१३ नम्बर वडाको रचनात्मक काम, खर्च बचत गर्न विद्यालयको सामुहिक वार्षिकोत्सव कार्यक्रम
दिनेश दुलाल
माघ १०, चौतारा । सामुदायिक विद्यालयहरुले आफ्नो वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम बर्षेनी गर्ने प्रचलन छ । विद्यालयको जन्मजयन्तीका अवसरका गरिने यस्ता कार्यक्रमहरु कित स्थानीय जनप्रतिनिधि कित राजनीतिक दलका उच्च व्यक्तिहरुलाई प्रमुख अतिथि बनाएर मनाउने परिपाटी विकास हुँदै गएको छ ।

कम आर्थिक स्रोत भएका आधारभूत देखि माध्यामिक विद्यालयले प्रति विद्यालय न्युनतम २० हजार देखि १ लाख ५० हजार सम्म खर्च गरेको पाइन्छ । विद्यालयले गर्न नसके स्थानीय तहले समेत बजेट व्यवस्थापन गरेर खर्च गर्ने चलन छ । विद्यालयको आन्तरिक गुणस्तर वृद्विमा भन्दा पनि तडकभडक र सजिसजावटमा मात्र खर्च गर्ने परम्परालाई सिन्धुपाल्चोकको एक वडाले भने नयाँ तरिका अपनाएर कम खर्चमा वार्षिकोत्सव कार्यक्रम गर्ने नयाँ थितिको सुरुवात गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१३ नम्बर वडाले आफ्ना वडा भित्र रहेका आधारभुत र मावि गरी ५ वटा विद्यालयहरुको सामुहिक वार्षिकोत्सव तथा शैक्षिक प्रर्दशनी मेला सम्पन्न गरेको हो ।
वडामा रहेका दुईवटा माध्यामिक र तीनवटा आधारभुत विद्यालयहरुको सेतीदेवी माध्यामिक विद्यालय कोटडाँडामा शुक्रबार श्रीपञ्चमीको अवसरमा गरिएको वार्षिकोत्सव तथा दोस्रो शैक्षिक प्रर्दशनी मेला कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सापकोटाले वडाले आफ्ना मातहातका सबै विद्यालयहरुको सामुहिक वार्षिकोत्सव कार्यक्रम गरेर रचनात्मक काम गरेको प्रतिकक्रिया दिए । उक्त रचनात्मक कार्यको लागि वडा शिक्षा समिति र विद्यालय परिवारलाई धन्यवाद दिए । उक्त वडाले खेलकुद क्षेत्रमा समेत अन्तराष्ट्रिय तहसम्म पुगेर उच्च विकास गरेको भन्दै खेलकुद विकासको प्रंशसा व्यक्त गरे । खेलकुद विना शिक्षा क्षेत्र अधुरो र अपाङ्ग हुने भएकोले शिक्षा र खेलकुदको अनुन्यास्रित सम्बन्ध हुने तर्क राखे । विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि के गर्नुपर्छ भन्ने उदाहारण विद्यालयका प्रत्येक विद्यालयका बालबालिकाहरु आफैंले वक्तृत्वकला प्रतियोगितामा देखाएको कलाले आफु प्रभावित भएको बताए । राम्रो कुरा सामन्य किसानले ग¥यो भनेपनि त्यसलाई ग्रहण गर्नुपर्ने तर्क राख्दै बालबालिकाहरुको कलाविचारलाई ठुलाहरुले समेत आत्मसाथ गर्नुपर्ने धारणा राखे ।

कार्यक्रमको अध्यक्षता गरेका १३ नम्बर वडाका वडाअध्यक्ष तथा नगर सामाजिक विकास संयोजक रामप्रसाद गौतमले वडाले अरु वडा भन्दा नविन कार्य कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले विद्यालयको सामुहिक वार्षिकोत्सव कार्यक्रम गरिएको बताए । गत साल वडाले शैक्षिक मेलाको रुपमा सुरुवात गरेको भन्दै यसपटक देखि ५ वटै विद्यालय एउटै विद्यालय हो भन्ने अवधारणाका साथ सामुहिक वार्षिकोत्सव कार्यक्रम भनेर मनाईएको बताए । आगमी हरेक बर्ष श्रीपञ्चमीको दिन यसैगरी सामुहिक वार्षिकोत्सव मनाइने जानकारी दिदैं अध्यक्ष गौतमले यसपटक देखि शिक्षा प्रेमीहरुलाई सम्मान गरिएको र अर्को बर्ष अभिभावकहरुलाई पनि सम्मान गरिने उदघोष गरे । वडाकै लगानीमा हुने यस खालको कार्यक्रमले विद्यालयको खर्चमा निकै बचत भएको उनले ठोकुवा गरे । सबै विद्यालयको सामुहिक वार्षिकोत्सव कार्यक्रम गर्ने सुरुवात नगरभरिका मात्र नभई जिल्लाभरीकै लागि १३ नम्बर वडाको कार्य नयाँ भएको सहभागीले बताए ।

कार्यक्रम विभिन्न सामाजिक व्यक्तित्वहरुले मन्तव्य राखेका थिए । वडाका शैक्षिक अभियान्ता शिवबहादुर केसी, खेलकुद अभियान्ता गंगालाल श्रेष्ठ लगाएतलाई सम्मान गरिएको थियो । सामुहिक वार्षिकोत्सव कार्यक्रमको अवसरका विभिन्न खेलकुद प्रतियोगितामा विजेता तथा सहभागिलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । सबै विद्यालयका कक्षा समुहका बालबालिकाहरुले शैक्षिक प्रर्दशनीमा आफ्नो कला प्रर्दशन गरेका थिए ।

