा बेपत्ता भएकामध्ये बिहिबार थप पाँचको शव फेला परेको हो ।

बिहिबार तिन महिला एक पुरुष र एक बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले सिन्धुज्वालाई जानकारी दिए । उनका अनुसार बिहिबार ४२ वर्षीय हिरा दोङ, पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया बिबिरानी दोङ, १८ वर्षीया ललिता दोङ र २४ वर्षीया सङ ल्हामु पाख्रीन दोङको शव फेलापरेको हो । यो सँगै पहिरोमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । प्रहरीका अनुसार ९ जना अझै बेपत्ता छन् । हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १४ महिला छन् । तीमध्ये १४ बालबालिकामात्रै छन् । बेपत्ताहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् । हराईरहेका मध्ये बाँकीको पनि खोजीकार्य जारी रहेको प्रहरी नायब उपरिक्षक काफ्लेले जानकारी दिए ।