राष्ट्रिय मुद्दाको विसर्जन, भारतीय विस्तारवादको अनुमोदन ! ईपीजीदेखि लिपुलेकसम्म कूटनीतिक अपरिपक्वताले भारतलाई दिएको खुला मैदान !!“
“बालेनको भारत भ्रमणः राष्ट्रिय मुद्दाको विसर्जन, भारतीय विस्तारवादको अनुमोदन !
दिल्लीले आफ्नो स्वार्थ जित्यो, नेपालले आफ्नो आवाज गुमायो !“

भूमिकाः
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सम्पन्न भएको छ । भ्रमणका तस्बिरहरू सार्वजनिक भएका छन् । मोदीसँगको अङ्कमाल, मुस्कान र आतिथ्यका दृश्य सञ्चार माध्यममा छाएका छन् । दुई खर्ब ४० अर्ब रुपैयाँको आर्थिक सहायता, केही समझदारी पत्र र विकास आयोजनाका घोषणालाई सरकारको ठूलो उपलब्धिका रूपमा प्रचार गर्न थालेको छ ।
तर कूटनीतिको हिसाबकिताब तस्बिर र मुस्कानमा होइन, राष्ट्रिय स्वार्थको पक्षमा प्राप्त उपलब्धि र गुमेका अवसरको तुलनाले गरिनु पर्छ । यही कसौटीबाट प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मूल्याङ्कन गर्दा यो भ्रमण उपलब्धि भन्दा पनि बढी नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र कूटनीतिक परिपक्वता माथि गम्भीर प्रश्न उठाउने भ्रमणका रूपमा देखिएको छ ।
अझ गम्भीर कुरा त के छ भने यो भ्रमणले भारतले वर्षौंदेखि नेपाल प्रति अपनाउँदै आएको विस्तारवादी र प्रभुत्ववादी सोचलाई उजागर गर्ने मात्र होइन, नेपालका जायज राष्ट्रिय मुद्दालाई समेत पन्छाउने भारतीय रणनीतिका अगाडि नेपाली नेतृत्व कति निरीह बन्न सक्छ भन्ने कुराको समेत नाङ्गो प्रदर्शन गरेको छ ।
प्राध्यापक एस. डी. मुनीले भ्रमणको बाहिरी प्रस्तुति र प्रतिबद्धता राम्रो भए पनि कुनै ठूलो कूटनीतिक उपलब्धि हासिल नभएको टिप्पणी गरेका छन् । भ्रमणको भिजन दस्तावेजलाई भारतको कूटनीतिक औजारका रूपमा समेत व्याख्या गरेका छन् । यो टिप्पणीलाई सामान्य रूपमा लिन मिल्दैन । भारतकै कूटनीतिक मामिलाका जानकारको दृष्टिमा समेत ठूलो उपलब्धि नभएको भ्रमणलाई नेपाल सरकारले ऐतिहासिक सफलता भन्दै प्रचार गर्नु आफैँमा हास्यास्पद छैन र ?
तर यो भ्रमणको सबैभन्दा गम्भीर र आपत्तिजनक पक्ष आर्थिक सहायता वा परियोजनाको सूची होइन । यसको सबैभन्दा ठूलो राजनीतिक प्रश्न ईपीजी प्रतिवेदन र नेपालको सीमा सार्वभौमिकता सँग जोडिएको छ ।
ईपीजी प्रतिवेदन ः नेपालको राष्ट्रिय हितमाथि भारतीय अर्घेल्याइँलाई वैधानिकता दिने काम !
