इन्द्रेश्वरी माध्यमिक विद्यालयको ५२ औँ वार्षिकोत्सवमा सञ्चारकर्मी सहित विभिन्न व्यक्तिहरु सम्मानित

फागुन १, मेलम्ची । जिल्लाको मेलम्चीमा रहेको इन्द्रेश्वरी माध्यमिक विद्यालयले आफ्नो ५२ औँ वार्षिकोत्सव तथा २६ औँ अभिभावक दिवस सम्पन्न गरेको छ । कार्यक्रमका अवसरमा शिक्षा, सामाजिक सेवा र विद्यालयको समग्र विकासमा उल्लेखनीय योगदान पुर्याउने शिक्षक, एवम् सहयोगी व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका मेयर आइतमान तमाङले सम्मानित हुनेहरुलाई दोसल्ला र कदरपत्रले सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूको उपस्थितिमा सम्पन्न सो समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गराउने शिक्षकहरूलाई विशेष सम्मान प्रदान गरिएको विद्यालयले जनाएको छ ।

सिन्धुपाल्चोकका दुई सञ्चारकर्मी सम्मानित

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका कोषाध्यक्ष एवम न्युज ट्वान्टी फो का जिल्ला संवाददाता दिपक खत्री र फोटो पत्रकार संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय नेपाल हुतराज खर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

उत्कृष्ट नतिजा दिलाउने शिक्षकहरू सम्मानित

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.स. २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा उत्कृष्ट नतिजा दिलाउन सफल शिक्षकहरूलाई सम्मान गरिएको थियो ।

त्यस्तै ठाकुरप्रसाद पौडेल, प्राविधिक धारतर्फ नेपाली विषयमा औसत ३.५० सहित उत्कृष्ट नतिजा दिलाएबापत सम्मानित, लेखनाथ भट्टराई, साधारण धारतर्फ सामाजिक अध्ययन विषयमा औसत ३.१० सहित उत्कृष्ट नतिजा दिलाए बापत सम्मानित भएका छन् ।
त्यस्तै, मेलम्ची नगरपालिकाद्वारा सञ्चालित कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षामा रमेशबहादुर घलेले सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा विषयमा औसत ३.२१ सहित उत्कृष्टता प्रर्दशन गराए बापत सम्मानित भएका छन् ।

सहयोगी व्यक्तित्वहरूलाई सम्मान

विद्यालयका विद्यार्थीहरूका लागि सहयोग पु¥याउने समुदायका व्यक्तित्वहरूलाई समेत विशेष सम्मान गरिएको थियो ।
जनकलाल श्रेष्ठ, प्रोप्राइटर, श्रीदेवी ट्रेड एण्ड सप्लायर्स, मेलम्चीलाई आधारभूत तहका विद्यार्थीहरूका लागि ट्रयाकसुट सहयोग गरी योगदान पु¥याएकोमा वापत सम्मान गरिएको छ ।

डा. गङ्गादत्त नेपाल, अध्यक्ष, बिनोद नेपाल फाउन्डेसनलाई विद्यालयको प्राविधिक धारमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी आर्थिक रूपले सबल नहुने विद्यार्थीहरूलाई अवसर सृजना गरेबापत सम्मान प्रदान गरिएको थियो ।

पूर्व शिक्षक तथा पूर्व विद्यालय नर्सलाई बिदाइ–सम्मान

दीर्घकालीन शिक्षण सेवाबाट योगदान पु¥याई अनिवार्य अवकाश प्राप्त गरेकी कमला कुमारी नेपाल (चालिसे) लाई शिक्षण सेवामा करिब चार दशक लामो समर्पित योगदानका लागि सम्मान–पत्र प्रदान गरिएको थियो ।

त्यस्तै, विद्यालय नर्सका रूपमा सेवा पुर्याई हाल प्रदेश लोक सेवा आयोगबाट नेपाल नर्सिङ सेवा चौथो तह (अनमी) पदमा सिफारिस भई पेशागत उन्नति हासिल गरेकी मनिषा भण्डारीलाई समेत बिदाइ–सम्मान गरिएको थियो ।

विद्यालयका प्रमुख तथा संयोजकहरूले सम्मानित शिक्षक, सहयोगी तथा कर्मचारीहरूलाई हार्दिक शुभकामना दिँदै विद्यालयको चौतर्फी विकासका लागि निरन्तर सहयोग र साथको अपेक्षा व्यक्त गरे ।