पर्यटकीय क्षेत्र सुकुटेमा पर्यटकको आगमन बढ्दै, दुई दिन बिदाले रिसोर्टहरु भरिभराउ

जेठ १ -२०८३), सुकटे । सरकारले लागू गरेको दुईदिने बिदाले पर्यटकीय क्षेत्र सुकुटे भरिभराउ भएको छ । शुक्रबार र शनिबार बेलुका आन्तरिक पर्यटकले सुकुटे भरिभराउ हुने गर्दथ्यो । तर अब आइतबार पनि विदा भएसंगै दुई दिने बिदाले सुकुटेमा रहेका होटल तथा रिसोर्टहरु भरिभराउ हुन थालेका हुन् ।

गर्मीयाम सुरु भएसँगै सुनकोसी किनारमा अवस्थित सुकुटे बजार आन्तरिक पर्यटकले भरिभराउ भएको छ । काठमाडौंबाट ६७ किलोमिटर दूरीमा रहेको सुकुटे नजिकको गन्तव्य भएकाले विशेषतः राजधानीवासी आकर्षित भएका हुन् ।

अरनिको राजमार्ग भएर बाह्रबिसे पुग्ने आन्तरिक पर्यटक सुनकोसी नदीमा ¥याफ्टिङको मज्जा लिँदै दोलालघाट पुग्छन् । हाइकिङ, रक क्लाइम्बिङ, स्विमिङ र सुनकोसी नदीको पानीमा डुबुल्की मारेर नुहाउन पर्यटक लोभिएका छन् ।

गर्मीयामको चैत, वैशाख र जेठ तीन महिना सुकुटे भरिभराउ हुन्छ । अब शुक्रबार, शनिबार र आइतबार सुकुटे क्षेत्रमा दैनिक १० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने आंकलन गरिएको छ ।

विदेशी पर्यटक समेत बढेका छन् भने सरकारको दुई दिने विदाले आन्तरिक पर्यटक बढेको व्यवसायीहरु बताउँछन् । चौतारा–साँगाचोकगढी नगरपालिकाको सिम्लेदेखि बलेफीसम्म १५ रिसोर्ट र कम्तीमा २० होटेल छन् । सुकुटे बिच एड्भेन्चर, सुकुटे भ्याली, सुनकोसी रिभरसाइड, माया बिच, रिभरवे ¥याफ्टिङ, भोटेकोसी बिच, सुकुटे फन बिच, स्यान्डी बिचजस्ता रिसोर्टमा आन्तरिक पर्यटकको भिड नै लाग्छ ।

सुकुटे बिच एड्भेन्चर रिसोर्टमा मात्रै शुक्रबार र शनिबार ६ सय पर्यटक आउँछन् । एउटै होटेलले दैनिक १० देखि १५ लाखसम्म व्यापार गर्छन् । …सुकुटे क्षेत्र आन्तरिक पर्यटकको हब नै हो । यहाँ साहसिक खेलदेखि मनोरञ्जको व्यवस्थापन राम्रो भएको आन्तरिक तथा वाह्य पर्यटकको चाप बढेको सिन्धु सुकटे पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष महेन्द्रसिंह थापा बताउँछन् । उसोत आन्तरिक पर्यटकको रोजाइले सुकुटेमा आर्थिक गतिविधि पनि राम्रो भएको सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोकका उपाध्यक्ष एवम सुनकोसी बिचका सञ्चालक अन्जन खड्काको भनाई छ ।

दोलखाको कालिञ्चोक, छिमेकी चीनसँग जोडिएको तातोपानी धारा र भोटेकोसीको पर्यटकीय क्षेत्र भैरवकुण्ड गएर आउने पर्यटक पनि सुकुटेका रिसोर्टमा रात बिताउने गरेको सुकुटे रिभर भ्युका सञ्चालक रामचन्द्र खड्का बताउँछन् । उसोत गर्मीको मौसममा सुनकोसी नदीमा ¥याफ्टिङ र स्विमिङ गर्दै रमाइरहेका पर्यटकका हुल देख्दा स्थानीय पनि खुसी छन् । रामेछाप, दोलखा र जिल्लाकै विभिन्न स्थानबाट राजधानी हिँडेका यात्रुवाहक बस र ढुवानी गाडीका मानिसले बिहान र दिउँसोको खाना, खाजा यहीँ लिने भएकाले बिहानैदेखि सुकुटे क्षेत्रमा भिड लाग्छ ।

शुक्रबार बेलुका दुई हजार, शनिबार एक हजार पाँच सय र अन्य दिन तीन सय पर्यटक सुकुटे पुग्छन् । …हप्तामा पाँच हजार पर्यटक सुकुटे आउँछन्,Ú सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले भने । सुकुटे क्षेत्रमा सुविधासम्पन्न १८ होटेल तथा रिसोर्ट छन् । सुकुटेमा हिउँद–बर्खै पर्यटकको घुइँचो लाग्छ ।

…प्रत्येक पर्यटकले कम्तीमा पाँच हजार खर्च गर्दा पनि हप्तामा दुई करोड ५० लाख आम्दानी हुन्छ,Ú थापाले भने, …यसबाट राज्यलाई फाइदा पुग्छ ।Ú राजधानी काठमाडौंबाट ६५ किलोमिटर दूरीमा रहेको सुकुटे विदेशी पाहुना, मध्यमवर्गीय परिवार र कर्मचारीको नजरमा परेको उनले सुनाए । सरकारले हप्ताको दुई दिन छुट्टी दिएकाले राष्ट्रसेवक कर्मचारी फ्रेस भई टहल्न सुकुटे आउन थालेको सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोकका सचिव एवम भोटेकोशी रिसोर्टका सञ्चालक कृष्ण बहादुर सापकोटा बताउँछन् ।

आन्तरिक पर्यटक बढेकाले होटेल, रिसोर्ट, सडक छेउका भोजनालय भरिभराउ भएको र स्थानीय उत्पादन बिक्री पनि दोब्बर भएको व्यवसायी सापकोटाले बताए । उनका अनुसार होटेलमा पाँच सयभन्दा बढी स्थानीय रोजगार छन् । यहाँ उत्पादित तरकारी, फलफूल, माछामासु र अन्नले उचित मूल्य पाएको छ । नेपाल पर्यटन बोर्ड र चौतारा साँगाचोकगढी नगरपालिकाले विनियोजन गरेको रकमबाट पर्यटन सूचना केन्द्र स्थापना गरिन लागेको उनले जानकारी दिए ।