तातोपानी नाका तीन दिनका लागि खुल्यो, तर भित्रिए मात्र तीन कन्टेनर; चीनतर्फ करोडौँका सामग्री अलपत्र
अस्थायी अवधिः कात्तिक १ देखि ३ गते (३ दिन) का लागि मात्र मालवाहक ट्रक आवतजावतको अनुमति मालवाहक सवारीलाई मात्र …।
पहिलो दिनको आयातः चीनतर्फ ४५ भन्दा बढी कन्टेनर लाइनमा भए पनि भन्सार जाँच पास भई मात्र ३ वटा नेपाली बजार भित्रिए ।
मागः चाडपर्वको व्यापार धराशायी हुन नदिन सीमापार व्यवसायीद्वारा नाकालाई नियमित र पूर्ण रूपमा सञ्चालन गर्न माग
१ कात्तिक, तातोपानी । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी आइतबारदेखि तीन दिनका लागि अस्थायी रूपमा खुला गरिएको छ । बाढीपहिरोका कारण लामो समयदेखि बन्द नाका खुले पनि चिनियाँ पक्षको कडा मापदण्ड र सीमित अवधिका कारण पहिलो दिन चीनबाट मात्र ३ वटा मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् ।
नेपालतर्फबाट भने तीनवटा खाली कन्टेनर सामग्री लिनका लागि चीनतर्फ प्रस्थान गरेका छन् दुई महिनापछि तातोपानी नाका हुँदै तीन कन्टेनर सामान नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नरेन्द्र सिंह चैसिरले सिन्धुज्वालालाई जानकारी दिए ।
भन्सार अधिकृत चैसिरले नेपाली भन्सार प्रशासन पूर्ण रूपमा तयारी अवस्थामा रहेको उनले बताए । तीन दिनका लागि तातोपानी नाका खुलेपनि चीनबाट नेपालतर्फ आउने मालवाहक सवारी साधनहरू सोचेजस्तो ठूलो सङ्ख्यामा आइनसकेको उनले बताए । उनका अनुसार चीनबाट आएका तीनवटा कन्टेनरमा मिश्रित सामानहरू रहेका छन् ।
चीनतर्फ ४५ भन्दा बढी कन्टेनर अलपत्र, व्यवसायी चिन्तित
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निरन्तर पहलपछि चिनियाँ पक्षले अक्टोबर १८ देखि २० (कात्तिक १ देखि ३ गते) सम्म मात्र कार्गो ट्रकका लागि नाका खोलेको हो । चीनको सिचाङस्थित न्यालम र सिमाना नजिकै दसैँ, तिहारलगायतका चाडपर्वलक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनरहरू लामबद्ध भएर रोकिएका छन् ।
केही दिनका लागि मात्रै नाका अस्थायी रूपमा सञ्चालन हुने हो भने सम्पूर्ण सामान नेपाल भित्र्याउन नसकिने भन्दै सीमा क्षेत्रका व्यवसायी र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले गम्भीर चिन्ता व्यक्त गरेका छन् । नाकालाई नियमित रूपमा सञ्चालन नगरे करोडौँको लगानी डुब्ने खतरा रहेको उनीहरूको भनाइ छ ।
चीनले गत भदौ १५ गतेदेखि भोटेकोशी नदीमा आएको बाढी र प्राकृतिक क्षतिको कारण देखाउँदै नाका पूर्ण रूपमा बन्द गरेको थियो । बाह्रबिसे नगरपालिका–८ का वडाध्यक्ष तथा पुराना व्यवसायी विमलप्रसाद पौड्यालका अनुसार चिनियाँ प्रशासनले यो अवधिमा भन्सार प्रक्रिया पूरा भएका र रोकिएका सीमित कार्गो मात्र पास गर्ने मनसाय देखाएको छ ।
स्मरण रहोस साउन देखि यता तातो पानी नाका चिनियाँ पक्षले विभिन्न बहाना बनाउनै अघोषित तर एकलौटी बन्द गरेको छ । अन्तराष्ट्रिय नाका दुवै छिमेकी मुलकको आपसी समझदारी नभएसम्म एकलौटि बन्द गर्न नपाउने अन्तराष्ट्रिय कानुनी अभ्यास छ ।
प्रतिक्रिया