
जिल्लाका ७८ वडामा नेकपाले खुवायो एकैचोटी सपथ

चौतारा (सिन्धुपाल्चोक), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाका ९० स्थानीय तहमा वडा स्तरीय कमिटिहरुलाई एकैपटक सपथ खुवाएको छ ।
जिल्ला पार्टीको बैठकले एकमहिना निर्णय गरेअनुसार नेकपा सिन्धुपाल्चोकले १२ स्थानीय तहको पूर्णता दिएर १२ स्थानीय तहको एकैपटक सपथ खुवाए लगत्तै शनिबार ७८ वडाका नयाँ कमिटिलाई एकैपटक सपथ खुवाएको नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सचिव दावा तामाङले जानकारी दिए ।
’हामी १२ वटा पालिका स्तरीय कमिटिलाई एकैसाथ सपथ खुवाएपछि वडाको एकैपटक खुवाएका हौंं‘, सचिव तामाङले भने । उनका अनुसार जिल्लामा १२ स्थानीय तहमध्ये मेलम्ची नगरपालिका र ईन्द्रावती गाउँपालिका सपथ खुवाउन छुटेको छ ।
केन्द्रीय सदस्य तामाङका अनुसार जिल्लामा १०३ वटा वडामा एकैसाथ सपथ खुवाउने जिल्ला पार्टीको योजना रहेपनि मेलम्ची नगरपालिकाको वडाको पूर्णता आन्तरिक तयारीका ढिलाई भएकोले रोकिएको हो । त्यस्तै ईन्द्रावतीको उपनिर्वाचनको कारणले रोकिएकाले चुनावपछि लगत्तै गरिने उनले बताए । त्यसैगरी मेलम्ची नगरपालिकाको केही दिन भित्रै सपथ खुवाईने उनले जानकारी दिए । वडा स्तरीय कमिटिलाई केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरुको उपस्थितिमा सपथ खुवाईएको हो । जिल्ला अध्यक्ष झम्क नेपालका अनुसार मंसिर मसान्तसम्म सम्पूर्ण जनवर्गिय जनसंगठनहरुको सपथ खुवाउने नेकपा सिन्धुपाल्चोकको योजना छ । जनवर्गिय संगठनहरुको पनि एकता भेलाको धमाधम तयारीमा रहेको उनले जानकारी दिए ।