फटकशिला माविले सुरु ग¥यो वैकल्पिक सिकाइ सहजीकरण कार्यक्रम

रबिन दनुवार
असार ४, फटकशिला (सिन्धुपाल्चोक) । जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १३ मा रहेको फटकशिला माध्यमिक बिद्यालयले वैकल्पिक सिकाई सहजीकरण कार्यक्रम सञ्चालन गरेको छ । नेपाल सरकारले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ निर्देशिका २०७७ बमोजिम फटकशिला माध्यमिक बिद्यालयले वैकल्पिक सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गरेको हो । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात् (कोभिड– १९) को सङक्रमण हुन नदिन गरिएको विद्यालय बन्दा बन्दीको कारण विद्यार्थीलाई पर्न गएको असरलाई मध्ये नजर गर्दै वैकल्पिक सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गरेको फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद पौडेलले सिन्धुज्वालालाई बताए । विद्यालयमा कार्यरत शिक्षक कर्मचारी सहजकर्ताको रुपमा विद्यालयमा भएको पठन पाठनका लागि आउने विद्यार्थीहरु बसोबास गर्ने निश्चित क्षेत्र टोल–टोलमा पुगेर अध्ययन अध्यापन गराइरहेको प्रधानाध्यापक पौडेलले बताए । उनका अनुसार कक्षा एकदेखि दश कक्षा सम्मको विद्यार्थीहरुलाई मात्र वैकल्पिक तरिकाबाट पठनपाठन गराइएको हो ।
स्मरण रहोस नेपाल सरकारले पठनपाठनलाई अनलाईन तथा रेडियो टेलिभिजन लगाएत सञ्चार सामाग्रीबाट अध्यापन गर्न निर्देशन भएसंगै सिन्धुपाल्चोकका अधिकांश विद्यालयहरुले असार १ बाट बालबालिकाहरुलाई अनपैचारिक शिक्षा सिकाई सुरुवात गरेका छन् ।