१४ वर्षपछि बाबुआमा भेटेकी स्वस्तिकाको कारुणिक कथा, सामाजिक अभियान्ताले दिलाइदिए नागरिकता

साउन १३ (२०८२), १४ वर्षअघि सडकमा अलपत्र परेर कसैको संरक्षणमा हुर्किएकी स्वस्तिका केसीले कलिलै उमेरमा ठूलै संकट व्यहोरिन । ६ बर्षकै उमेरमा बाबुआमाबाट सडकमै अलपत्र परेकी स्वस्तिकालाई सामाजिक अभियन्ता अर्जुन भुसालले एक भिडियो माध्यमबाट खोजी गरेपछि उनले बुबाआमा भेट्टाइन । तर अलग–अलग रुपमा । उनकी आमा मञ्जु केसी अन्तै हिडिँसकेपछि उनका बाबु विष्णु केसीले स्वस्तिकालाई १४ वर्षअघि (१७ वैशाख २०६८) धुलिखेल नगरपालिका–७ मा अलपत्र छाडिदिएका थिए ।

स्वस्तिका अहिले १८ वर्ष पुगेकी छिन् । खानेकुरा ल्याइदिन्छु, तिमी यहीँ बस’ भनेर धुलिखेलकोबीच बाटोमा छोरी छोडेर हिँडेका थिए । विगत १२ वर्षदेखि धुलिखेल, काभ्रे स्थित बालगृहमा शर्मिला श्रेष्ठको रेखदेखमा बस्दै आएकी थिइन् ।

अहिले कक्षा १२ मा पढ्दै गरेकी स्वस्तिकालाई आफ्नो परिवार भेट्ने आश पनि थिएन । तर उनलाई आफ्नो देशको प्रमाणित नागरिक बन्ने इच्छा थियो ।
नागरिकता बनाउनका लागि परिवार खोज्न स्वस्तिकालाई आश्रय दिएको सिद्धार्थ बालगृहका सञ्चालक श्रेष्ठले धेरै प्रयास गरिन् । तर सकिनन् । आफूले नसकेपछि श्रेष्ठले यो जिम्मेवारी सामाजिक अभियन्ता अर्जुन भुसाललाई सुम्पिइन् ।

परिवार खोजिदिने बाचा सहित उनले भिडियो बनाएर सामाजिक संजालमा हाले, उक्त भिडियो हेरेर उनकी आमा चितवनबाट सम्पर्कमा आईन् । र १४ वर्षपछि आफ्नो छोरीलाई अँगालिन् ।

त्यसैगरी अर्जुनले स्वस्तिकाको बुबाको खोजिमा लाग्दै गर्दा त्यसको दुईदिन पछि नै बुबाको खोजी गरि नै छाडे र आमासँग पुनर्मिलनको छोरीलाई बुबासँग पनि पुनर्मिलन गराए । सामाजिक अभियान्ता अर्जुनले स्वस्तिकालाई उनको बाबुआमा भेट्टाइदिने काम मात्रै आफ्नो जिम्मेवारी ठानेन् । स्वस्तिकाको नागरिकता बनाइदिने संकल्प गरे । स्वस्तिकाको पिताले स्वस्तिकालाई नागरिकता बनाइदिने बचन दिएपछि अर्जुनले आखिर त्यो पनि पुरा गरेरै छाडे । मंगलबार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा पुगेर स्वस्तिकाको सपना पूरा भएको छ ।

सामाजिक सञ्जालमा उनको कथा सार्वजनिक भएपछि देशभरबाट सहानुभूति र सहयोगका हातहरू बढेका थिए । १० नम्बर वडा कार्यालयको सिफारिससहित बुबा र सहयोगीहरूसँग जिल्ला प्रशासन पुगेकी स्वस्तिकालाई प्रमुख जिल्ला अधिकारी किरण थापाले औपचारिक रूपमा नागरिकता प्रदान गरे ।

स्वस्तिकाको नागरिकता प्रक्रियामा सिद्धार्थ बालगृहकी सञ्चालिका शर्मिला श्रेष्ठको महत्वपूर्ण भूमिका रह्यो । उनले लामो समयदेखि परिवार खोज्ने प्रयास गरिन्, तर सफल भइनन् । अन्ततः श्रेष्ठले सामाजिक अभियन्ता अर्जुन भुसाललाई यो जिम्मा दिइन् ।

भुसालले धुलिखेलमै पुगेर स्वस्तिकाको कथा समेटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उक्त भिडियो भाइरल भएपछि अनपेक्षित मोड आयो—स्वस्तिकाकी आमा मञ्जु केसी सम्पर्कमा आइन् । यसरी आमा–छोरीको भावुक पुनर्मिलन भयो। पछि बुबासँग पनि भेट भएपछि सम्पूर्ण कानुनी प्रक्रिया पूरा भई स्वस्तिकाले नागरिकता पाएकी हुन् ।