दशौं संस्करणको सिन्धुपाल्चोक अन्तराष्ट्रिय ट्रेल रेस २०२६ सम्पन्न
माघ १०, चौतारा । दशौं संस्करणको सिन्धुपाल्चोक अन्तराष्ट्रिय ट्रेल रेस प्रतियोगिता २०२६ सम्पन्न भएको छ । सिन्धुपाल्चोक इन्टरनेसनल ट्रेल रेस संस्थाले आयोजना गरेको दौड प्रतियोगितामा महिला र पुरुष सहभागी भए । जसमा विदेशी समेत सहभागी थिए । त्यसका लागि ६० किलोमिटर र २८ किलोमिटरको छुट्टाछुट्टै प्रतियोगिता गरिएको थियो ।

सिन्धुपाल्चोकको ठूलो शिरुबारबाट ६० किलोमिटरको र जलबीरेबाट २८ किलोमिटरको दौड सुरु गरिएको थियो । प्रतियोगिता अन्र्तगत ६० किलोमिटर र २८ किलोमिटर गरी दुई बिधामा रेस गरिएको थियो । चौतारा साँगाचोक गढी नगरपालिकाका वडा नम्बर १३ का वडा अध्यक्ष रामप्रसाद गौतमको प्रमुख आतिथ्यतामा ठूलो शिरुबारीबाट ६० किलोमिटरको रेस सुरू गरिएको थियो । यस्तै जलबिरेबाट २८ किलोमिटर रेस सुरू गरिएको थियो ।

६ घन्टा ५२ मिनेट २२ सेकेण्डमा ६० किमीको दौड पूरा गर्दै पुरुष तर्फ दावा तामाङ प्रथम भए । दोस्रो हुने विजय राना मगरले ७ घण्टा ४ मिनेट ४ सेकेण्ड समय लगाए भने तेस्रो हुने सन्दिप तामाङले ७ घण्टा २५ मिनेट ३५ सेकेण्डमा दौड पूरा गरेका थिए ।
महिलातर्फ ६० किमी दौडमा ९ घन्टा २ मिनेट ४३ सेकेण्डमा पूरा गरी दिलकला कुलुङ प्रथम, ९ घन्टा ३४ मिनेट ३४ सेकेण्डमा दौड पूरा गरि डेनमार्क की स्टिना हाइजेलबर्ग दोस्रो र १० घन्टा १० मिनेट ०३ सेकेण्डमा दौड पूरा गरि नेदरल्याण्डकी नागरिक अनी माइ बान तेस्रो भइन ।
यस्तै २८ किमी महिला तर्फको दौडमा ३ घण्टा ५० मिनेट ३४ सेकेण्डमा दौड पूरा गरि युएसए की शोन्या मार्टिन प्रथम भइन स्विडेनकी क्लारा बेरग्रनिले ५ घन्टा ७ मिनेट ४५ सेकेण्डमा दौड पूरा गरी द्वितीय र युके की अन्ना ग्रिफिन ले ६ घण्टा २७ मिनेट ३६ सेकेण्ड पुरा गरेर तृतीय भइन् ।
२८ किमी मै पुरुषतर्फ २ घण्टा ४० मिनेट ११ सेकेण्ड पुरा गरी अर्जुन राज कुलुङ प्रथम भए भने दिवाकर बुढामगरले २ घण्टा ४४ मिनेट ५४ सेकेण्डमा दौड पूरा द्वितीय भए ।
कार्यक्रम समापन नयाँ पुल बन्जीजम्पमा भएको थियो । समुदायमा आधारित गैरनाफामुलक यस रेसले सिन्धुपाल्चोकलाई अन्तराष्ट्रिय मञ्चमा चिनाएको सिन्धुपाल्चोक ट्रेल रेसका अध्यक्ष राम पुरीले बताए । उनका अनुसार रेसका विजयी खेलाडीले अन्तराष्ट्रिय दौड प्रतियोगितामा समेत जितेका छन् ।
आफ्नो गाउँ–ठाउँलाई चिनाउने उद्देश्यले सिन्धुपाल्चोकमा ट्रेल रेस प्रतियोगिता आयोजना गरिएको पुरीले बताए । २०७२ सालको भुकम्प पछि सुरुवात भएको यो प्रतियोगिताले सिन्धुपाल्चोकका जनतामा आशा जगाउन, सिन्धुपाल्चोक सुन्दर छ, यहाँ घुम्न आउन लायक छ भनेर विश्व सामु चिनाउन सुरु गरिएको आयोजकको भनाई छ ।
अहिले सम्म सिन्धुपाल्चोकबाट १० वटा रेस सम्पन्न भएको उसले जनाएको छ । उक्त संस्थाले विद्यालय निर्माण, विद्यार्थीहरुलाई कापी कलम वितरण गर्नुको साथै स्वास्थ्य चौकीलाई मद्दत समेत गरेको बताएको छ ।

