सिन्धुपाल्चोकका प्रभावशाली नेता निमफुन्जो शेर्पा सहित दर्जनौं संख्यामा नेकपामा समाहित
माघ २३ काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका संस्थापक मेयर तथा एमाले सिन्धुपाल्चोकका प्रभावशाली नेता निमफुन्जो शेर्पा सहित चार दर्जन भन्दा बढी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएका छन् ।

शेर्पा सहित एमालेबाट नेकपामा समाहित भएका नेता कार्यकर्तालाई शुक्रबार काठमाडौंमा आयोजित मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल लगाएतले स्वागत गरेका थिए ।
नेकपा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय, प्रतिनिधिसभा क्षेत्र नं. १ निर्वाचन परिचालन समितिद्वारा आयोजित कार्यक्रममा सिन्धुपाल्चोक १ नम्बर क्षेत्र जन्मथलो भई काठमाडौं उपत्यकामा अस्थायी बसोबास गर्ने नकपाका क्रियासिल सदस्य तथा शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा काठमाडौं जडिबुटी स्थित एक पाटीप्यालेसमा कार्यक्रम सम्पन्न भएको हो ।

शेर्पासँगै सिन्धुपाल्चोकका एमालेका ठूलो संख्याका नेता तथा कार्यकर्ताहरू नेकपामा समाहित भएपछि सिन्धुपाल्चोक जिल्लामा नेकपाको आधार विस्तार भई नेकपाका उम्मेदवारलाई चुनाव जित्न निकै सहज हुने आंकलन गरिएको छ ।

पार्टी समायोजन कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका संयोजक पुष्पकमल दाहालले १६ दल मिलेर नेकपा गठन भएसंगै पार्टी एकतामा अभूतपूर्व एकताको लहर चलेको उदघोष गरे । नेकपामा दैनिकी साना ठूला गरेर एकता र समायोजनका कार्यक्रम निरन्तर रहेको भन्दै नेकपालाई आगमी फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनमा बहुमत ल्याउन कसैले नरोक्ने ठोकुवा गरे ।

यसअघि कहिले कांग्रेस त कहिले एमालेसंग चुनावी तालमेल गरेको पूर्व माओवादी केन्द्रको स्मरण सुनाउँदै संयोजक प्रचण्डले नेकपा बनेसंगै कसैसंग तालमेल वा गठबन्धन नगरेर एक्लै जित हाँसिल गर्ने गरी जनताको बलमा तागत प्राप्त भएको दावी गरे । देशैभरी नेकपाको लहर देखेर देशी विदेशी प्रतिक्रियावादी अत्तालिएको बताउँदै संयोजक दाहालले शिद्वान्त, लक्ष्य, संगठन र विचार बिहिन नयाँ भनिएका दलले सामाजिक सञ्जाल मार्फत स्टनबाजी गरेको भरमा जनताले नपत्याउने समेत उदघोष गरे ।
सिन्धुपाल्चोकको प्रसंग कोट्याउँदै संयोजक प्रचण्डले सिन्धुपाल्चोकलाई आफुले राम्रोसंग चिनेको तथा भिजेको भन्दै एतिहासिक नाका संग जोडिएको बाह्रबिसेका पूर्व मेयर शेर्पा लगाएत एमालेबाट आएको संयौको कार्यकर्ता समायोजनले सिन्धुपाल्चोकमा नेकपालाई चुनाव जित्न सहज भएको दावी गरे ।
कार्यक्रममा पूर्व सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा सदस्यका लागि सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार माधव सापकोटा ‘सुबोध’, समानुपातिक उम्मेदवार लालकान्छा तामाङ, भगवती नेपाल लगायत जिल्लाका नेता कार्यकर्ताहरुले सम्बोधन गरेका थिए ।
तीन दर्जन नेता कार्यकर्ता सहित नेकपामा समायोजन भएका जनजाती नेता तथा बाह्रबिसे नगरपालिकाका प्रथम मेयर निमफुञ्जो शेर्पाले आफुले विगत ४० बर्ष लगानी गरेर एमालेलाई जनताको प्यारो पार्टी बनाउन लागेपनि सो पार्टीका अध्यक्ष केपी ओलीको कारण एमाले पतनको दिशामा गएको ठोकुवा गरे । एमाले खरानी नहुन्जेल सम्म ओलीले पद नछाडेको प्रति टिप्पणी गर्दै शेर्पाले भने–अब एमाले सिद्विएपछि मात्रै ओली सिद्विन्छन् ।’ आफुले कुनै लोभलालाचा र पदको लागि नेकपामा समायोजन गरेको नभई कम्युष्ट हुँदाको लगानी र आफ्ना दाजु निमपासाङको विरासत जोगाउनको लागि गरिएको बताए । आगमी दिनमा नेकपालाई गतिलो पार्टी बनाउने उदघोष गर्दै नेता शेर्पाले सिन्धुपाल्चोकमा नेकपाको दुवै सिट जिताउन आफुले दिलोज्यान दिएर लाग्ने प्रतिवद्वता जनाए ।
नेता तथा कार्यकर्ताको उत्साहपूर्ण सहभागिताबीच सम्पन्न कार्यक्रममा वक्ताहरूले पार्टी एकता, जनविश्वास र आगामी निर्वाचनमा विजय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

