लामो रस्साकस्सी मिलाउँदै सुनकोशी गाउँपालिकाले ल्यायो ५५ करोडको बजेट

साउन १ (२०८२), खाडीचौर । पालिका भित्रको अन्तरकलहमा रुमलिएर बजेट ल्याउन नसकेको जिल्लाको सुनकोशी गाउँपालिकाले अन्ततः बजेट पारित गर्न सफल भएको छ । लामो रस्साकस्सी र विवाद मिलाउँदै गाउँपालिकाले ५५ करोड ५८ लाखको बजेट ल्याउन सकेको हो ।
जिल्लाभरका स्थानीय तहले समयमै आगामी आर्थिक वर्षको योजना प्रस्तुत गरिसकेका बेला सुनकोशी गाउँपालिकाले बल्ल गाउँसभा सम्पन्न गरेको छ ।

गणपुरक संख्या नपुगेका कारण पटक–पटक स्थगित हुँदै आएको छैटौँ गाउँसभा मंगलबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष टपिन्द्र तिमिल्सिनाका अनुसार सबैको सहमति र छलफलका आधारमा गाउँसभा असार २९ गते बोलाइएपनि असार ३२ अर्थात मसान्तको दिनमा भएको हो ।

पालिकाका एक कर्मचारीका अनुसार बुधबार बिहान ८ बजे देखि गाउँसभा गर्ने भनिएपनि कुनै टुङ्गो हुन सकेको थिएन । त्यसपछि तत्कालको लागि केही विवाद सुल्झिएपछि दिउसो १ बजेपछि गाउँसभा बसेको थियो ।

गाउँसभाले आर्थिक वर्ष २०८२÷८३ का लागि ५५ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । यसअघि तीन नगरपालिकासहित आठ गाउँपालिकाले समयमै गाउँसभा सम्पन्न गरी कार्यक्रम र बजेट पारित गरिसकेका थिए । तर, सुनकोशीमा गणपुरक संख्या अभावकै कारण छैटौँ गाउँसभा हुन सकेको थिएन । स्थानीय तहको वर्षे कार्यक्रम र बजेट निर्माणमा ढिलाइ हुँदा विकास योजनाहरु प्रभावित हुने भन्दै नागरिकस्तरबाट चासो प्रकट हुँदै आएको छ । अब भने सुनकोशी गाउँपालिकाले स्वीकृत बजेटअनुसार योजना कार्यान्वयनमा अघि बढाउने जनाएको छ । संघीय सरकारले तोकेको समय अवधिमै बजेट ल्याउन नसक्दा उक्त गाउँपालिकाले झण्डै आधा करोड बजेट घाटा व्यहोर्नु पर्ने भएको छ ।

उसोत सुनकोशी गाउँपालिकामा एमालेबाट टपिन्द्रप्रसाद तिमिल्सिना अध्यक्षमा निर्वाचित भएपनि कांग्रेस बहुमतमा छ भने एमाले अल्पतमा छ ।
सुनकोशीमा पालिका भवन निर्माणमा ठूलो विवाद छ । त्यसमाथि केही समय अघि निलम्बित सांसद मोहनबहादुर बस्नेत सार्वजनिक कार्यक्रममा प्रवेश गरेको विषमा पालिकाले विज्ञप्ति निकालेपछि झनै विवाद बढेको हो ।

पालिका अध्यक्ष तिमिल्सिनाको कार्यकालमा पालिका भवन बन्न नदिने तथा एमालेबाट निर्वाचित अध्यक्ष लगाएत जनप्रतिनिधिलाई असफल बनाएर ८४ को चुनावमा कांग्रेसको नेतृत्वमा पालिका कब्जा गर्ने ध्याउन्तमा कांग्रेस लागेको जानकारहरु बताउँछन् ।

स्थानीय तह गठन भएयता १० बर्षको अवधिमा सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये सम्भवतः सुनकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाले आफ्नो प्रशासनिक भवन बनाउनबाट चुक्ने भएका छन् । बाह्रबिसे नगरपालिकामा यस्तै खालको विवाद भएपनि त्याहाँ सडक डिभिजन कार्यालय चरिकोटको मातहातमा रहेको जग्गामा अस्थायी भवन निर्माण गरेर नगरपालिकाले आफ्नो प्रशासनिक काम सञ्चालन गरिरहेको छ । तर सुनकोशीमा भने १० बर्ष देखि व्यक्तिको निजी आवासलाई भाडामा लिएर कार्यालय सञ्चालन भईरहेको छ ।