मेलम्चीको तालामारङमा पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता
माघ २३, मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका अन्र्तगत तालामाराङमा पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता भएको छ । पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता सम्भव सिन्धुपाल्चोक जिल्लाकै पहिलो अभ्यास भएको आयोजकको दावी छ ।

मेलम्ची नगरपालिका वडा नम्बर ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३५औँ वार्षिक उत्सवको अवसरमा मेलम्ची नगरपालिका‚ हेलम्बु‚ इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता तेर्से माविको प्राङ्गणमा बिहिबार सुरु भएको हो ।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा चार वटा स्थानीय तहका १७ विद्यालयको सहभागिता रहेकोमा पहिलो दिन लिग चरणका खेलहरु सुरुभएको छ ।
आयोजक श्री तेर्से मावि र बाल सुधार मावि बिच भएको पहिलो खेलमा तेर्से माविले जीत हासिल गरेको छ भने त्यसपछिका खेलहरुमा इचोक माविले लागर्चे माविलाई, जाल्पादेवी माविले सर्वोदय माविलाई, नवलपुर माविले धौलेश्वरी आवि लाई, महेन्द्र माविले बतासे माविलाई र भिमेश्वरी माविले चण्डिका माविलाई पछि पार्दै जीत हासिल गरेका छन् ।
प्रतियोगिताको उद्घाटन मेलम्ची नगरपालिका वडा नं ६ का वडाध्यक्ष प्रेमबहादुर तामाङ लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक एवं व्यवस्थापन समितिका अध्यक्षहरुको आतिथ्यमा भएको विशेष कार्यक्रमबिच मेलम्ची नगरपालिका शिक्षा‚ युवा तथा खेलकुद शाखा प्रमुख लक्ष्मीप्रसाद रिजालले गरेका थिए ।
कार्यक्रममा बोल्दै रिजालले विद्यालयले शैक्षिक क्रियाकलापका साथै विभिन्न अतिरिक्त एवं सिर्जनात्मक क्रियालापमा पनि उत्तिकै रुपमा सफलता हासिल गर्न सफल रहेकोमा प्रशंसा गर्दै अगामी दिनमा अझै उन्नतिका लागि निरन्तर लागिरहन शुभकामना व्यक्त गरे ।
शुक्रबार लिग चरणका बाँकी खेल सहित क्वाटर फाइनलका खेलहरु सञ्चालन हुनेछन् । शनिबार फाइनल खेल सञ्चालन हुनेछ भने विद्यालयको वार्षिक उत्सव विशेष कार्यक्रम २५ गते हुने विद्यालयले जानकारी दिएको छ ।