नेपाल र भारतबीचको सम्बन्धमा रहेका असमानता, असमझदारी र विवादको पहिचान गरी समाधानका उपाय सुझाउन सन् २०१६ मा दुवै देशका चार–चार जना विज्ञ सम्मिलित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) गठन गरिएको थियो । १९५० को असमान सन्धि, सीमा व्यवस्थापन, व्यापार, पारवहन, जलस्रोत, सुरक्षा र दुई देशबीचको समग्र सम्बन्धलाई समयानुकूल पुनरावलोकन गर्ने उद्देश्यले गठित उक्त समूहले नौ वटा बैठक पछि सन् २०१८ मा आफ्नो प्रतिवेदन तयार गरेको थियो ।
यो कुनै चिया गफमा तयार पारिएको कागज थिएन । दुवै देशका प्रतिनिधि सम्मिलित औपचारिक संयन्त्रले छलफल र सहमतिका आधारमा तयार गरेको साझा प्रतिवेदन थियो ।
तर विडम्बना ! भारतले अहिले सम्म उक्त प्रतिवेदन बुझ्न समेत अस्वीकार गर्दै आएको छ । नेपालले प्रतिवेदन बुझ्न र त्यसका सुझाव माथि छलफल गर्न तयार हुँदा भारतले नै त्यसलाई ग्रहण नगरेर आठ वर्षदेखि अलपत्र पारिरहेको छ ।
यही पृष्ठभूमिमा प्रधानमन्त्री बालेनको भारत भ्रमणपछि भारतीय विदेश सचिव विक्रम मिस्रीको अभिव्यक्ति आउँछ– ईपीजी प्रतिवेदन इतिहास भइसक्यो, अब अगाडि बढ्नुपर्छ, विगत तिर फर्केर हेर्नु आवश्यक छैन, त्यो प्रतिवेदन अब सान्दर्भिक छैन । यो अभिव्यक्तिको अन्तर्य के हो ? भारतले आफैँले गठन गरेको संयन्त्रको प्रतिवेदन बुझ्न अस्वीकार गर्ने, त्यसलाई वर्षौँ सम्म थन्क्याएर राख्ने अनि अहिले आएर त्यसको औचित्य समाप्त भएको घोषणा गर्ने ! भारतको यो कस्तो कूटनीतिक इमानदारी हो ?
अझ आपत्तिजनक कुरा त के भने नेपालका प्रधानमन्त्रीको भारत भ्रमण पछि भारतले यस्तो अभिव्यक्ति दिन पाएको छ । भारतले प्रतिवेदन नबुझ्ने आफ्नो पुरानै अडानलाई अझ निर्भीकताका साथ दोहो¥याएको छ । नेपालले भने त्यसलाई अस्वीकार गर्ने, प्रतिवाद गर्ने वा प्रतिवेदन ग्रहण गरेर सार्वजनिक बहसमा लैजाने कुनै स्पष्ट अडान प्रस्तुत गर्न सकेको देखिँदैन ।
यो अवस्थामा अब प्रश्न उठ्छ– प्रधानमन्त्री बालेन भारत गएर के गरे ? भारतको ईपीजी प्रतिवेदनलाई इतिहास घोषणा गर्ने पुरानो चाहनालाई पूरा गरिदिने वातावरण तयार पारेर फर्किएको त होइन ? वास्तवमा भारतले प्रतिवेदन स्वीकार नगरेको विषयलाई नेपालले कूटनीतिक दबाबको मुद्दा बनाउनु पर्ने थियो । यहाँ त उल्टै भारतको चाहना अनुसार प्रतिवेदनलाई विगतको कुरा मानेर नयाँ अध्याय सुरु गर्ने भाष्य निर्माण हुन पुग्यो ।
यसलाई सामान्य कूटनीतिक कमजोरी भनेर उम्कन मिल्दैन । यो नेपालको राष्ट्रिय हितको एउटा महत्त्वपूर्ण दस्तावेजलाई भारतीय असहमतिका अगाडि निरीह बनाउने राजनीतिक भूल हो ।
के ईपीजीका चार–चार जना सदस्यले नौवटा बैठक गरेर तयार गरेको प्रतिवेदनलाई भारतले नबुझ्दैमा त्यसको ऐतिहासिकता र औचित्य समाप्त हुन्छ ? भारतले अस्वीकार ग¥यो भन्दैमा नेपालले पनि त्यसलाई बिर्सनुपर्ने हो ? कसैको मन नपरेको दस्तावेज इतिहास हुँदैन । राष्ट्रिय हितको विषयमा तयार भएको प्रतिवेदनलाई अर्को पक्षको असहमतिले खारेज गर्न सक्दैन ।
यसर्थ दुवै देशका चार–चार सदस्य सम्मिलित ईपीजीको कामलाई औपचारिक रूपमा टुङ्ग्याउने वा विघटन गर्ने कुनै प्रक्रिया यस भ्रमणबाट सम्पन्न भएको हो कि होइन ? र कुटनैतिक रूपमा नेपल नजानिदो गरि चुकेको हो कि होइन ? यस विषयमा समेत सरकारले स्पष्ट पार्नुपर्छ । बालेनको भ्रमण लगत्तै प्रतिवेदन बुझ्ने प्रक्रियालाई नै अघि नबढाई त्यसको औचित्य सकिएको भाष्य मौन स्वीकार गर्नु भनेको आफ्नो खुट्टामा आफैँ बन्चरो हान्नु हो ।
शिशिर खनालको स्पष्टीकरण ः विषयको गम्भीरता नबुझ्ने कि बुझेर पनि ढाकछोप गर्ने ?
