
प्रधानमन्त्री प्रचण्डले काँध फेरे, नयाँ गठबन्धनबीच ८ बुँदे लिखित समझदारी

फागुन २२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वर्ष नपुग्दै कांग्रेस संगको गठबन्धन तोडेका छन् । आफूले भनेको जस्तो सरकार सञ्चालनमा कांग्रेसले साथ नदिएपछि प्रचण्डले पुनः अर्को प्रतिपक्ष दल रहेको एमाले लगाएतको सहकार्यमा नयाँ गठबन्धन सरकार निर्माण गरेका छन् । प्रचण्डको यो कदमलाई राजनैतिक वृतमा अस्थिरताको संज्ञा दिंदै काँध फेरेको टिप्पणी गरिएको छ भने कतिपयले यो कदमलाई प्रचण्डको राजनैतिक चातुर्यताको रुपमा लिएका छन् ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी सबै मन्त्रीहरूलाई पदमुक्त गरेका छन् । कांग्रेससँगको सहकार्य तोडेर एमाले, रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले यसअघिका सबै मन्त्रीलाई पदमुक्त गरेका हुन् ।
सरकारमा नयाँ गठबन्धनबाट तीन जनाले शपथ लिए पनि उनीहरूलाई कुनै जिम्मेवारी नतोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सोमबार साँझ माओलवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले शपथ लिएका छन् । राष्ट्रपति कार्यालयका अनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै लिएका छन् ।
प्रधानमन्त्रीले हेर्ने गरी अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाइ, कानून, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपंक्षी विकास, खानेपानी, गृह, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरणस शिक्षा, विज्ञान तथा प्रविधिस श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासनस सञ्चार तथा सूचना प्रविधि, सहरी विकास र स्वास्थ्य तथा जनसंख्याको जिम्मा पनि प्रधानमन्त्री दाहालले नै लिएका छन् ।
नयाँ गठबन्धनबीच आठ बुँदे लिखित सहमति
नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरुबीच ८ बुँदे लिखित सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले, माओवादी, रास्वपा र जसपाको बैठकबाट ८ बुँदे लिखित सहमति भएको हो ।
सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । दलहरुको सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने, सरकारको नेतृत्व प्रचण्डले नै गर्ने, रिक्त राष्ट्रिय सभाको अध्यक्षमा माओादी केन्द्रका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।
त्यस्तै सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने, त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने, नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससाग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुक्याउने सहमति भएको छ ।
राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न पनि चार दल सहमत भएका छन् ।