निर्वाचन आयोगद्वारा चौतारामा मिडिया हाउस स्थापना
माघ १४, चौतारा । चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आग्रहमा निर्वाचन आयोगले सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना गरेको छ ।

आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को सहज रिपोर्टिङको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले माघ १४ गते मिडिया हाउस स्थापना गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै रहेको मिडिया हाउसमा झण्डै ३० सञ्चारकर्मीले एकै ठाउँमा बसेर काम गर्न सक्ने छन् ।
मिडिया हाउसमा इन्टरनेट, टेबुल र कुर्शीको व्यवस्था गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयको नजिक बसेर काम गर्दा सही सूचना प्रवाह हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयका अनुसार बुधबार देखिनै जिल्लाका सञ्चारकर्मीहरुले मिडिया हाउसमा बसेर काम गर्न सक्ने छन् ।
मतदानको दिनदेखि मतगणना सम्पन्न नभएसम्मको समयको रिपोर्टिङ गर्न मिडिया हाउसले सञ्चारकर्मीहरुलाई समाचार संकलन र रिर्पोटिङ गर्न सहज हुने महासंघ जिल्ला शाखाका अध्यक्ष ध्रुव दंगालले बताए । मिडिया हाउस स्थापनाको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले खेलेको भूमिकाप्रति अध्यक्ष दंगालले धन्यवाद समेत दिए । उनका अनुसार रिपोर्टिङमा सञ्चारकर्मीहरुलाई सहजता पु¥याउने उद्देश्यले मतदानको दिनको लागि बितरण गरिने सवारी पास, मतगणनाको समयको लागि मतगणनास्थल प्रवेश पास वितरण गर्ने लगायत काममा शाखाले सम्वन्धित निकायसँग सहजीकरण गरेको हो ।
मिडिया हाउसको व्यवस्थाले मतगणनास्थलमा एकैपटक हुने सञ्चारकर्मीहरुको भिडलाई व्यवस्थित बनाउने उद्देश्यले यो खालको व्यवस्था गरिएको निर्वाचन क्षेत्र नं. १ का सहायक मतदान अधिकृत हेमा पाण्डेले बताइन । उनका अनुसार जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको छ ।

