२२ शव भेटियो १७ जना अझै वेपत्ता

भदौ १, चौतारा (सिन्धुपाल्चोक) ।
जिल्लाको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या २२ पुगेको छ । आज विहान सम्म थप ३ जनाको शव भेटिएपछि मृतकको संख्या २२ पुगेको हो । पहिरोमा हराईरहेका २२ वर्षका छविलाल दोङ, ६ वर्षका सुमन र १० वर्षका सुरज दोङको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधव काफ्लेले सिन्धुज्वालालाई बताए । उनका अनुसार अझै १७ जना पहिरोमा पुरिएका छन् । उनीहरुको खोजीकार्य जारी रहेको उनले बताए ।
त्यस्तै पहिरोमा पुरिएर जीवितै उद्धार गरिएका दावा ग्याल्बो दोङको चौतारामा उपचार भैरहेको छ । ९ वर्षका रुप बहादुर दोङ उपचारपछि घर फर्किएका छन् भने दावा ग्याल्बो दोङसहित ५ जनाको चौतारा र काठमाण्डौमा उपचार भैरहेको छ
लिदिको लामा टोलमा पहिरोले सिंगो बस्ती पुरेको थियो । बस्ती भन्दा करिब ४ सय मिटर माथिबाट शुक्रबार बिहान आएको पहिरोमा परेका अझै २३ वेपत्ता छन् ।
पहिरोमा घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । उनीहरु चौतारा अस्पतालमा उपचारार्थ छन् । एक घाइतेको काठमाण्डौंको शिभिल अस्पतालमा उपचार भइरहेको छ ।बेपत्ताको स्थानीय, प्रहरी, सेनाबाट खोज तथा उद्धार जारी रहेकोे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी निुभयो ।
यसैबीच बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले लिदी पहिरोबाट विस्थापितलाई सुरक्षित आवासको प्रतिबद्धता जनाएका छन् ।
पहिरोबाट विस्थापित भएका जुगल गाउँपालिका वडा नम्बर–२ लिदीका स्थानीयलाई सुरक्षित आवासको व्यवस्था गर्ने मुख्यमन्त्री पौडेलले प्रतिबद्धता जनाएका हुन् । वाग्मती प्रदेशका पर्यटन तथा वनमन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, सांसद सरेश नेपालसहित राहत लिएर घटनास्थल पुगेका मुख्यमन्त्री पौडेलले लिदी घटनाले सरकारको ध्यानार्कषण भएको बताए । । मुख्यमन्त्री पौडेलले तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था गर्ने र सरोकारवाला निकायसँगको छलफलपछि पहिरोबाट विस्थापितलाई स्थायी आवासको प्रबन्ध मिलाउने बताए । पीडित परिवारलाई भेट्दै मुख्यमन्त्री पौडेलले जोखिम क्षेत्रका पीडितको सुरक्षित आवासको व्यवस्था गर्ने बचन दिए । पहिरो पीडितहरुलाई तत्काल अस्थाई आवस बनाएर राखिदिने र वर्षापछि प्रदेश सरकारले पीडितहरुको घर बनाइदिने मुख्यमन्त्री पौडेलले प्रतिबद्धता गरे । वर्षापछि जिल्लामा सबै सरोकारवालहरुसँग छलफल गरेर लिदीलगायत जिल्लाको अन्य जोखिम बस्तीहरुलाई स्थान्तरन गर्न प्रदेश सरकारले काम सुरु गर्ने प्रतिबद्धता गरेका छन् ।
मुख्यमन्त्रीसँगै रहेका यस क्षेत्रका प्रदेश सासंद सरेश नेपालले पीडितहरुलाई दिर्घकालिन रुपमा र दिगो समाधान हुने गरी बस्ती स्थान्तरन लगायत अन्य सबै कामहरु गरिदिने बताए । पीडितहरुलाई आय आर्जन लगायतका कामहरु पनि प्रदेश सरकार गम्भीर भएर लाग्ने उनले जानकरी दिए ।
यसैगरी जुगल गाउँपालिकाले लिदी पहिरोमा परि ज्यान गुमाएका मृतकका परिवारलाई एकलाख राहत दिने निर्णय भएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले सिन्धुज्वालालाई बताए । उनका अनुसार त्यसबाहेक प्रति मृतक परिवारले किरिया खर्च बापत २५ हजार थप पाउने छन् । त्यस्तै ६ जना वितेका परिवारले दुईलाख ५० हजार सम्म पाएको उनले बताए । यसैगरी गाउँपालिकाले दुवै अविभावक गुमाएका बालबालिकाहरुलाई १२ कक्षा सम्म पढ्न निशुल्क गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।