दिनेश दुलाल
असार १७, मेलम्ची (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले एक विशेष समारोहका बीच नगरपालिकामा नवनिर्मित भूमि व्यवस्थापन शाखा (कार्यालय) को औपचारिक उदघाटन गरेका छन् । यो कार्यालयको शुभारम्भसँगै अब मेलम्ची र आसपासका नागरिकले जग्गा तथा भूमि सम्बन्धी एकीकृत सेवा स्थानीय तहबाटै सहज रूपमा पाउने भएका छन्।यसअघि जग्गासम्बन्धी प्रशासनिक काम, नापी, मालपोत समन्वय र भूमिको लगतका लागि सदरमुकाम चौतारा वा अन्यत्र धाउनुपर्ने बाध्यता खेपिरहेका मेलम्चीबासीका लागि यो कार्यालय स्थापना भएसँगै ठूलो राहत मिलेको छ ।
नागरिकका दुःख अन्त्य गर्न स्थानीय सरकार प्रतिबद्धः नगर प्रमुख तामाङ
कार्यालयको शुभारम्भ गर्दै नगर प्रमुख आइतमान तामाङले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न यो शाखाले ऐतिहासिक भूमिका खेल्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख तामाङले भने, ‘हामी निर्वाचित भएर आएदेखि नै नागरिकलाई सिंहदरबारको अधिकार घरदैलोमै महसुस गराउने योजनामा थियौँ ।
जग्गाजमिन र भूमिको समस्या हाम्रा नागरिकका लागि निकै संवेदनशील र झन्झटिलो विषय रहँदै आएको छ । अब भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको पहिचान, लगत संकलन र लालपुर्जा वितरण सम्बन्धी कामलाई यही कार्यालयमार्फत तीव्र गतिमा अगाडि बढाइनेछ । नागरिकले अब साना कामका लागि पनि सदरमुकाम धाउनुपर्ने र बिचौलियाको फन्दामा पर्नुपर्ने दिनको अन्त्य भएको छ ।’ उनले कर्मचारीहरूलाई निर्देशन दिँदै सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री, झन्झटमुक्त र पारदर्शी बनाउन सचेत गराए । सरकारी तथा ऐलानी जग्गाको संरक्षण गर्दै व्यवस्थित सहरीकरण र भू–उपयोग नीतिको कार्यान्वयनमा पनि यो शाखाले कडा निगरानी राख्ने उनले स्पष्ट पारे । यस्ता छन् कार्यालयले दिने मुख्य सेवाहरूमेलम्ची नगरपालिकाद्वारा सञ्चालित यस भूमि व्यवस्थापन शाखाबाट अब देहायका कार्यहरू सम्पादन हुनेछन ।
भूमिहीन दलित र सुकुम्बासीहरूको पहिचान तथा लगत संकलन अव्यवस्थित बसोबासीहरूको जग्गा प्रमाणीकरण र व्यवस्थापन प्रक्रिया नगरपालिका भित्रका भूमिको डिजिटल वर्गीकरण र भू–उपयोग नक्सांकन र स्थानीय स्तरमा हुनसक्ने जग्गा तथा सीमा सम्बन्धी विवादको प्रशासनिक सहजीकरण हुने जनाईएको छ । उदघाटन कार्यक्रममा नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरूले नगर प्रमुख तामाङको नेतृत्वमा मेलम्चीले प्रशासनिक सुलभतामा एक महत्त्वपूर्ण फड्को मारेको भन्दै खुसी व्यक्त गरे ।