ईपीजी प्रतिवेदन बारे परराष्ट्रमन्त्री शिशिर खनालको स्पष्टीकरण झनै उदेक लाग्दो छ । ईपीजीका कन्टेन्टहरू नयाँ समझदारी र भिजन दस्तावेजमा समेटिएका छन् । ईपीजी नै भनेर किन भन्नू पर्यो र ? भन्ने खनालको आशयको तर्कले ईपीजीको मूल राजनीतिक महत्त्वलाई प्रतिस्थापन गर्न सक्दैन ।
ईपीजी प्रतिवेदन कुनै विषयहरूको सूची मात्र होइन । त्यो नेपाल र भारत बीचको सम्बन्धलाई समानता, पारस्परिक सम्मान र राष्ट्रिय सार्वभौमिकताको आधारमा पुनर्संरचना गर्ने प्रयत्न थियो । प्रतिवेदनका केही विषय नयाँ दस्तावेजमा उल्लेख हुनु र प्रतिवेदनलाई औपचारिक रूपमा ग्रहण गरेर त्यसका सिफारिस माथि छलफल गर्नु एउटै कुरा होइन ।
कुनै व्यक्तिको घरमा भएको अन्यायको छानबिन गर्न समिति गठन गरियो, समितिले नौपटक बैठक बसेर प्रतिवेदन तयार ग¥यो, तर दोषी पक्षले प्रतिवेदन बुझ्नै मानेन । अब दोषी पक्षले भन्यो– त्यो पुरानो कुरा भयो, बिर्सेर अगाडि बढौँ । अनि पीडित पक्षले पनि प्रतिवेदनका केही विषय नयाँ सहमतिमा परेका छन् भन्दै चित्त बुझायो भने त्यो न्याय भयो कि अन्यायलाई संस्थागत गर्ने काम भयो ?
शिशिर खनालले बुझ्नुपर्ने कुरा के हो भने प्रतिवेदनका विषयवस्तु समेटिनु र प्रतिवेदनको संस्थागत स्वीकारोक्ति हुनु फरक कुरा हुन् ।
उनको तर्कले ईपीजी प्रतिवेदन माथि भारतले गरेको बेवास्तालाई चुनौती दिनुको सट्टा त्यसलाई सामान्यीकरण गर्ने काम गर्छ ।
यो त ठ्याक्कै त्यस्तै भयो– विपक्षीले तपाईंलाई लडाएर छाती माथि चढेर थिचिरहेको छ । तपाईंको अवस्था नाजुक छ । तर आफूलाई थिचिरहेको विपक्षीको शरीर माथि आफ्नो एउटा खुट्टा अड्याएर गर्व गर्दै भन्नुहुन्छ– ‘हेर्, मेरो खुट्टा तेरो शरीर माथि नै छ नि !’ आफू थिचिएको यथार्थलाई उपलब्धिको भ्रमले छोप्ने यस्तो आत्मरतिले राष्ट्रिय हितको रक्षा हुँदैन ।
लिपुलेक ः भारत–चीनको व्यापारिक नाका कि नेपालको सार्वभौम भू–भाग ?
