दैनिक ६ हजार केजी गोलभेंडा उत्पादन हुने डडुवामा प्रतिक्रेट २०० रुपैयाँमा पनि बेच्न मुस्किल परेपछि किसानले अपनाए अनौठो शैली
मंसिर ७, सिन्धुपाल्चोक । सामान्यतया औपचारिक कार्यक्रममा अतिथिहरूलाई खादा, माला वा मायाको चिनोले सम्मान गर्ने प्रचलन छ । तर, सिन्धुपाल्चोकका किसानहरूले भने आफ्नो पीडा र उत्पादनको पहिचान एकैपटक झल्काउन जनप्रतिनिधिहरूलाई ‘गोलभेंडाले भरिएको क्रेट’ नै उपहार दिएका छन् ।
मंसिर ६ गते आइतबार चौतारा साँगाचोकगढी नगरपालिका–१४, डडुवा झुलेटारस्थित पुनर्निर्माण गरिएको गोल्मादेवी मन्दिर उद्घाटन गर्न पुगेका जनप्रतिनिधिहरूलाई स्थानीयले ताजा गोलभेंडा उपहार दिएर स्वागत गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुगेकी बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा र वडा नं. १४ का वडाध्यक्ष लगायतका अतिथिहरूलाई स्थानीय किसानले बारीमै फलेको गोलभेंडाको क्रेट थमाएका थिए ।
जनप्रतिनिधि दङ्ग, किसानको आफ्नै व्यथा
आफ्नो पाँचवर्षे कार्यकालमा खादा र मालाको सट्टा यस्तो मौलिक उपहार पहिलोपटक पाएको भन्दै प्रदेश सांसद श्रेष्ठले खुसी व्यक्त गरिन् । आफ्नै बारीको अर्गानिक उत्पादन उपहारस्वरूप दिएकोमा उनले आयोजक र स्थानीय किसानलाई धन्यवाद समेत दिइन् । यस्तै, नगरप्रमुख सापकोटाले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि किसानले अपनाएको यो रचनात्मक शैली निकै प्रशंसनीय रहेको बताए ।
दैनिक ६ हजार केजी उत्पादन, तर मूल्य छैन
अतिथिहरूलाई हँसिलो अनुहारमा गोलभेंडा उपहार दिए पनि डडुवा क्षेत्रका किसानहरूको भित्री पीडा भने बेग्लै छ । जिल्लामै गोलभेंडा उत्पादनको मुख्य पकेट क्षेत्र मानिने यस ठाउँबाट हाल दैनिक ६ हजार केजीभन्दा बढी गोलभेंडा काठमाडौँ लगायतका बजारमा जाने गर्दछ ।
तर, बजारमा उचित मूल्य नपाउँदा किसानहरू ठूलो मर्कामा परेका छन् । स्थानीय किसानका अनुसार हाल २५ केजीको एक क्रेट गोलभेंडा सरदर २०० रुपैयाँ (प्रतिकेजी करिब ८ रुपैयाँ) मा बेच्न पनि मुस्किल परिरहेको छ ।
पर्याप्त सिँचाइको सुविधा नहुँदा पनि आकाशे पानी र दुःखजिलो गरेर यहाँका किसानहरूले गोलभेंडा, काउली र बन्दाकोपीको व्यावसायिक खेती गर्दै आएका छन् । सस्तो मूल्यमा बिचौलियालाई बेच्नुभन्दा आफ्ना जनप्रतिनिधिलाई उपहार दिएर स्थानीय कृषि उपजको अवस्थाबारे ध्यानाकर्षण गराउन किसानहरूले यो जुक्ति निकालेका हुन् ।
प्रतिक्रिया