भावुक स्टाटस लेखेर सिन्धुपाल्चोकका प्रभावशाली नेता शेर्पाले गरे एमाले परित्याग

माघ ८, काठमाडौं । सिन्धुपाल्चोक एमालेका एक प्रभावशाली नेता निमफुञ्जो शेर्पाले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा बिहिबार भावुक स्टाटस लेखेर एमाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन । बाह्रबिसे नगरपालिका–५ साविक गाती गाविसको मान्द्रा भन्ने विकट ठाउँमा जन्मिएर ४० बर्ष एमालेको राजनीतिमा लागेका शेर्पाले एमाले परित्याग गरेसंगै सिन्धुपाल्चोक एमालेमा ठूलो धक्का लागेको छ । दिवंगत एमाले नेता निमपासाङ शेर्पाको भाई निमफुञ्जो आफ्नै दाजुकै प्रेरणाबाट एमालेमा लागेका थिए ।

निमपाङको मृत्यु भएपछि निमफुञ्जोले आफ्नो दाजुकै अभावलाई पुर्ताल हुनेगरी राजनीतिमा होमिएका थिए । एमालेबाटै जितेर बाह्रबिसे नगरपालिकाको मेयर बनिसेकेका शेर्पा एमालेको वाग्मति प्रदेश सचिवालय सदस्य समेत हुन । सिन्धुपाल्चोकै शेर्पा समुदायका चर्चित नेता निमफुञ्जोको बाह्रबिसे, भोटेकोशी र त्रिपुरासुन्दरी लगाएतमा राम्रो प्रभाव छ ।

एमालेसंगको उनको बर्हिगमन भएसंगै आसन्न फागुन २१ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ तथा २ मा समेत एमाले उम्मेदवारलाई ठूलो धक्का लाग्ने एमालेकै कार्यकर्ता बताउँछन् । पार्टी परित्याग गरेको घोषण गरेपनि शेर्पाले कुनै दल प्रवेश भने गरेका छैनन् । सम्भवत उनी नेपाली कम्युनिष्ट पार्टीमा जान सक्ने अडकलबाजी गरिएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा यसरी पोखेका छन् –

आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरू
तथा
नेकपा एमालेका प्रिय कमरेडहरू,
गाती,मान्द्राको एउटा विकट गाउँमा जन्मिँदा म कुनै पार्टीको झण्डा, नारा वा राजनीति बुझ्ने अवस्थामा थिएनँ। तर जब चेतना आउन थाल्यो, जब समाज बुझ्न थालेँ, म आफूलाई नेकपा एमालेकै मान्छे पाएँ। थाहा पाउँदा म एमाले थिएँ, बाँच्दासम्म पनि एमाले नै रहन्छु होला जस्तो लागेको थियो ।
आज उमेर झण्डै ६० को हाराहारीमा पुगेको छ। जीवनका सबैभन्दा उर्जाशील वर्षहरू मैले यस पार्टीलाई दिएँ। मैले पार्टीलाई धेरै दिएँ, पार्टीले पनि मलाई धेरै दियो। यो पार्टीप्रति मेरो मनमा न कुनै गुनासो छ, न आग्रह, न पूर्वाग्रह। तर दुःखको कुरा के हो भने, पार्टी चलाउने केही व्यक्तिहरूले मलाई जीवनभर बिर्सन नसकिने चोट दिएका छन्। उनीहरूले मेरो मनलाई यति गहिरो गरी भत्काए, जसको पीडा शब्दमा बयान गर्न गाह्रो छ।
आज यो क्षणमा म मेरो स्वर्गीय दाइ ङिमपासाङ शेर्पालाई सम्झिरहेको छु। उहाँले मलाई बुबाआमाको माया मात्र होइन, राजनीतिक रूपमा एउटा पहिचान दिनुभयो। आज म जे छु, जहाँ छु, त्यो उहाँकै विश्वास र मार्गदर्शनको देन हो।
२०४६ सालको राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनमा प्रत्यक्ष सहभागी हुँदा, २०४६ चैत २४ गते प्रहरीबाट पक्राउ परेर २४ घण्टा हिरासतमा बस्नुपरेको दिन आज पनि आँखाअगाडि ताजै छ। त्यही संघर्षबाट पिपुल्स भोलेन्टियर हुँदै मेरो नेकपा एमालेको राजनीतिक यात्रा सुरु भयो। त्यो यात्रा कहिल्यै सजिलो थिएन, तर म कहिल्यै पछि हटिनँ।
बाह्रविसे, भोटेकोशी जस्ता क्षेत्रमा कुनै दिन एमालेका कार्यकर्ता गन्न सकिने अवस्थामा थिए। तर हामीले त्यही ठाउँमा स्थानीय तहको पहिलो निर्वाचन जित्यौं। म संस्थापक मेयर बनेँ र तपाईँहरू सबैको साथ र विश्वासले बाह्रविसेलाई एमालेको गढ बनायौं। त्यो मेरो व्यक्तिगत सफलता होइन, यो पार्टी र कार्यकर्ताको सामूहिक जित थियो।
तर दुःखद सत्य के हो भने, पार्टीभित्रकै केही मान्छेहरूले बाह्रविसे र भोटेकोशी क्षेत्रमा एमाले बलियो भएको देख्न सकेनन्। उनीहरूले हामीलाई कमजोर बनाउन दुई वटा कमिटी बनाएर विभाजन गर्ने काम गरे। म सधैँ पार्टीका साथीहरूको दुःख–सुखमा उभिएँ, कार्यकर्ताको मनोबल बढाउन अग्रपङ्क्तिमा रहेँ। तर यसको बदलामा मलाई पुरस्कार स्वरूप कारबाही दिइयो।
म मान्छे हुँ, मसँग पनि कमजोरी छन्,तर ती कमजोरीका नाममा मेरो योगदान, मेरो संघर्ष र मेरो क्षमतालाई पूर्ण रूपमा अस्वीकार गर्नु अन्याय हो भन्ने मेरो बुझाइ छ। जब पार्टीले ‘तेरो आवश्यकता छैन’ भन्ने सन्देश कारबाहीमार्फत दियो, त्यसपछि यहाँ बसिरहनु मेरो आत्माले स्वीकार गरेन। म मान्छे हुँ कमजोरी हुन सक्छ,तर त्यसको सजाय यति निर्मम हुनु पर्छ र? मेरो योगदान,मेरो क्षमताको कुनै मुल्य छैन भन्ने सन्देशले म भित्र भित्रै तड्पिरहे ।
आत्माले बोलेपछि त्यहीँ टाँसिएर बस्न सकिनँ। त्यसैले आज, नेकपा एमालेले दिएको संगठित सदस्यता नम्बर ५२६३४ यही मितिबाट त्याग गरेको छु। यो कार्ड पहिलो पटक हातमा लिँदा जुन गर्व थियो, आज छोड्दा त्यही गर्व आँसु बनेर झरिरहेको छ। मन रोइरहेको छ, तर छोड्नुको विकल्प रहेन।
हिजो नेकपा एमालेमा रहँदा यदि मैले जानेर वा नजानेर कसैको मन दुखाएको छु भने, म सबैसँग हृदयदेखि माफी चाहन्छु। हामी फेरि कुनै न कुनै भूमिकामा भेटिनेछौं, मन साटासाट हुने नै छ।
आज कै मिति देखि म नेकपा एमाले पार्टी सहित सगठित सदस्य समेत परित्याग गर्देछु,पार्टी परित्याग गरे पनि मेरो जीवनमा बगेको संघर्ष, त्याग र सपनाको इतिहास कसैले मेटाउन सक्दैन।
धन्यवाद।