बाह्रबिसेका किसान फेरी पुरानै लयमा, नगरपालिकाद्वारा हलगोरु पालकलाई एकैपटक ७७ लाख अनुदान

दिनेश दुलाल
पौष ४, बाह्रबिसे (सिन्धुपाल्चोक) जमाना विज्ञान र प्रविधिको छ । कृषि क्षेत्र समेत प्रविधि मैत्री बनाउन भन्दै स्थानीय तहहरुले किसानहरुलाई करोडौं खर्चेर ट्याक्टर अनुदान बाँढि रहेका छन् । तर सिन्धुपाल्चोक जिल्लाको एक स्थानीय तहले भने ग्रामिण भेगका किसानलाई फेरी पुरानै लयमा फकाईदिएको छ ।

गाेरू जाेतेर कार्यक्रमकाे शुभराम्भ गर्दै सिन्धुपाल्चोक २ नम्बर क्षेत्र प्रतिनिधिसभा सदस्य माेहनबहादुर बस्नेत

किसानलाई कृषि औजारको रुपमा प्रयोग हुने हाते ट्याक्टरको बदला हलगोरु पाल्न प्रोत्सान गर्दै हजारौं बर्ष देखिको पुरानो प्रचलनलाई थापित गरिदिएको छ । उक्त प्रयोगात्मक अभियानको सुरुवात बाह्रबिसे नगरपालिकाले थालेको हो । नगरपालिकाले हलगोरु पालक किसानलाई प्रोत्साहन स्वरुप एकैपटक ७७ लाख अनुदान वितरण गर्ने भएको छ । जसको सुरुवात बुधबार एक कार्यक्रमको आयोजना गरी प्रति गोरुपालक किसानलाई १० हजारका दरले वितरण गरिएको हो ।

हलगाेरू पालक किसानलाई १० हजार अनुदान वितरण गरिदै ।

बाह्रबिसे बजार पारी राम्चे फाँटमा ६ हल गोरु समोत एकैपटक नारेर पूर्व सूचना तथा सञ्चारमन्त्री एवम २ नम्बर क्षेत्र प्रतिनिधिसभाका सांंसद मोहन बहादुर बस्नेतले शुभराम्भ गरेका हुन् । गोरु जोतेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका सांसद बस्नेतले कार्यक्रममा भेला भएका सयौं किसानहरुलाई सम्बोधन गर्दै हलगोरु पाल्ने किसानलाई अनुदान दिने सुरुवात नेपालको ७७ जिल्लामै बाह्रबिसे नगरपालिका पहिलो भएको दावी गरे । पछिल्लो पटक गाउँघरमा गाईभैंसी तथा हलगोरु पाल्ने प्रचलन हराउँदै गएको प्रति चिन्ता व्यक्त गर्दै पूर्वमन्त्री बस्नेतले बाह्रबिसे नगरपालिकाले गरेको उक्त कामको खुलेर प्रसंशा गरे । ‘तपाईहरुको यो योजना निकै सह्रानीय छ, यसबाट सबैले पाठ सिकुन’, पूर्वमन्त्री बस्नेतले भने । हिन्दुहरुको राष्ट्रिय चाडपर्वमै हलितिहार पर्व मनाउने प्रचलनको प्रसंग कोट्याउँदै सांसद बस्नेतले किसानले गोरु पाल्ने र जोत्ने कुरा स्वभाविक भएको बताए ।

टेक्नोलीको विकास भएपनि किसानको लागि तत्काल ट्याक्टरको भन्दा गोरुको आवश्यकता औंल्याउदै पछिल्लोपटक अन्न उत्पादनमा विस्तारै गिरावट आएको सुनाए । यो विषमा तीनै तहको सरकार गम्भिर हुन नसके भविश्यमा खाद्य बस्तुको संकट आउने समेत उनले चेतावनी दिए । ट्याक्टर खरिद गर्दा किसानको पैसा देश बाहिर जाने तर गोरु किन्दा किसानले नै पैसा पाउने बस्नेतको तर्क छ । ‘ट्याक्टरको एउटा पाटपूर्जा खुस्किएपछि त्यो दिनको काम नै हल्ट हुने हुन्छ बरु गोरु त जतिबेला पनि जोत्न सकिन्छ’, उनले भने । रासायनिक मल बिना घरपालुवा चौपायाको कम्पोष्ट मलले अर्गाईनिक उत्पादन गर्न सकिने उनको भनाई छ । अब कृषि क्षेत्रको विकासको लागि एउटा प्रदेशमा एउटा रासायनिक मल कारखाना खोल्न आफू लागि पर्ने समेत उनले उदघोष गरे ।

