काठमाडौँ, १० साउन । युवापुस्तामा साहित्यिक सिर्जनशीलता र चेतना प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित ‘पारिजात नवयुवा कविता महोत्सव–२०८३’ मा उदयपुरकी अनु आले मगर लगाएत पाँच कविहरु उत्कृष्ट भएका छन् । पारिजात स्मृति केन्द्रको आयोजनामा म्हेपीस्थित स्मृति भवनमा आइतबार सम्पन्न विशेष समारोहमा उनीहरु टप फाइब घोषित भएका हुन् । सोही भव्य समारोहका बीच चिकित्सक तथा साहित्यकार डा. नवराज केसीको चर्चित निबन्ध कृति ‘स्वस्पर्श’लाई वर्ष २०८२ को ‘पारिजात कृति सम्मान’ अर्पण गरिएको छ ।

महोत्सवमा नवप्रतिभाको उत्साहजनक प्रस्तुति
देशभरका विद्यालय तथा कलेजका विद्यार्थीहरू माझ गराइएको प्रतिस्पर्धाबाट अन्तिम १० मा छनोट भएका कविहरूबीच समारोहमा प्रत्यक्ष कविता वाचन गराइएको थियो । निर्णायक मण्डलको कडा मूल्याङ्कनका आधारमा ज्योति माध्यमिक विद्यालय, बेल्टार, उदयपुरकी अनु आले मगर, ट्रिनिटी इन्टरनेसनल कलेज, काठमाडौंकी करिशा गौतम, जनकल्याण माध्यमिक विद्यालय, बौद्ध, काठमाडौंकी निष्ठा निरौला, मनकामना कलेज, काठमाडौंकी सिलसिला तामाङ र गुरुकुल, काठमाडौंका पुष्पम खरेल उत्कृष्ट पाँचौ स्थानभित्र पर्न सफल हुनुभयो । उत्कृष्ट पाँचै जना विजेता कविहरूलाई नगद प्रत्य्ेकलाई १० हजारका दरले पुरस्कार, प्रमाणपत्र प्रदान गरिएको छ ।

पहिलो ‘पारिजात कृति सम्मान’ डा. केसीलाई
केन्द्रले यसै वर्षदेखि सुरु गरेको पहिलो ‘पारिजात कृति सम्मान–२०८२’ बाट डा. नवराज केसी सम्मानित हुनुभएको छ । विधागत रूपमा उत्कृष्ट ८ पुस्तकहरूको अन्तिम सूचीमध्येबाट गहन मूल्याङ्कन गरी डा. केसीको ‘स्वस्पर्श’ निबन्ध संग्रहलाई सर्वोत्कृष्ट ठहर गरिएको हो । सम्मानित कृतिबारे चर्चा गर्दै वरिष्ठ बुद्धिजीवी तथा समीक्षक डा. महेश मास्केले ‘स्वस्पर्श’ले नेपाली निबन्ध साहित्यमा नयाँ आयाम थपेको बताउनुभयो ।
समारोहमा अन्य विधातर्फ बालसाहित्यमा रामबाबु सुवेदी, कलातर्फ शरद पौडेल, सृजनतर्फ नवीन विभास र सङ्घर्षशील महिला सम्मानतर्फ देवी खड्कालाई पनि पारिजात सम्मान अर्पण गरिएको थियो ।
पारिजात स्मृति केन्द्रकी अध्यक्ष सुष्मा कँडेलको अध्यक्षता तथा महासचिव दिलसुन्दर श्रेष्ठको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा कविहरू सुमी पोखरेल र राजु उप्रेतीले पारिजातका कालजयी कविताहरू वाचन गरेर सुनाउनुभएको थियो । कार्यक्रममा उपत्यकाका साहित्यिक अनुरागी, विद्यार्थी र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया