चौतारा साँगाचोकगढी–११ मा सल्ला विस्थापित गर्दै फलफूलका विरुवा लगाईदै

साउन ८, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ ले सल्लालाई विस्थापित गर्दै फलफूलका विरुवा रोप्ने अभियान थालेको छ ।
वडा अध्यक्ष रोशन राज गिरीका अनुसार वडा अन्तर्गतका सामुदायिक वन, खुल्ला चौर र सार्वजनिक कार्यालय परिसरहरूमा आँप, लिची, अम्बा, कागती, सुन्तला, नास्पाती, अन्जिर, जामुन, गुलाब जामुन, एभोकाडो लगायत १२ भन्दा धेरै प्रजातिका ४ हजार ५ सय भन्दा बढी विरुवा रोपिने लक्ष्य लिइएको हो ।


शान्ती सेवा गृहको सहयोग र समन्वयमा ल्याइएका उन्नत ग्राफ्टिङ प्रविधिबाट उत्पादन गरिएका यी विरुवाको मूल्य प्रतिविरुवा पाँच सय रुपैयाँसम्म पर्छ । अभियान मंगलबारबाट औपचारिक रूपमा सुरु गरिएको अध्यक्ष गिरीले बताए ।

निजी जग्गामा विरुवा लैजान चाहने किसानका लागि पनि एक सर्त राखेको छ । जसअनुसार सार्वजनिक स्थलमा कम्तीमा एउटा विरुवा रोप्नुपर्ने छ । वडाले बनाएको यो नीति वातावरणीय सन्तुलन, सार्वजनिक सहभागिता र समर्पणको यो अभियानमा गाउँले समेत साथ दिएका छन् । ‘सल्ला जस्ता बनस्पतीले जमिन बाझो बनाएको छ । अब फलफूल रोपेर हामी जमिनलाई उत्पादनशील बनाउने छौं’, अध्यक्ष गिरीले भने ।

उक्त अभियानको सुभराम्भ चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले गरेका थिए । नगर प्रमुख सापकोटाले आफैलै कोदालोले जमिन खनेर वृक्षरोपण गरे ।

फलफूलका विरुवा रोप्ने काम कुनै साधारण वृक्षरोपण मात्र होइन, यो पर्यावरणीय सचेतना, सामाजिक सहभागिता, आर्थिक सबलीकरण र समृद्धिको बहुआयामिक अभियान रहेको नगर प्रमुख सापकोटाले प्रतिक्रिया दिए ।