प्रधानमन्त्री बालेनको भारत भ्रमणको अर्को सबैभन्दा लज्जास्पद पक्ष लिपुलेकसँग सम्बन्धित छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको ऐतिहासिक भू–भाग हुन् । नेपालको संविधानमा समेटिएको नक्साले समेत नेपालको आधिकारिक दाबी स्पष्ट पारेको छ ।
तर भारतीय विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा लिपुलेक भारत र चीनबीचको पास (नाका) भएको, लामो समय देखि दुई देशबीच व्यापार तथा अन्य गतिविधिमा प्रयोग हुँदै आएको अभिव्यक्ति दिए ।
यो सामान्य अभिव्यक्ति होइन । नेपालको सार्वभौमिक दाबी माथि सीधा चुनौती हो ।
अझ आश्चर्यजनक कुरा के छ भने प्रधानमन्त्री बालेनले विगतमा लिपुलेक नेपालको भू–भाग भएको भन्दै सामाजिक सञ्जालमा दृढ अभिव्यक्ति दिएका थिए । काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा पनि उनले यस विषयमा आफ्नो अडान सार्वजनिक गरेका थिए ।
तर प्रधानमन्त्री बनेपछि भारतको भूमिमा पुग्दा त्यही लिपुलेकको विषयमा मौन रहे । भारतीय विदेश सचिवले लिपुलेकलाई भारत–चीनको नाका भन्दै सार्वजनिक अभिव्यक्ति दिँइरहदा नेपालका प्रधानमन्त्रीले के जवाफ दिए त ? र्याप ब्याटल त खुबै हान्नुहुन्थ्यो त ! उहाँ फर्किएर आफ्नो नेपालको भूमि टेक्न पाउँदानपाउँदै भारत पक्षको दाबी विरूद्ध नेपालको आधिकारिक नक्सा र सार्वभौमिकताको दाबी प्रस्तुत गर्नुभयो कि भएन ?
यसर्थ भारतले नेपालको भूभागलाई आफ्नो र चीनसँगको व्यापारिक नाकाका रूपमा प्रस्तुत गर्दा नेपालका प्रधानमन्त्रीको मौनतालाई कूटनीतिक चातुर्य भन्ने कि राष्ट्रिय मुद्दाबाट पलायन त ?
अझ गम्भीर कुरा त भ्रमण अघि नै सीमा विवादको विषय कार्यसूचीबाट हटाइएको र दुवै पक्षबीच विवादास्पद विषय नउठाउने समझदारी भएको समाचार सार्वजनिक भएको छ । यदि यो समाचार सत्य हो भने प्रश्न अझ गम्भीर हुन्छ, कि – प्रधानमन्त्री भारत जानु अघि नै नेपालको भूभाग सम्बन्धी प्रश्न नउठाउने सहमति किन गर्नुपरेको ? के नेपालको सार्वभौमिकता कुनै प्रधानमन्त्रीको निजी सौदाबाजीको विषय हो ? भारतलाई असहज हुन्छ भनेर आफ्नो देशको भूभागको प्रश्न नै नउठाउने कस्तो कूटनीति हो ? नेपालले आफ्नो भूभागको दाबी राख्न भारतसँग अनुमति लिनुपर्ने हो ?
सीमा विवाद तुरुन्त समाधान नहुन सक्छ । तर आफ्नो भूभाग माथिको दाबी राख्न र त्यसको समाधानका लागि औपचारिक संवाद माग्न त सकिन्छ नि ! भारतले लिपुलेकलाई आफ्नो र चीनको नाका भन्दै व्याख्या गरिरहने, चीनसँग व्यापारिक गतिविधि अगाडि बढाउने अनि नेपालका प्रधानमन्त्रीले त्यो विषयमा एक शब्द नबोल्ने हो भने राष्ट्रिय स्वाभिमानको भाषण र सामाजिक संजालको चर्को स्टेटसको अर्थ के रह्यो ?
सीमा विवादलाई कार्यसूचीबाट हटाउनु ः कूटनीतिक चातुर्य होइन, आत्मसमर्पणको मानसिकता !
