प्रगतिशील लेखक सङ्घद्वारा राष्ट्रिय साहित्यिक विचारगोष्ठी सम्पन्न
जेष्ठ १०, काठमाडौं । प्रगतिशील लेखक सङ्घले राष्ट्रिय साहित्यिक विचारगोष्ठी सम्पन्न गरेको छ । प्रगतिशील लेखक सङ्घ (प्रलेस) को आयोजना तथा बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आज राष्ट्रिय साहित्यिक विचारगोष्ठी सम्पन्न गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले जेनजी आन्दोलनसँग सम्बन्धित कविता वाचन गरेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाली प्रगतिशील साहित्यको वर्तमान अवस्था, चुनौती र यसको आगामी कार्यदिशाबारे गहन विमर्श भएको थियो ।
सङ्घका पूर्व अध्यक्ष मातृका पोखरेलले ‘प्रगतिशील साहित्यको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै वैचारिकता र स्रष्टा हकहितमा जोड दिए ।
प्रलेसका सल्लाहकार डा. विदुर चालिसेले ‘बुढानीलकण्ठ नगरपालिका: प्रगतिशील साहित्य’ सम्बन्धी कार्यपत्र राख्दै स्थानीय स्तरमा बढ्दो साहित्यिक गतिविधिबारे प्रकाश पारे ।
सङ्घका अध्यक्ष डा. देवी क्षेत्री दुलालले प्रगतिशील साहित्यमा नयाँ पुस्ताको सहभागितालाई सशक्त बनाउनुपर्ने र अनुसन्धान कार्यलाई व्यवस्थित गर्नुपर्ने खाँचो औँल्याए।
त्यसैगरी बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले कला, साहित्य र संस्कृतिका क्षेत्रमा आगामी दिनमा पनि सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरे ।
विहान ९ बजेबाट सुरु भएको कार्यक्रम दिउँसो २ बजे सकिएको थियो।

