यसरी मनाए एक्लेबेसीका माझी समुदायले कोशी पूजा (फोटो फिचर सहित)

दिनेश दुलाल
फागुन १६, (२०७९) चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ एक्लेबेसीका माझी समुदायले कोशी पूजा गरेका छन् ।
खोलालाई भगवानको रूपमा सामूहिक पूजा गर्दै माझी समुदायले मंगलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोशी पर्व’ मनाएका हुन् । हिन्दु नेपालीहरूको दशैं पर्व झैं पुजासँगै सामूहिक भोज, नाचगान गरेर उनीहरूले भव्य रूपमा यो पर्व मनाएका हुन् ।

कार्यक्रमको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि मोहनबहादुर बस्नेत

जन्मेदेखि मृत्युसम्म माझी जातिको धर्म संस्कार संस्कृति यहि खोला खहरे नदी आदिमा हुने भएकोले गर्दा माझीले आदिम कालदेखि कोशीलाइं पूजा गर्दै आएका छन् । कोशी पूजा संरक्षण समिति, चौतारा साँगाचोकगढी नगरपालिका–११ मझेसावा एक्लेबेशी युबा क्लबले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधिसभा क्षेत्र नम्बर २ का संसद मोहनबहादुर बस्नेतले उदघाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बस्नेतले माझी समुदायको यो चाडलाई राज्यले अरु चाड जस्तै संरक्षण गर्नुपर्ने धारणा राखे ।

त्यस्तै विशेष अतिथी प्रतिनिधिसभा प्रदेशसभा (ख) का सांसद कृष्ण कुमार तामाङले माझी समुदायको भावना राज्यले उचित संरक्षण नगरेको टिप्प्णी गरे ।

त्यस्तै विशेष अतिथि चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले माझी समुदायको कला, संस्कृति र चाडपर्वलाई नगरपालिकाले विशेष ध्यान दिएर संरक्षण गरिने प्रतिवद्वता जनाए । माझी समुदायको समस्या र मागलाई समेत आफूले विशेष चासोको रुपमा लिएको बताए । एकलेबेसी बगरमा माझी समुदायको कोशिपुजा कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका, इन्द्रावती गाउँपालिका, मेलम्ची लगाएतका माझी समुदायको बाक्लो उपस्तिथिमा कोशीमा प्रमुख व्यक्तिहरुले पुजाआजा गरि सुरुवात भएको थियो ।

कार्यक्रममा कलाकार कृष्ण कँडेलले माझी समुदायको संस्कृती झल्कने गित संगित प्रस्तुत गरेका थिए । माझी समुदायको फुर्लुङ जाली लाई पुजा गरिएको थियो ।