‘शैक्षिक उपलब्धिका लागि शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकारको दायित्व’–मेयर तामाङ

माघ १०, मेलम्ची । मेलम्ची नगर प्रमुख आईतमान तामाङले शैक्षिक उपलब्धि हासिलका लागि शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकार सबैको उत्तिकै दायित्व रहेको औंल्याएका छन् ।

मेलम्ची –९ रातमाटास्थित सातकन्या माविको त्रिपन्नौं वार्षिक उत्सव तथा अभिभावक भेलाको उदघाटन गर्दै विद्यालयको स्पष्ट मार्ग चित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि हासिल हुन सक्ने बताए । उनले मेलम्ची नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको उदघोष गरे ।

उपप्रमुख उमा प्रधानले समाज विकासको मुल आधार शिक्षाको विकास भएकाले नगरले शैक्षिक क्षेत्रमा उल्लेख्य लगानी गरेको बताईन । उनले संघीयता कार्यान्वयन सँगै शैक्षिक क्षेत्रको विकासले फड्को मारेको तर्क पेश गरिन । कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विकास तामाङले शिक्षाको उद्देश्य अक्षर जान्ने मात्र नभएर संस्कार र संस्कृतिको ज्ञान लिनु पनि भएकाले सामुदायिक विद्यालयले सामाजिक अध्ययनलाई जोड दिनुपर्ने धारणा राखे ।

उत्सवको मुल समारोह वडाअध्यक्ष किरणदिप खड्का, नगर शिक्षा अधिकृत लक्ष्मी किशोर सुवेदी, युवा व्यवसायी अनिलकुमार तामाङ, पूर्व वडाअध्यक्ष कमलबहादुर खड्का, समाजसेवी चन्द्रबहादुर तामाङ, जनता माविका प्रधानाध्यापक केदार विष्ट, पूर्व शिक्षक गोपालबहादुर कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रधानाध्यापक जनक अधिकारीले प्रगति प्रतिवेदन तथा व्यवस्थापन समितिका अध्यक्ष सुनबहादुर घलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल आइडल गंगा सोनाम र युवा व्यवसायी अनिलकुमार तामाङलाई सम्मान गरिएको थियो । कार्यक्रमा गंगा सोनाम, सानु केसि सिमा भन्डारी भुवन खनाल, गिता योन्जन लगायतको प्रस्तुति रहेको थियो ।