मंसिर ३ (२०८३), सिन्धुपाल्चोक । ढाडको नसा च्यापिएर उठ्न र बस्नसमेत नसक्ने अवस्थामा पुगेकी मनकुमारी खत्री यतिबेला सिन्धुपाल्चोकको प्रादेशिक चौतारा अस्पतालको शैयामा छट्पटाइरहेकी छिन् । गाउँमै ५० शैयाको भव्य अस्पताल बनेको देख्दा उनलाई अब उपचारका लागि काठमाडौँ धाउनुपर्दैन कि भन्ने आशा पलाएको थियो । तर, अस्पतालमा न एमआरआई मेसिन छ, न त रोग पहिचान गर्ने स्थायी विशेषज्ञ डाक्टर नै ।
‘हरेक पटक आउँदा नयाँ डाक्टर भेटिन्छन्, पुरानो रोगको बेलिविस्तार फेरि सुरुदेखि लगाउनुपर्छ,’ खत्रीको दुखेसो छ, ‘यहाँ उपचार सम्भव नभए अब ऋण काढेर भए पनि काठमाडौँ जानुपर्ने बाध्यता आइलाग्यो ।’
मनकुमारीको यो पीडा सिन्धुपाल्चोकका हजारौँ नागरिकको साझा भोगाइ हो । भौतिक पूर्वाधार र आधुनिक उपकरणले सुसज्जित हुँदै गएको चौतारा अस्पताल अहिले ‘पूर्वाधार छ, तर जनशक्ति छैन’ भन्ने गम्भीर विरोधाभासबाट गुज्रिरहेको छ ।
६ जनाको दरबन्दी, १ जनाको भर
दैनिक ३ सयभन्दा बढी बिरामीको चाप रहने यस अस्पतालमा ६ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर, विडम्बना ! हाल छात्रवृत्ति करारका एक जना विशेषज्ञ चिकित्सकको भरमा सिङ्गो अस्पताल चलिरहेको छ । करार अवधि सकिनासाथ चिकित्सकले जिल्ला छाड्ने प्रवृत्तिले अस्पतालको सेवा प्रवाह नराम्ररी प्रभावित भएको छ ।
अस्पतालमा सिजेरियन, एपेन्डिक्स, हाडजोर्नीको शल्यक्रिया र डायलाइसिसजस्ता जटिल सेवा सुरु त भएका छन् । तर, चिकित्सकको अभावमा यी सेवाहरू कहिले चल्ने र कहिले बन्द हुने भन्ने टुङ्गो छैन । गत असारमा हाडजोर्नी विशेषज्ञ सरुवा भएपछि तीन महिनासम्म उक्त सेवा ठप्प रह्यो भने बालरोग विशेषज्ञका लागि विज्ञापन गर्दा समेत कसैको आवेदन परेन ।
किन टिक्दैनन् विशेषज्ञ डाक्टर ?
अस्पताल प्रशासनका अनुसार सरकारी तलब र सामान्य सुविधामा विशेषज्ञ चिकित्सकहरू जिल्लामा आउन र बस्न मान्दैनन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विवेक भण्डारी भन्छन, ‘आकर्षक अतिरिक्त भत्ता र स्तरीय आवासीय सुविधा नहुँदा विज्ञापन गर्दा पनि चिकित्सकको आवेदन पर्दैन । आएकाहरू पनि एक वर्षे करार सकिनासाथ फर्कन्छन् ।’
स्थानीय तहको साथ खोज्दै अस्पताल
चौतारा साँगाचोकगढी नगरपालिकाका साथै जुगल, बलेफी र इन्द्रावती गाउँपालिकाका बासिन्दाको उपचारको मुख्य थलो यही अस्पताल हो । तर, चारवटा स्थानीय तहका नागरिकलाई सेवा दिइरहेको अस्पतालको जनशक्ति व्यवस्थापनमा स्थानीय सरकारहरूको ठोस सहयोग देखिएको छैन ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरी सेवा क्षेत्रभित्रका स्थानीय तहहरूले स्वास्थ्य बजेटबाट चिकित्सकका लागि अतिरिक्त प्रोत्साहन भत्ता र आवासको व्यवस्था गरिदिने हो भने जिल्लामै विशेषज्ञ सेवा टिकाउन सकिने बताउँछन् ।
सिमेन्ट र इँटाको भव्य संरचना अनि महँगा उपकरण थुपारेर मात्र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित हुँदैन । जबसम्म ती उपकरण चलाउने दक्ष चिकित्सकलाई जिल्लामै टिकाउने नीति बन्दैन, तबसम्म सिन्धुपाल्चोकबासीले घरआँगनको अस्पताल हेरेर उपचारका लागि राजधानी नै धाउनुपर्ने बाध्यता हट्ने देखिँदैन ।
प्रतिक्रिया