पुनर्निर्माणलाई तीव्र बनाउने प्रदेश सरकारको निर्णय

असोज ९, काठमाडौँ । बागमती प्रदेश सरकारले सिन्धुपाल्चोकको भोटेकोसी र बलेफी (ब्रह्मायणी) तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली (Early Warning System) जडान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय बासिन्दाको अनुरोध र नागरिकको जनधनको सुरक्षालाई ध्यानमा राख्दै यो महत्त्वपूर्ण सैद्धान्तिक निर्णय गरेको हो ।
बैठकले गरेको निर्णय अनुसार अबको केही दिनभित्रै विज्ञ तथा सुरक्षा निकायका अधिकारीहरू सम्मिलित एक प्राविधिक समितिले स्थलगत अध्ययन गरी ठोस प्रस्ताव तयार गर्नेछ । आवश्यक बजेटको व्यवस्थापन गरेर छिट्टै प्रणाली जडानको प्रक्रिया अघि बढाइने प्रदेश सरकारले जनाएको छ । यस प्रणालीको स्थापनासँगै तटीय क्षेत्रका हजारौँ नागरिकहरूको विपद् जोखिम न्यूनीकरणमा ठुलो योगदान पुग्ने विश्वास लिइएको छ । प्रदेश सरकारको यो कदमप्रति सिन्धुपाल्चोकवासीले मुख्यमन्त्री किरण थापा, आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल लगायत सम्पूर्ण सरकारलाई हार्दिक आभार व्यक्त गरेका छन् ।
दिगो पुनर्निर्माण र तीन तहकै सरकारबिच समन्वय
गत भदौ १० गतेको विनाशकारी बाढीले निम्त्याएको सङ्कट र धनजनको क्षतिप्रति गम्भीर हुँदै प्रदेश सरकारले आगामी दिनमा प्राकृतिक प्रकोपको सामना गर्न त्रिवर्षीय रणनीति (अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन) तर्जुमा गर्ने भएको छ ।
मुख्यमन्त्री तथा विभिन्न मन्त्रीहरूको उपस्थितिमा भएको विशेष छलफलमा पुनर्निर्माणका कार्यक्रम, सुरक्षित स्थानान्तरण, र जोखिम वहन कम गर्ने विषयमा विस्तृत समीक्षा गरिएको छ । अब निर्माण गरिने हरेक पूर्वाधारहरू दिगो र प्राकृतिक प्रकोप प्रतिरोधी हुने गरी नीति निर्माण तथा कार्यान्वयन गरिनेछ ।
स्थानीय सरोकारवालाहरूसँगको छलफललाई प्राथमिकतामा राख्दै तत्काल गर्नुपर्ने कामहरूको पहिचान गरिने र तीनै तहका सरकारबिच (सङ्घ, प्रदेश र स्थानीय) प्रभावकारी सहकार्य र समन्वय गरेर परिणाममुखी नतिजा निकाल्ने गरी काम अघि बढाउने निर्णय भएको छ ।
विपद् व्यवस्थापन र पुनर्निर्माणको योजनाबारे स्पष्ट पार्दै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भने, “गत भदौ १० गतेको विनाशकारी बाढीले हाम्रो प्रदेशमा ठुलो सङ्कट र अपूरणीय क्षति पु¥याएको छ । यस दुःखद घडीमा नागरिकको सुरक्षा र राहत हाम्रो पहिलो प्राथमिकता हो । अब हामी केवल पुरानै संरचना ब्युँताउने मात्र होइन, भोलिका दिनमा आउने प्राकृतिक प्रकोपलाई समेत झेल्न सक्ने गरी ‘सुरक्षित र दिगो पुनर्निर्माण’ को अभियानमा लाग्नेछौँ ।
सिन्धुपाल्चोकको भोटेकोसी र ब्रह्मायणी तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्ने निर्णय यसैको एउटा सुरुवात हो । हामी अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीति बनाएर अघि बढ्दै छौँ । सङ्घीय र स्थानीय सरकारसँग प्रभावकारी समन्वय गर्दै हरेक नागरिकलाई सुरक्षित महसुस गराउन प्रदेश सरकार प्रतिबद्ध छ र यसका लागि आवश्यक बजेट र प्रविधिको कमी हुन दिइने छैन ।’
प्रतिक्रिया