‘बलेफी–जलविरे–तेम्बाथान’ को लागि ४ करोड बजेट निकासा
चैत्र २, जलबिरे । सिन्धुपाल्चोक जिल्लाको ‘बलेफी–जलविरे–तेम्वाथान’ सडकको लागि ४ करोड बजेट निकासा भएको छ । सहायक राष्ट्रिय राजमार्ग अन्तर्गत स्तरोन्नतिका लागि ४ करोड बजेट निकासा भएको हो । सिन्धुपाल्चोकबाट प्रतिनिधसभा क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा ‘सुबोध’को पहलमा सोही राजमार्गको स्तरउन्नतिका लागि अर्थमन्त्रालयबाट बजेट निकासा भएको हो ।
उक्त राजमार्गको ट्रयाक ओपनको काम पहिले नै सकिएकाले यसको स्तरउन्नतिका कामहरु हुँदै आएको छ । बलेफीबाट जलबिरेसम्मको सडक स्तरउन्नतिका लागि भने बजेट अभावले केहि समययता काम रोकिएको थियो । यस क्षेत्रमा पर्ने १० किलोमिटर सडक स्तरउन्नतीको ठेक्का सुवर्ण निर्माण सेवा, कनक कवि जेभि, त्रिवेणी निर्माण सेवाले जिम्मा लिएका थिए । बलेफि–जलबिरे सडकको स्तरउन्नतीका लागि अर्थमन्त्रालयबाट बजेट छुट्टिएकाले सोही अनुसार काम हुने सांसद सुबोधको सचिवालयले जनाएको छ । यो सडक निर्माणमा केही समय तिब्रतामा काम थालिएपनि बजेट अभावका कारण भन्दै ठेकदारद्वारा काम नै रोकिएको थियो ।