शब्द साधनाको कविता प्रतियोगितामा इष्ट पोइन्ट एकेडेमी प्रथम

माघ २४, काठमाडौं । शब्द साधनाको कविता प्रतियोगितामा हेलम्बुको इष्ट पोइन्ट एकेडेमी प्रथम हुन सफल भएको छ ।

शब्द साधना क्लव, काठमाडौँको आयोजनामा गोकर्णेश्वरस्थित गोकर्णेश्वर लाइट एकेडेमीको प्राङ्गणमा सम्पन्न अन्तर विद्यालय स्तरीय कविता प्रतियोगितामा इष्ट पोइन्ट एकेडेमी, हेलम्बु प्रथम स्थान हासिल गर्न सफल भएको हो । कक्षा ९ मा अध्ययनरत छात्रा जेस्मिन लामिछाने पहिलो भएकी छिन् ।

प्रतियोगितामा ३० भन्दा बढी विद्यालयका विद्यार्थीहरू सहभागी रहेकोमा इष्ट पोइन्ट एकेडेमीका विद्यार्थीले उत्कृष्ट प्रस्तुति दिँदै सबै प्रतिस्पर्धीलाई उछिन्दै पहिलो स्थान हात पारेका हुन् । यस्तै प्रतियोगितामा इष्टपोल एकेडेमी, काठमाडौँ दोस्रो तथा कान्तिभैरव एकेडेमी, काठमाडौँ तेस्रो स्थानमा रहन सफल भएका छन् ।

कार्यक्रममा बरिष्ठ साहित्यकार नवराज लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा निर्णायकहरूले सहभागी विद्यार्थीहरूको कविता प्रस्तुति, भाव, भाषा र अभिव्यक्तिको स्तर उच्च रहेको बताएका थिए ।

प्रतियोगिताबारे जानकारी दिँदै इष्ट पोइन्ट एकेडेमीका प्रधानाध्यापक दामोदर भारतीले विद्यालयले शैक्षिक उपलब्धिसँगै साहित्य, कला र सिर्जनात्मक क्षेत्रलाई पनि समान महत्व दिँदै आएको बताए । उनले यस्तो उपलब्धिले विद्यार्थीहरूको आत्मविश्वास र सिर्जनशीलता अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई धन्यवाद ज्ञापन गरे ।

उक्त उपलब्धिले इष्ट पोइन्ट एकेडेमीको शैक्षिक तथा सिर्जनात्मक पहिचानलाई थप मजबुत बनाएको विद्यालयले जनाएको छ ।
थ्यग कभलत