मेलम्ची –१२ को वडा कार्यालय भवन शिलान्यास

पुस १९, (२०८०) मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवन बन्ने भएको छ । भवन निर्माणको थालनी गर्न बिहिवार शिलान्यास गरिएको छ । नगरप्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र, वडा अध्यक्ष गणेशबहादुर तामाङ लगायतले भवन शिलान्यास गरेका हुन् । जुगल हिमशिखर ÷केदार निर्माण सेवा जेभिले २ करोड ८५ लाख ३ हजार तीन सयमा ठेक्का पाएको ३ तल्ले भवन १८ महिनामा निर्माण सम्पन्न गरिने निर्माण कम्पनीका प्रोपाइटर अमर दोङले जानकारी दिए । नगर प्रमुख आइतमान तामाङले समयमै गुणस्तरीय कार्य गरि भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।

यसैबीच हेलम्बु गाउँपालिका वडा नम्बर–२ कोलामामा बन्न लागेको नुर्बु छ्योलिङ्ग गुम्बाको शिलान्यास भएको छ । बिहीबार आज एक समारोहबीच बागमती प्रदेश सभा सदस्य एवम् नेपाली काँग्रेस संसदीय दलका सचिव कृष्ण कुमार तामाङ (समिर)ले शिलान्यास गरेका हुन् । ०७२ सालको भूकम्पले गुम्बाको भौतिक संरचनामा क्षति भएको थियो । भूकम्पले क्षतविक्षत बनाएको गुम्बा पुननिर्माण हुन सकेको थिएन ।
प्रदेश सभा सदस्य तामाङ निर्वाचित भएर गएपश्चात् उनकै पहलमा वागमती प्रदेश सरकारको बजेटमा गुम्बा पुननिर्माणको सुरुवात भएको हो ।
समारोहमा बोल्दै तामाङले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि अहोरात्र खटेको बताए । उनले आफ्नो ठाउँको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए । फरक प्रसंगमा बोल्दै तामाङले युवा नेतृत्वको आवश्यकता रहेको बताए । उनले हेलम्बुबाटै अब युवा नेतृत्व उदाउनुपर्नेमा जोड दिए । कार्यक्रममा वडाअध्यक्ष पेम्बा लामा,गुम्वाका प्रमुख लामा,गुम्वा ब्यबस्थापन समितिका सदस्यहरु स्थानीयहरुको उपस्थिति रहेको प्रदेश सभा सदस्यका स्वकीय सचिव विशाल राउतले जानकारी दिए ।