पाँचपोखरी थाङपाल गाउँपालिकाको एकवर्षको उपलब्धी सार्वजनिकिकरण ,कृषि उपजलाई बजारीकरण गर्ने संकल्प
ज्वाला संवाददाता
जेठ ११, थाङपालधाप । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको एकवर्षको उपलब्धी सार्वजनिकिकरण गरेको छ । बुधबार आर्थिक वर्ष २०७९÷८० भित्र गरेका कार्यको समिक्षा संगै सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । गाउँपालिकाले व्यवसायीक कृषि, खाद्य सुरक्षा दिगो विकास मार्फत जनजीवनलाई सहज तुल्याउने, गाउँपालिका भित्रका शैक्षिक पूर्वाधार संरचना तथा गुणस्तरमा सुधार ल्याउने, कृषि तथा पशुजन्य उत्पादन वृद्धि गरि आत्मनिर्भरता तथा आपूर्तिमा सहजता ल्याउने उद्देश्य लिइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माले प्रस्तुत गरेका हुन् । प्रतिवेदनमा स्थानीय सरकारको शासन तथा सेवा प्रवाहलाई आधुनिक र गुणस्तरीय बनाउने ,स्थानीय स्रोत, साधनको खोजी तथा दिगो उपयोग गर्ने कुरालाई समेटिएको छ । दिर्घकालीन आवधिक योजना तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने कुरालाई गाउँपालिकाको आगामि दिनमा अवलम्बन गर्नुपर्ने विषयहरुमा समेटिएको छ ।
फोटोः देवराज सुवेदी
सरकारी जग्गाको लगत संरक्षण गर्नुपर्ने, ओ.एण्ड एम. सर्भे गरी जनशक्तिको उचित व्यवस्थापन गर्नुपर्ने, आन्तरिक श्रोतको दिगो उपयोग र करको दायरा फराकिलो बनाउनुपर्ने, गुणस्तरीय सडकको निर्माणमा जोड दिनुपर्ने, सामुदायिक भवन, गुम्बाहरुको मापदण्ड निर्धारण गर्नुुपर्ने तथा सडकहरुको लगत कट्टा गर्नुपर्ने लगायतका विषय आगामि योजनामा रहेको शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
गाउँपालिकाले गरेका असल अभ्यासभित्र अनलाईन मार्फत गाउँपालिका तथा वडा कार्यालयमा सबै सेवा संचालन , गाउँवाल संरक्षण अक्षयकोष स्थापना, जुम्ल्याह बच्चाहरुलाई प्रोत्साहन, डिजिटल विद्यालय सेवा संचालन, टुरिजम एप र नक्सा निर्माण, विद्यालय नर्स सेवा संचालन, निशुल्क सेनिटरी प्याड वितरण, डिजिटल घरधुरी नम्वर प्रदान सुरु, कक्षा १ देखी ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण, विज्ञान कलाको प्रवद्धन गर्न सिकाईमेला आयोजना र बिद्यालय करेसावारी कार्यक्रम अटाएका छन् । ८१ वटा स्थानिय कानुन निमार्ण गरेको पालिकाले वडा स्तरमा उपभोक्ता समिति अनुशिक्षण, सफ्टवेयर मार्फत योजना सम्झौता तथा भुक्तानी गर्ने गरेको छ । पालिका स्तरीय ११३ र वडा स्तरीय ७४ गरि कुल १८७ वटा योजनाको सम्झौता सम्पन्न भएको छ भने ९७ वटा योजनाको कार्य सम्पन्न भई भुक्तानी सम्पन्न भएको छ । कामदारलाई सिधै बैंक खाता मार्फत ज्याला भुक्तानी गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश सरकारको सर्शत अनुदान अन्तर्गत आमाबाबु विहिन ५० जना बालबालिकाहरु लाई रु. १२ हजारका दरले जम्मा ६ लाखको को छात्रावृत्ति रकम वितरण गरिएको, लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनिती २०७९ निर्माण गरिएको, लैंगिक तथा यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०७९ निर्माण गरि लागु गरिएको प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय सहभागीले शिक्षा, स्वास्थ्य, कृषि, महिला सहभागीता, सडकबाटो, बालविवाह, गाउँका युवाहरु विदेशिने बढेकाले गाउँमै रोजगारी सिर्जना गर्नुपर्ने र पालिकाले निर्यातलाई जोड दिनुपर्ने लगायतका प्रश्न उठाएका थिए । सहभागीको प्रश्नको सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले पालिकाभित्र उत्पादन भएका कृषि उपजको ब्यवास्थापन पालिकालेनै गर्ने बताए । नागरीकको आवश्यकतालाई ध्यानमा राखेर आगामी निति तथा कार्यक्रममा समेटदै जाने उनले प्रतिवद्वता जनाए ।
कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारीले अनुगमनलाई थप चुस्त बनाउने र महिला लक्षित कार्यक्रमलाई जोड दिई महिलाको सहभागीता बढाउने बताईन । यस्तै प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माले पालिकाभित्रका सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा दिई विद्यार्थी पलायन हुने प्रवृतिलाई रोकीने गरी कार्यक्रम ल्याउने बताए । वडा नं ५ का अध्यक्ष काले गोलेले आफ्नो वडामा बालविवाह झन् बढ्दै गएकाले चेतना मुलक कार्यक्रम सन्चालन गर्न आवश्यक रहेको औंल्याए । अर्का वडाध्यक्ष कुल बहादुर बस्नेतले आफ्नो वडाभित्र ब्यक्तिले मिचेका सार्वजनिक जग्गा नापजाँच गरी छुट्याएको जानकारी दिए ।
यसैगरी कार्यक्रममा बोल्दै वडा ६ का वडाध्यक्ष नारायण भट्टराईले आफ्नो वडामा गुनासो नरहने गरी काम गरेको तर्क राख्नुभयो । यस्तै वडा १ का अध्यक्ष आलोक कुमार स्याङबोले अनुदान वितरणमा पार्दर्शी रुपमा काम गरेको बताए । एम्बुलेन्सको समस्या समाधान गर्न प्रायसरत रहेको वडा २ का अध्यक्ष बाबुलाल तामाङले जानकारी गराए । यस्तै कार्यपालिकाको बैठकबाट निर्णय गरी सडकले चर्चीएको जग्गाको तिरो कटौती गर्न पहल गरिने वडा ३ का अध्यक्ष ङिमा छिरीङ तामाङले बताए । निरन्तर अनुगमन सहित वडाको विकास निर्माणमा ध्यान दिइने वडा ७ का वडाध्यक्ष सुके तामाङको भनाई थियो । वडा नं ८ मा काठको पोल मुक्ता गरी इन्सुलेटर सहितको तारको ब्यवस्था गर्ने वडाध्यक्ष विष्णु खड्काले बताए ।