काठमाडौँ पोस्ट र अनलाइन खबरले प्रकाशित गरेका समाचार अनुसार सीमा विवादलाई भ्रमणको औपचारिक कार्यसूचीबाट हटाइएको थियो । अनलाइन खबरले प्रधानमन्त्रीकै निर्देशनमा विवादास्पद विषय हटाइएको प्रधानमन्त्री कार्यालयको स्रोतलाई उद्धृत गरेको छ ।
यदि प्रधानमन्त्रीले भ्रमण नै प्रभावित हुने डरले सीमा विवाद उठाउन नचाहनुभएको हो भने त्यो निर्णयको राजनीतिक औचित्य के हो ? के नेपालका प्रधानमन्त्रीले भारतसँग सम्बन्ध राम्रो बनाउन आफ्ना राष्ट्रिय मुद्दा लुकाएर जानुपर्ने हो ? के भारतसँग मित्रता कायम राख्न नेपालको भूभाग माथिको दाबीलाई थाती राख्नुपर्ने हो ? कूटनीतिमा वार्ताको वातावरण बनाउनु एउटा कुरा हो । राष्ट्रिय हितको विषयलाई वार्ताको टेबुलबाटै हटाउनु अर्कै कुरा हो ।
यो भ्रमणमा सिमा विवाद समाधान गर्न नसके पनि त्यसलाई उच्चस्तरीय छलफलमा उठाउन सकिन्थ्यो । संयुक्त वक्तव्यमा स्पष्ट उल्लेख गराउन सकिन्थ्यो । समाधानका लागि समय सीमा र वार्ताको कार्यतालिका तय गर्न सकिन्थ्यो ।तर त्यस्तो कुनै ठोस परिणाम आएन । बरु यहाँ त भारतीय पक्षले खुलेर भनिदियो– लिपुलेकको विषय उठेन, ईपीजी प्रतिवेदन इतिहास भइसक्यो । अर्थात भारतले आफ्नो माइण्ड सेटेड अडान स्पष्ट पारेर फर्कियो । तर नेपालले भने आफ्नो मौनताको बचाउ गर्नुपर्ने अवस्था सिर्जना भयो ।
भारतीय विस्तारवादी सोचको वास्तविक अनुहार ः नेपालले नबोलेसम्म भारतलाई कुनै असहजता छैन !
भारतसँग नेपालको मित्रता र सहकार्य आवश्यक छ । तर मित्रताको अर्थ प्रभुत्व स्वीकार गर्नु होइन । नेपालले वर्षौंदेखि भोगिरहेको सीमा अतिक्रमण, असमान सन्धि, व्यापार तथा पारवहनका समस्या र ईपीजी प्रतिवेदन प्रतिको भारतीय बेवास्ता कुनै काल्पनिक विषय होइनन् ।
भारतले नेपालको भूभाग माथि दाबी गर्ने, नेपालले उठाएको प्रतिवेदन स्वीकार नगर्ने, व्यापार र पारवहनका विषयमा आफ्नो सुविधा अनुसार व्यवहार गर्ने अनि नेपालले भने मित्रताको नाममा हरेक असहज प्रश्न पन्छाउनु पर्ने हो भने त्यो समान सार्वभौमसत्तामा आधारित सम्बन्ध हुन सक्दैन । यो त प्रभुत्ववादी सम्बन्ध हो ।
भारतको समस्या के हो भने नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वतन्त्र निर्णय गरोस् भन्ने कुरा उसलाई सहज लाग्दैन । नेपालको आन्तरिक र बाह्य सम्बन्धमा आफ्नो रणनीतिक सुविधा सुरक्षित रहोस् भन्ने उसको चाहना देखिन्छ । त्यसैले नेपालले भारतसँग सम्बन्ध राख्दा आत्मविश्वास र स्पष्ट अडानका साथ राख्नुपर्छ । छिमेकीको सुरक्षा चासो बुझ्ने तर आफ्नो सार्वभौमिकताको प्रश्नमा कुनै सम्झौता नगर्ने नीति अपनाउनु पर्छ । आज बालेनको भारत भ्रमणले यही आत्मविश्वासको अभाव र अपरिपक्वता देखायो ।
नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न भारतको व्यवहारसँग मात्र जोडिएको विषय होइन । यसमा नेपालको आफ्नै राजनीतिक नेतृत्वको चरित्र, राष्ट्रिय मुद्दामा देखिने अस्थिरता र सत्तास्वार्थका लागि राष्ट्रिय अडान कमजोर बनाउने प्रवृत्तिको पनि उत्तिकै भूमिका छ ।
शक्तिशाली छिमेकीले आफ्नो स्वार्थअनुकूल व्यवहार गर्न खोज्नु उसको रणनीति हुन सक्छ, तर त्यसको प्रतिरोध गर्ने राष्ट्रिय क्षमता निर्माण गर्नु नेपालको नेतृत्वको जिम्मेवारी हो । राष्ट्रिय मुद्दामा दलहरूबीच साझा दृष्टिकोण र दीर्घकालीन नीति निर्माण नगरेसम्म सरकार परिवर्तनसँगै राष्ट्रिय अडान परिवर्तन हुने विडम्बना अन्त्य हुँदैन ।
दुई खर्ब ४० अर्बको आर्थिक सहायता ः राष्ट्रिय स्वार्थको विकल्प हुन सक्दैन !
