माथिल्लो भोटेकोशी र स्थानीय बीच सहमति

झिर्पु (सिन्धुपाल्चोक), माथिल्लो भोटेकोशी जलविद्युत आयोजना र स्थानीय आन्दोलनकारी बीच सहमति भएको छ । भोटेकोशी गाउँपालिका–४ मा रहेको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाले मुआब्जा नदिएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय बीच बिहिबार सहमति भएको हो । उक्त आयोजनाले स्थानीयलाई अहिलेसम्म मुआब्जा र सेयर नपाएको भन्दै आयोजनाको साईड कार्यालय (विद्युत उत्पादन गृह) मा मंगलबार केही समय ताला लगाएका थिए । बिहिबार भोटेकोशी गाउँपालिकाका प्रतिनिधि, आयोजनाका प्रतिनिधी तथा पीडित भनिएका स्थानीय बीच भएको छलफलमा आन्दोलन फिर्ता लिने शर्तमा स्थानीयको मागलाई सम्वोधन गर्ने गरी सहमति गरिएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले सिन्धुज्वालालाई बताए । ’स्थानीयको माग अनुसार १० दिन प्राविधिक रिपोर्ट ल्याउने सहमति भएको छ‘, उनले भने । उनका अनुसार पीडित भनिएका स्थानीयले पाउन पर्ने क्षतिपुर्तिको सम्बन्धमा गाउँपालिका र आयोजना दुवैतिरका ईन्जिनिएरहरुले स्थलगत अनुगमन गर्नेछन् । १० दिनको अवधिमा तयार गरिएको रिपोर्ट गाउँपालिका कार्यालयमा पेश गर्नुपर्ने छ । सोही रिपोर्टको आधारमा पुनः पालिका र आयोजना बसी पीडितलाई दिनुपर्ने क्षतिपुर्तिका सम्बन्धमा छलफल गरिने उनले बताए ।
गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने सेलाङकट्टीका स्थानीयले आयोजनाले सुरुङ खन्दा दिनुपर्ने क्षतिपूर्ति आजसम्म नदिएका कारण पीडितहरु आन्दोलनमा उत्रिएको सोही वडाका वडाअध्यक्ष साङदोर्जे शेर्पाले बताए । प्रभावितहरुलाई भोटेकोशीले दिने भनिएको ६ प्रतिशत शेयरमा थपेर १० प्रतिशत दिनुपर्ने माग समेत स्थानीयले राखेको उनले बताए । हाईड्रोपावर निर्माण हुनुअघि २०५३ सालमा गरेको सम्झौतामा निशुल्क सेयर र स्थानीयको जग्गामा पुगेको क्षतिको मुआब्जा दिने सहमति भएपनि अहिले सम्म नपाएको संघर्ष समितिमा सामेल जानुका श्रेष्ठले बताईन । सम्झौता भएता पनि आफुहरुले अहिलेसम्म मुआब्जा र निशुल्क सेयर नपाएको कारण कार्यालयमा ताला लगाईएको कान्छी शेर्पाले बताईन ।
स्थानीयको क्षतिपूर्तिको माग अनुसार आयोजनाबाट यस अघि नै पुरा गरिएको भोटेकोशी कम्पनी प्रालिका बबिन प्रधानले बताए । ’क्षतिपुर्ति पाउनपर्ने कोही छिटपुट प्रभावित बाँकी भए अनुगमन र मूल्याङ्कनको आधारमा आयोजनाले दिनेछ‘, प्रधानले भने । स्थानीयलाई दिने भनिएको ६ प्रतिशत सेयर प्रभावित स्थानीय तहले समिति लगाएत आवश्यक योजना बनाएको खण्डमा वितरण गर्न सकिने उनले स्पष्ट पारे ।