स्वाभिमानीले सुरु गर्याे एकै पटक ३ तालिम
निर्मल बस्नेत
(२०८० जेठ २ ) चौतारा । स्वाभिमानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका ५ सिन्धुपाल्चोकले एकै पटक ३ शिर्षकको तालिम सुरु गरेको छ ।
१ महिने गार्मेन्ट सम्वन्धि सिलाई, गलैचा बुनाई र ७ दिने मौरीपालन तालिम सञ्चालन हुने सहकारीका अध्यक्ष हरी बिश्वकर्माले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार ३ वटा तालिममा ६० जना प्रशिक्षार्थीहरु सहभागि रहनेछ । गार्मेन्टमा गार्मेन्ट सञ्चालक बादलराज नेपाली, गलैचामा केशरी तामाङ र मौरीपालनमा नगरपालिकको रामहरी दाहालले प्रशिक्षण दिनेछन् ।
चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक बिकास शाखा संयोजक रामप्रसाद गौतमको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन कार्यक्रम भएको हो । गौतमले मन्तव्यको क्रममा तालिमको लागि तालिम नभई आत्मनिर्भर हुनको लागि तालिमलाई प्रयोग गर्न आग्रह गरेका छन् । उनि भन्छन् “हाल सडक र पूर्वाधारको बिकासमा मात्र जोड दिने गरेकोले आगामी दिनमा उत्पादनमा जोड दिनुपर्छ । “ उत्पादन र आयआर्जनमा बृद्दि गरेमा मात्र आत्मनिर्भर हुनेछ ।
पूर्व नगरप्रमुख अमानसिं तामाङले जति छिटो हात चलायो त्यति धेरै पैसा कमाई हुने भएकोले एकचित्तकासाथ लागि पर्न आग्रह गरे । उनले रिस,घमण्ड र अल्छि मानबको सत्रु हो भन्दै यि तिन कुरालाई त्याग्न आग्रह गरे । तामाङले सिप भनेको छोरालाई अंश र छोरीलाई दाईजो दिए जसरी दिन नपर्ने हुनाले सहभागीले आफु अनुभवी र दक्ष बन्नुपर्ने बताए ।
त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय प्रमुख बिश्वनाथ काफ्लेले तालिमपछि सहभागीहरुले उद्योग सञ्चालन गरि उद्यमी बनेर घरेलुवाट हुने अनुदानको कार्यक्रममा सहभागी हुन आग्रह गरे ।
वडाअध्यक्ष सिव श्रेष्ठले सफल उद्यमी बन्नको लागि राम्रोसँग सिक्नुपर्नेमा जोड दिदै तालिम सफलताको कामना गरेकासमेत छन् ।
सीप सिकौ, उद्यम बनौ र आत्मनिर्भर बनौ भन्ने स्लोगासनसहित चौतारामा तालिम सञ्चालन गरेको तालिम उद्घाटन कार्यक्रममा ५ नम्बर वडाको पूर्व अध्यक्ष नरमान श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका सदस्य उजारसिं तामाङ , १ नम्बर वडा अध्यक्ष युबलाल श्रेष्ठ, नगर कार्यपालिका सदस्य रोजिना घतानी, महाकाली सहकरीको अध्यक्ष केशबलाल श्रेष्ठ,चेतना मातृशिसु सहकारीको अध्यक्ष गुणकेशरी श्रेष्ठ,वडा सदस्य कोमल ब श्रेष्ठ र राम ब घले महिला संजालका सचिब तारा राना राना, अन्य समाजसेबी र तालिममा सहभागी हुने प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।