मेलम्ची–१२ मा बन्यो भव्य वडा कार्यालय भवन, मेयर तामाङद्वारा उदघाटन

बिहीबार, जेठ ८ (२०८२), मेलम्ची । जिल्लाको मेलम्ची नगरपालिका अन्र्तगत १२ मा भव्य वडा कार्यालय भवन बनेको छ ।
उक्त प्रशासनिक वडा कार्यालय भवनको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ तथा उपप्रमुख उमा प्रधानले संयुक्त रुपमा उदघाटन गरेका छन् ।

वडा कार्यालय भवनको उदघाटन गर्नुहुँदै नगर प्रमुख आईतमान तामाङ तथा उपप्रमुख उमा प्रधान लगाएत

विभिन्न वडाका वडाध्यक्षहरू लगायतको उपस्थितिमा भएको भवनको उदघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख तामाङले मेलम्ची नगरपालिका समृद्ध बन्ने अभियान सुरुवात भएको उदघोष गरे । आधारभुत जनताको मुख्यालय वडा कार्यालय भएको हुनाले वडा कार्यालयको भव्य भौतिक संरचना निर्माण भएसंगै जनतालाई दिईने सेवा प्रभावकारी बनेपछि गाउँको विकास र जनताको आर्थिक जीवनमा परिवर्तन आउने ठोकुवा गरे ।

कार्यक्रमका प्रमुख अतिथि रहेका प्रमुख तामाङले उक्त भवन निर्माणमा वडाअध्यक्ष गणेशबहादुर तामाङको प्रसंसा गर्दै नगरले ४ करोड ६२ लाख बजेट सुनिश्चित गरेपनि दुई करोड ९७ लाखमै भवन निर्माण सम्पन्न भएकोमा वडाअध्यक्ष लगाएतलाई धन्यवाद दिए ।
वडा कार्यालय सम्पन्न पश्चात् महत्वपूर्ण संरचनाहरू मध्ये स्वास्थ्यचौकी भवनसमेत सबै वडामा निर्माण भइसकेकोले अब वडाको मुख्य सडकको रूपमा रहेको बाहुनेपाटी थाक्ले सडकलाई निरन्तर बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत जनाए ।

आगामी वर्षसम्ममा नगरपालिकाभित्रका सबै भौतिक संरचनाहरू निर्माण भइसक्ने भएकोले त्यसपश्चातका बजेटहरू आयआर्जन हुने ठाउँमा विनियोजन गर्ने योजना रहेकोले नगरपालिका यसै कार्यकालमा समृद्ध बनाउने तर्फ लागि परेको उहाँको भनाइ छ ।
कार्यक्रमका विशेष अतिथि नगर उपप्रमुख उमा प्रधानले अब नगरपालिकाभित्र वडा नं ६ र ११ मा भवन बनाउन बाँकी रहेको र अन्यमा वडामै सिंहदरबार बनिसकेको बताईन । अब सेवा प्रवाह पनि गुणस्तरीय र सिंहदरबारको जस्तै हुनुपर्ने उनले जोड दिईन । कार्यक्रममा प्रमुख प्रशाससकिय अधिकृत निमेश मिश्र, निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमका सभापति वडाध्यक्ष गणेशबहादुर तामाङले वडा कार्यालय निर्माणका लागि विभिन्न स्थानमा जग्गा प्राप्तिका लागि प्रयास गरे पनि अन्त्यमा यस स्थानमा निर्माण गर्न सफल भएको बताउँदै वडाबाट प्रवाह हुने सेवामा कुनै पक्षपात नहुने प्रतिवद्वता जनाए । उनका अनुसार वडा कार्यालय निर्माणका लागि वडाभित्रका ७ जनाले ३ रोपनि जग्गा दान गरेका थिए । जग्गादाताहरूलाई वडा कार्यालय उदघाटनको अवसरमा सम्मान समेत गरेको छ ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता तथा वडा नं ५ का अध्यक्ष राजु रायमाझी वडा नम्बर १० का अध्यक्ष अमृत खनाल वडा नम्बर २ का अध्यक्ष नगेन्द्र प्रसाद खतिवडा कार्यपालिका सदस्यहरू राजनीतिक दलका प्रतिनिधि पूर्व जनप्रतिनिधिहरु बुद्धिजीवी समाजसेवी स्थानीय पत्रकार सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।