सिद्धि गणेश माविको शैक्षिक प्रर्दशनी, विद्याथीहरु उत्साहित
बैशाख २१, चौतारा । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ मा रहेको सिद्धि गणेश माध्यामिक विद्यालयमा एक दिने शैक्षिक प्रर्दशनी सम्पन्न भएको छ । शुक्रबार भएको शैक्षिक प्रदर्शनीमा सिद्विगणेश माविका विद्यार्थीहरुको उत्साहपूर्वक कला प्रर्दशन गरेका छन् ।
विद्यालयले आयोजना गरेको शैक्षिक प्रर्दशनीमा विद्यार्थीहरुले देखाएको रचनात्मक सिर्जना, बौद्धिक क्षमता र ज्ञान अनि सीपको विकासमा थप टेवा पुग्ने अवलोकनकर्ताहरुले बताएका छन् ।
उक्त शैक्षिक प्रर्दशनी मेला कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता थापाले अवलोक गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका नगर प्रमुख सापकोटाले समग्र वडाको शैक्षिक सुधारको लागि बालबालिकाहरूद्वारा गरिएको शैक्षिक मेला प्रदर्शनीले कोशेढुंगा सावित गरेको प्रतिक्रिया दिए ।
बालबालिकाहरुको कला सीप र क्षमतालाई उजागर गर्नको निम्ति आयोजना गरिएको शैक्षिक प्रर्दशनी उत्कृष्ट भएको नगर उपप्रमुख सिता थापाको भनाई छ ।
विद्यार्थीहरुका लागि रचनात्मक र सिर्जनात्मक ढंगको कृयाकलाप प्रयोगात्मक रुपमा निर्माण गरि आम दर्शक सामु प्रस्तुत गर्ने सुनौलो अवसर शैक्षिक प्रदर्शनी मेला भएको विद्यालयका प्रध्यानाध्यापक राज कुमार यादवले जानकारी दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन गौतमले शिक्षकहरुले आफ्ना विद्यार्थीहरुलाई सिकाइरहेका कुराहरुलाई विद्यार्थीहरुले कलात्मक ढंगबाट प्रर्दशनी गरिएकोमा आफू प्रफुल्लित भएको बताए ।
शैक्षिक मेलामा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो । मेलामा विद्यार्थीहरुले विभिन्न भौतिक पूर्वाधार, आ(आफना विद्यालय, विभिन्न प्रविधियुक्त उपकरण, नेपालको नक्सा, रङ्गी विरङ्गी फूलहरु, रकेट, पंखा, इलेक्ट्रिक आविश्कार ,विज्ञान प्रयोगशाला, कम्युटर प्रयोगशाला लगायतका सयौं वस्तुहरु प्रदर्शनीका लागि राखेका थिए । विद्यार्थीहरुले आफना प्रतिभाहरू प्रस्तुत गर्न पाउँदा खुसीसमेत व्यक्त गरेका छन् ।
गत वर्ष बागमती स्तरीय शैक्षिक प्रदर्शनी मेलामा यो विद्यालय उत्कृष्ट बन्न सफल भएको थियो । शैक्षिक गुणस्तर बढाएसँगै यो विद्यालयमा विद्यार्थी आकर्षण समेत बढ्दै गएको छ । स्कुल बसको ब्यवस्थापन भएसंगै चौताराका २५ जना बालबालिका यो शैक्षिक शत्रमा सानुसिरुवारीको सिद्धि गणेश माध्यामिक विद्यालयमा भर्ना भएको विद्यालय प्रशासनले जनाएको छ ।
यस्तै शुक्रबार नगर मावि स्तरको नृत्य प्रतियोगीताका लागी सिद्धि गणेश माध्यामिक विद्यालय छनौट भएको छ । वडा भित्र रहेको ज्ञान मन्दिर र सिद्धि गणेशका विद्यार्थीबीच नगर स्तरीय नृत्य प्रतियोगितामा प्रतिस्पर्धाको शुक्रबार वडा स्तरको प्रतिस्पर्धा भएको थियो ।