बाह्रबिसे नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा

बाह्रबिसे । जिल्लाको महत्वपूर्ण व्यापारीकेन्द्र बाह्रबिसे नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।
’सबैको एउटै रहर, सफा सुन्दर बाह्रबिसे नगर‘ भन्ने नारा तय गरेको बाह्रबिसेले नगरपालिकालाई बुधबार खुला दिसामुक्त क्षेत्र घोषणा गरेको हो । नगरलाई खुला दिसामुक्त घोषणा गर्नु पूर्व सार्वजनिक तथा सबै वडाहरुमा शौचालय बनीसकेका कारण घोषणा गरिएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए । ’नगरको सबै वडा तथा सार्वजनिक स्थलहरुहरुमा शौचालय निर्माण सम्पन्न भईसकेका छन्‘, नगरप्रमुख शेर्पाले भने ।
उनका अनुसार भूकम्प अघि उक्त नगरपालिका अन्र्तगतका साविकका गाविस तथा वडाहरु खुला दिसामुक्त घोषणा भईसकेपनि भूकम्प पछि बनेका निजी आवासमा शौचालय बन्न ढिला भएपछि घोषणा गर्न ढिला भएको हो । नगरलाई खुला दिसामुक्त घोषणा गर्न पत्रचार गरिएअनुसार जिल्ला समन्वय समिति तथा सरसफाई डिभिजन कार्यालय लगाएत निकायको अनुगमन पछि सम्भव भएको उनले बताए । खुला दिसामुक्त क्षेत्र घोषणा संगै बाह्रबिसे नगरपालिका जिल्लाकै एउटा सुन्दर नगरीको रुपमा विकास हुने मेयर शेर्पाले दावी गरे । ३२ हजार ३ सय ५५ जनसंख्या रहेको उक्त नगरपालिकामा ८ हजार ५ सय ५२ घरधुरी संख्या रहेको छ । जसमध्ये शौचालय रहेको घरधुरी ८ हजार १ सय २८ रहेको र ३६३ निर्माणको अन्तिम चरणमा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र पौडेलले जानकारी दिए । त्यस्तै नगरक्षेत्रका विभिन्न सरकारी, गैरसरकारी, संघसंस्था तथा विद्यालयहरुमा समेत शौचालय निर्माण सम्पन्न भएको उनले बताए ।
उक्त घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, नगरपालिकाकी उपप्रमुख शुशिला पाख्रिन, सबै वडाका वडाअध्यक्ष लगाएतको उपस्थितिमा घोषणा गरिएको हो ।