कार्याक्रमाका सभापति तथा नगरप्रमुख बालकृष्ण बस्नेतले नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकरणमा राखेर नै किसानमैत्री अनुदान कार्यक्रम ल्याएको बताए । नगरले ल्याएको किसान लक्षित हलगोरु अनुदान कार्यक्रम निकै उत्कृष्ट कार्यक्रम रहेको दावी गर्दै मेयर बस्नेतले गोरु पालक एकजना किसानले हलगोरु संगै बीमा गरेपछि घाँसदाउरा गर्न जाँदा वा सवारी साधनमा यात्रा गर्दाको अवस्थामा समेत दुर्घटना भए बीमा बापतको रकम पाउने खुलस्त पारे । सोही कार्यक्रमको अवसरमा मेयर बस्नेतले ९ वटै वडामा प्रति वडा १० वटाका दरले किसानलाई एउटा भैंसी बराबर ५० हजार अनुदान दिने समेत उदघोष गरे । कुनै मन्दिरमा ६० लाख खर्च गर्नु भन्दा एउटा किसानलाई ५० हजार अनुदान दिने काम पुन्य हुने उनको तर्क छ । ८ कक्षा सम्मका बालबालिकाहरुलाई दिवा खाजाको व्यवस्था गरेको बाह्रबिसे नगरपालिकाले बालबालिकाहरुलाई स्थानीय स्तरमा किसानहरुले उत्पादन गरेका अर्गनाईनिक खाद्यन्नका लागि पनि यो कार्यक्रमको महत्व रहेको उनको भनाई छ ।

त्यस्तै कार्यक्रमकम नगरकी उपप्रमुख मञ्जु तामाङले किसानले ३÷४ घण्टा लगाएर खेती लगाउनपर्ने जमिन भएको ठाउँमा त्याहाँ गोरुले बाहेक जोत्न नसक्ने रहेछ भन्ने कुरा नगरपालिकाले ठम्याएर किसानहरुलाई प्रोत्साहन स्वरुप यस खालको योजना ल्याईएको बताईन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी पन्थीले हलगोरु पालक किसानलाई आगमी ३ दिन भित्रमा प्रति गोरु पालक किसानका हातमा १० हजार पुग्ने जानकारी दिए । तर किसानले ७ सय ५० (२० प्रतिशत) रुपैंया बराबरको अनिवार्य बीमा गर्नुपर्ने शर्त रहेको उनले बताए । ८० प्रतिशत संघीय सरकारले वेहोर्ने छ । त्यति हुँदा किसानले २ लाखको दुर्घटना बीमा पाउनेछन् । एकातर्फ गौसंरक्षण गर्ने र अर्कोतर्फ गाईगोरुको मलमुत्रबाट अर्गनायिक खेती गर्ने प्रणालीलाई प्रर्वदन गर्ने हिसाबले कृषकहरुलाई प्रोत्साहन गर्नको लागि यो कार्यक्रम ल्याईएको उनले बताए । उनका अनुसार बाह्रबिसे नगरपालिकाको बाह्रौं नगरसभाले उक्त निर्णय गरेको हो । नगरपालिकाको नीति कार्यक्रममा उल्लेख भएर १२ औं नगरसभाबाट स्विकृत भएको उक्त कार्यक्रम अनुसार नगरभित्रका ७ सय ७६ हलगोरु पालेका किसानहरुलाई प्रोत्साहन स्वरुप प्रति हलगोरु १० हजारको दरले दिएको हो ।

किसान रामप्रसाद पराजुलीले ट्याक्टरका कारण गोरु बिस्थापित हुन थालेको अवस्थामा नगरपालिकाले यो कार्यक्रमलाई प्रोत्साहित गरेकोमा खुशी व्यक्त गरे । उनले ६० हजार तिरेर एकहलगोरु खरिद गरेका छन् । एकहल बहर गोरु किनेपछि २० बाली सम्म थेग्ने उनको भनाई छ । बाह्रबिसे नगरपालिकाले गरेको किसानमैत्री अनुदान कार्यक्रम निकै महत्वपूर्ण रहेका अर्का किसान ललितबहादुर बुढाथोकीले बताए ।