सरकारले भ्रमणको उपलब्धिका रूपमा प्रचार गरिएको दुई खर्ब ४० अर्ब रुपैयाँको आर्थिक सहयोग मध्ये करिब ५६ अर्ब अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण हो भनेर मिडियामा आएको छ । यदि यो साँचो हो भने सरकारले ऋणलाई अनुदानजस्तै प्रचार गरेर जनतालाई भ्रममा पार्न मिल्दैन ।
भारतबाट सहयोग लिनु गलत होइन । विकासका लागि ऋण लिनु पनि गलत होइन । तर ऋण र आर्थिक सहयोगको बदलामा नेपालले आफ्ना दीर्घकालीन राष्ट्रिय मुद्दामा मौनता साँध्नुपर्ने अवस्था आउनु हुँदैन ।
नेपालले भारतसँगको व्यापार घाटा कम गर्न, नेपाली उत्पादनको बजार सुनिश्चित गर्न, पारवहन सुविधा विस्तार गर्न र अन्तर्राष्ट्रिय हवाई मार्गको समस्या समाधान गर्नुपर्ने थियो । तर सीमा विवाद, ईपीजी प्रतिवेदन, १९५० को सन्धि र पञ्चेश्वर जस्ता महत्त्वपूर्ण मुद्दामा ठोस प्रगति भएन । यहाँ सरकारले पैसा र परियोजनाको सूची देखाएर राष्ट्रिय स्वार्थमा भएको क्षतिलाई ढाकछोप गर्न खोज्नु राजनीतिक बेइमानी हो ।
यसर्थ यहाँ बुझ्नुपर्ने कुरा के हो भने, कुनै देशले विकासका लागि सहायता दिन सक्छ । तर आफ्नो सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानको मूल्यमा प्राप्त सहायता कुनै पनि अर्थमा गौरवको विषय हुन सक्दैन ।
एस. डी. मुनीको टिप्पणी ः भारतको रणनीतिक दृष्टि बुझ्ने कि आफ्नै सरकारको प्रचारमा रमाउने ?
भारतीय कूटनीतिक विश्लेषक एस. डी. मुनीले बालेनको भ्रमणलाई बाहिरी प्रस्तुति र प्रतिबद्धताका हिसाबले राम्रो भए पनि ठोस उपलब्धिका हिसाबले कुनै ठूलो ब्रेकथ्रु नभएको बताएका छन् । उनले संयुक्त भिजन दस्तावेजलाई भारतको कूटनीतिक औजारका रूपमा व्याख्या गरेका पनि छन् । यसको कार्यान्वयन नेपाल–भारतबीचको भावी राजनीतिक वातावरणमा निर्भर रहने उनको भनाइ पनि छ ।
बागडोगरा विमानस्थलका लागि नेपाली हवाई क्षेत्र प्रयोग गर्ने भारतको प्रस्तावलाई समेत उनले चीनसँग सम्बन्धित भारतीय सुरक्षा संवेदनशीलताको परीक्षणसँग जोडेर विश्लेषण गरेका छन् । उनको यो टिप्पणीले एउटा महत्त्वपूर्ण कुरा स्पष्ट पार्छ– भारतले आफ्नो राष्ट्रिय र रणनीतिक स्वार्थलाई केन्द्रमा राखेर कूटनीति गरिरहेको छ ।
भारतले आफ्नो स्वार्थअनुसार एजेन्डा बनाउँछ, आफ्नो प्राथमिकता अनुसार मुद्दा उठाउँछ र आफ्नो सुविधा अनुसार सहमति खोज्छ । त्यसैगरी हाम्रा जान्नेहरूको सरकारले पनि त्यसैगरी आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर वार्ता गर्नुपर्ने होइन र ?
तर यहाँ त भारतले आफ्नो कुरा स्पष्ट पारेर फर्कियो, नेपालले आफ्ना मूल मुद्दामा मौनता राखेर भ्रमण सम्पन्न ग¥यो । यही हो कूटनीतिक अपरिपक्वता, लेवल मिल्न नसकेको असमानता, हामी नै जान्ने र सर्वेसर्वाको बहुलठ्ठीपन !
नयाँ नेतृत्वको दाबी, झनै आत्मसमर्पणवादी कार्यशैली !
