तेर्से माध्यमिक विद्यालयले भव्य रुपमा मनायो ३५औं वार्षिकोत्सब
श्री तेर्से माध्यमिक विद्यालयले आफ्नो ३५औं वार्षिकोत्सब समारोह भब्य कार्यक्रमका बीच सम्पन्न गरेको छ ।

बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर)को प्रमुख आतिथ्यमा बिद्यालयले आफ्नो वार्षिकोत्सब मनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले तेर्से माध्यमिक विद्यालय जिल्लाकै नमुना समुदायीक विद्यालयको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गर्नुभयो । विद्याललाई सधैं प्राथमिकता दिने उल्लेख गर्दै मन्त्री तामाङले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी तेर्से माध्यमिक विद्यालयबाट धेरैकुरा सिक्न सक्ने बताउनुभयो ।
अब एक वडा एक विद्यालय,एक वडा एक छात्रावासको अवधारणा अनुसार अगाडि बढ्ने हो भने शिक्षामा केहि सुधार गर्न सकिने बताउनुभयो । कतै दरबन्दी थुप्रीने र कतै अभाव हुने समस्याको समाधान हुने उल्लेख गर्नुभयो ।
मन्त्री तामाङले विकास आजको आजै भोलिको भोलिनै नहुने भएकाले आफु निर्वाचित भैसकेपछि गरेका काम हेर्नका लागी आफ्नो पुरै कार्यकाल कुर्न आग्रह गर्नुभयो । धेरै कामको सुरुवात भैसकेको उल्लेख गर्दै आफ्नै कार्यकालमा धेरै काम सम्पन्न हुने जिकिर गर्नुभयो ।
हिजो निर्वाचनको समयमा गरेका बाचाहरु एक एक गरेर पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विद्यालयको समस्या र मुख्य चुनौती समाधानका लागी प्रदेशमा आवाज उठाइरहने बताउनुभयो । उहाँले ३०० सिट फर्निचरको लागी ब्यबस्थापनको जिम्मेवारी समेत लिनुभयो ।
कार्यक्रमका अवसरमा नगरपालिकाका स्रोत विज्ञ योगबहादुर थापा,छिमेकी विद्यालयका प्रधानाध्यापक उद्घवप्रसाद लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक योगबहादुर अर्यालले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । विद्यार्थी संख्याको अनुपातमा विषयगत शिक्षक दरबन्दी संख्या कमि हुनु,निजिस्रोतका शिक्षकका लागी अभिभावक संग सहयोग लिनुपर्ने ब्याध्यता,आर्थिक स्रोतको अभाव,कक्षाकोठाका फर्निचर जिर्ण बन्दै जानु र करिब ३०० सेट फर्निचरका लागी १५ लाख ब्यबस्थापन गर्नु र बिद्यालय बसको लागी चालक,मर्मत लगायतको कर्च आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न कठिन हुनुलाई विद्यालयले मुख्य चुनौतिको रुपमा अगाडि सारेको छ ।
कार्यक्रमको अवसरमा विधागत रुपमा उत्कृष्ट शिक्षक,उत्कृष्ट बिषय शिक्षक,एस इ इ उतिर्ण उत्कृष्ट १५ विद्यार्थी विद्यालय बस खरिदमा सहयोग गर्ने महानुभावहरु लाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष प्रेमबहादुर तामाङ,पुर्व वडा अध्यक्ष जितराज थापा,शैक्षिक व्यक्तित्व हरिकुमार शर्मा,जनप्रतिनिधि,विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक लगायत स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक राजन लामिछाने र रामभक्त दनुवारले गर्नुभएको थियो ।
वार्षिकोत्सबको अवसरमा शिक्षक,विद्यार्थी,कलाकार पदम दुलाल,मन्जु गौतम लगायको प्रस्तुतिले मनोरञ्जन प्रदान गरेको थियो ।
विद्यालयको ३५औँ वार्षिक उत्सवको अवसरमा मेलम्ची नगरपालिका‚ हेलम्बु‚ इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिकास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि बिजेता इष्ट पोइन्ट एकेडेमी,दोस्रो भएको जाल्पादेवी मावि मेलम्ची-२ र तेस्रो भएको तेर्से माविलाई पुरस्कार वितरण गरिएको थियो । प्रथम‚ द्वितीय र तृतीय हुने समूहलाई क्रमशः २० हजार‚ १५ हजार र १० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका शिक्षक भिमबहादुर तामाङले जानकारी दिनुभयो । साथै अन्य प्रतियोगिताका बिजेतालाई समेत पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ ।

