भिमेश्वरी माविको व्यवस्थापन समिति गठनमा ढिलासुस्ती, महिनौँ बित्दा पनि बनेन समिति
रविन दनुवार
पुष २, भिमटार (सन्धुपाल्चोक) । इन्द्रावती गाउँपालिका–१२ मा रहेको भिमेश्वरी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) महिनौँ बितिसक्दा पनि गठन हुन सकेको छैन । आन्तरिक प्रक्रियामा देखिएको ढिलासुस्तीका कारण समिति गठन प्रक्रिया लम्बिएको हो ।
यसअघिको व्यवस्थापन समितिको कार्यकाल समाप्त भएसँगै समयमै नयाँ समिति गठन गर्नुपर्नेमा विद्यालय प्रशासनको लापरबाहीका कारण प्रक्रिया अगाडि बढ्न नसकेको स्रोतको आरोप छ । करिब ६ महिना बित्न लाग्दा पनि औपचारिक रूपमा समिति गठन नहुनु विद्यालय प्रशासनप्रति प्रश्न उठाउने विषय बनेको छ ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले लामो समय विदा परेको कारण ढिलाइ भएको बताउँदै भदौ २० गते अभिभावक भेला गरी समिति गठन प्रक्रिया अगाडि बढाइएको दाबी गरेका छन् । उनका अनुसार अनौपचारिक रूपमा नेतृत्व चयन भइसकेको भए पनि समिति अझै आधिकारिक रूपमा सञ्चालनमा आएको छैन ।
तर, यसअघि पनि प्रधानाध्यापक श्रेष्ठले आफू अनुकूल वि.व्य.स. अध्यक्ष नपाउँदासम्म समिति गठन प्रक्रियालाई ढिलासुस्ती गर्दै आएको आरोप लागेको छ । श्रेष्ठको उक्साहटमा वि.व्य.स. बाट निर्णय गराई ‘सहयोग शुल्क’को नाममा मनलाग्दी रकम उठाउने गरेको आरोप समेत लाग्दै आएको छ ।
विद्यालय प्रशासन र शैक्षिक सुधारभन्दा राजनीतिक गतिविधिमा बढी चासो देखाउने गरेको आरोप खेप्दै आएका प्रधानाध्यापक श्रेष्ठको कार्यशैलीप्रति अहिले चौतर्फी प्रश्न उठ्न थालेको छ । विद्यालयमा विभिन्न विषयलाई लिएर असन्तुष्टि र आन्दोलनको वातावरण रहँदा पनि समस्या समाधानतर्फ गम्भीर ध्यान नदिइएको स्थानीयको गुनासो छ ।
समयमै व्यवस्थापन समिति गठन नहुँदा विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि प्रभावित हुँदै गएको भन्दै अभिभावक र सरोकारवालाहरूले तत्काल प्रक्रिया टुंग्याउन माग गरेका छन् ।