बालेन नेतृत्वको सरकारलाई जनताले पुरानो राजनीतिक शैलीको विकल्पका रूपमा हेरेका थिए । नयाँ सोच, नयाँ कार्यशैली, राष्ट्रिय स्वाभिमान र परिणाममुखी शासनको अपेक्षा गरिएको थियो ।
तर भारत भ्रमणले त्यो अपेक्षामाथि गम्भीर प्रश्न उठाएको छ । कूटनीति सामाजिक सञ्जालमा आक्रामक पोस्ट लेखे जस्तो सजिलो हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धमा भावनात्मक अभिव्यक्ति होइन, तथ्य, प्रमाण, रणनीति, संस्थागत तयारी र वार्ताको क्षमता आवश्यक हुन्छ ।
यहाँ प्रधानमन्त्रीले भ्रमण अघि नै राष्ट्रिय मुद्दाको प्राथमिकता निर्धारण गर्नुपथ्र्यो । प्रमुख राजनीतिक दलहरूसँग राष्ट्रिय सहमति बनाउनु पथ्र्यो । विज्ञ, कूटनीतिज्ञ र पूर्व परराष्ट्र मन्त्रीहरूको सुझाव र अनुभव लिनुपथ्र्यो । भारतसँग वार्ता गर्दा कुन विषयमा के अडान राख्ने भन्ने स्पष्ट तयारी गर्नुपथ्र्यो ।
तर भ्रमणको परिणामले नेतृत्वको अपरिपक्वता र कूटनीतिक अनुभवको अभावलाई मात्र उजागर गरेन । बालेनको भारत भ्रमण ः नजान्दा नजान्दै राष्ट्रिय मुद्दाको विसर्जन, भारतीय विस्तारवादको अनुमोदन र कूटनीतिक अपरिपक्वताले भारतलाई दिएको खुला मैदान भयो । जहाँ बालेनको यही अपरिपक्व मपाईँमा टेकेर नेपालको स्वाभिमान माथि कूटनीतिक प्रहार गरेर भारतले आफ्नो दादागिरी देखायो ।
यसर्थ राजनीतिमा लोकप्रिय हुनु र अन्तर्राष्ट्रिय कूटनीतिमा परिपक्व हुनु फरक कुरा हुन् भनिएको हो । त्यसैगरी सामाजिक सञ्जालमा राष्ट्रियताको नारा लगाउनु र शक्तिशाली छिमेकी सँग राष्ट्रिय स्वार्थको पक्षमा दृढतापूर्वक उभिनु पनि फरक कुरा हुन् । बालेन सरकारले यो भिन्नता बुझ्न नसकेको हो कि बुझेर पनि व्यवहारमा उतार्न नसकेको हो ? जनताले यसको जवाफ खोजिरहेका छन् ।
निष्कर्ष ः
यो भ्रमणबाट नेपालले केही आर्थिक सहयोग, विकास परियोजना र समझदारी प्राप्त गरेको छ । त्यसलाई पूर्ण रूपमा अस्वीकार गर्न मिल्दैन ।
तर भारतले के प्राप्त ग¥यो भन्ने पक्षबाट पनि भ्रमणको मूल्याङ्कन गरौँ ।
भारतले ईपीजी प्रतिवेदनलाई इतिहास भइसकेको आफ्नो भाष्य सार्वजनिक रूपमा दोहो¥याउने अवसर पायो । लिपुलेकलाई भारत–चीनको पास (नाका) भन्ने आफ्नो अडान पुनः प्रस्तुत ग¥यो । सीमा विवादबारे प्रधानमन्त्री तहमा छलफल नगरी भ्रमण सम्पन्न ग¥यो । विवादास्पद विषय नउठाउने पूर्वसहमति भएको समाचार समेत सार्वजनिक भयो । नयाँ भिजन दस्तावेज मार्फत भविष्यको सम्बन्धलाई आफ्नो रणनीतिक प्राथमिकता सँग जोड्ने अवसर प्राप्त ग¥यो ।
यता नेपालले के ग¥यो ? आफ्नो भूभागको प्रश्न उठाउन सकेन । ईपीजी प्रतिवेदन स्वीकार गराउन सकेन । १९५० को सन्धि पुनरावलोकनको स्पष्ट कार्यतालिका ल्याउन सकेन । वर्षौं देखि थाती रहेका राष्ट्रिय मुद्दामा कुनै निर्णायक राजनीतिक सहमति प्राप्त गर्न सकेन ।
त्यसैले यो भ्रमणको मूल्याङ्कन गर्दा एउटा असहज निष्कर्ष तर्फ पुग्नुपर्ने हुन्छ– नेपालले आर्थिक सहायता र विकासका केही आश्वासन लिएर फर्कियो, भारतले भने नेपालका राष्ट्रिय मुद्दालाई पन्छाएर पनि आफ्नो रणनीतिक स्वार्थ पूरा गर्न सकिने राजनीतिक सन्देश र कूटनीतिक सुविधा प्राप्त ग¥यो ।
यसलाई केवल नेपालको कूटनीतिक कमजोरी भनेर सामान्यीकरण गर्न सकिँदैन । यसले सरकारको राजनीतिक प्राथमिकता, राष्ट्रिय स्वाभिमान प्रतिको प्रतिबद्धता र कूटनीतिक क्षमता माथि गम्भीर प्रश्न उठाएको छ । प्रधानमन्त्री बालेन र परराष्ट्रमन्त्री शिशिर खनालले जनतालाई यी प्रश्नको जवाफ दिनैपर्छ ः
१. ईपीजी प्रतिवेदनलाई भारतले इतिहास भइसक्यो भन्दा नेपाल सरकारको आधिकारिक धारणा के हो ?
२. नौ वटा बैठक पछि तयार भएको प्रतिवेदन भारतले स्वीकार नगरेको अवस्थामा त्यसलाई स्वीकार गराउन नेपालले के पहल ग¥यो ?
३. भ्रमण अघि नै सीमा विवाद नउठाउने सहमति भएको हो भने त्यो निर्णय कसले र किन ग¥यो ?
४. भारतीय विदेश सचिवले लिपुलेकलाई भारत–चीनको नाका भनेर व्याख्या गर्दा नेपालका प्रधानमन्त्रीले प्रतिवाद किन गर्नुभएन ?
५. ईपीजी प्रतिवेदनका विषयवस्तु नयाँ दस्तावेजमा समेटिएका छन् भन्ने तर्कले प्रतिवेदनको औपचारिक स्वीकारोक्ति र कार्यान्वयनको आवश्यकतालाई कसरी प्रतिस्थापन गर्छ ?
६. नेपालले आफ्नो भूभाग, असमान सन्धि र पारवहन अधिकारको विषयमा स्पष्ट अडान राख्न नसक्नुको वास्तविक कारण के हो ?
अन्त्यमा, प्रधानमन्त्रीज्यू ! भारत सँग मित्रता गर्नुस्, सहकार्य गर्नुस्, विकासका लागि सहयोग लिनुस् । तर आफ्नो देशको भूभाग, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानलाई कसैको अनुकूलताका लागि जानअन्जानमा बन्धक नराख्नुस् ।
राष्ट्रियता भाषण र स्टेटसमा देखाउने वस्तु होइन, व्यवहारमा प्रमाणित गर्ने जिम्मेवारी हो ।प्रधानमन्त्री बन्नुअघि सामाजिक सञ्जालमा लिपुलेक नेपालको हो भन्न सजिलो थियो । तर प्रधानमन्त्री बनेपछि भारतको सामुन्ने उभिएर त्यही कुरा दोहो¥याउन सक्नु नै वास्तविक नेतृत्वको परीक्षा र क्षमता थियो । दुर्भाग्यवश, यो भ्रमणले त्यो परीक्षा उत्तीर्ण गरेको देखिएन । यो भ्रमणमा भारतले आफ्नो स्वार्थका लागि कूटनीति ग¥यो । नेपालले चाहिँ आफ्नो स्वार्थको रक्षा गर्ने अवसर समेत गुमायो । यो भ्रमणको सबैभन्दा ठूलो विडम्बना र सबैभन्दा गम्भीर राजनीतिक आलोचना यही हो ।
राष्ट्रिय स्वाभिमानको मूल्यमा प्राप्त हुने कुनै पनि आर्थिक सहायता, विकासको आश्वासन र कूटनीतिक मुस्कानलाई विजय भन्न सकिँदैन । आज नेपाललाई राजनीतिमा नयाँ अनुहार मात्र होइन, नयाँ राष्ट्रिय सोच, दृढ अडान र परिपक्व कूटनीति चाहिएको छ । पुरानै आत्म समर्पणवादी प्रवृत्तिलाई नयाँ आवरणमा प्रस्तुत गरेर अब जनतालाई झुक्याउन पाइँदैन !
– २०८३ मंसिर ९ गते ।
प्रतिक्रिया