सिन्धुपाल्चोक रास्वपा क्षेत्र नम्बर १ का उम्मेदवार पराजुलीले गरे सहिद परिवारसंग भेटघाट
माघ ७, चाैतारा । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उमेदवार भरत प्रसाद पराजुलीले जेन्जी आन्दोलनको क्रममा सहिद भएका परिवारसंग भेटघाट गरेका छन् ।
हिजो मनोनयन दर्ता गरेलगत्तै रास्वपाका उमेदवार पराजुलीले जेन्जी आन्दोलनको क्रममा भाद्र २४ गते सहिद भएका चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थायी घर भएका सहिद परिवारसँग प्रत्यक्ष भेटघाट गरेका हुन ।
सहिद परिवारसँगको भेटमा उम्मेद्वार पराजुलीले सहिदको सपना, त्याग र जेन्जी आन्दोलनले उठाएका न्याय, सुशासन र उत्तरदायित्वका मागहरूलाई आफूले राजनीतिक यात्राको मूल आधार बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरे । उनले सहिदहरू कुनै पार्टी विशेषका नभई समग्र राष्ट्र र परिवर्तनको प्रतीक भएको बताउँदै, उनीहरूको बलिदानलाई केवल भाषणमा सीमित नराखी व्यवहारमै उतार्ने दृढ संकल्प गरे ।
भेटका क्रममा पराजुलीले भने ´आउँदो निर्वाचनपछि जनताको विश्वाससहित विजयी भएँ भने सिन्धुपाल्चोकबाट सहिद भएका सबै सहिदहरूको माग बमोजिम, घटनाका दोषी नरसंहारकारी राक्षसहरूलाई कानुनी कठघरामा उभ्याउन म सधैँ तयार रहनेछु, सहिदको रगतको हिसाब राज्यसत्ताले दिनैपर्छ `
उहाँले जेन्जी आन्दोलनले उठाएको आवाज दबाउने होइन, संस्थागत गर्ने जिम्मेवारी आफूले लिने बताउँदै, अन्याय, दण्डहीनता र सत्ताको दुरुपयोगविरुद्ध संसदभित्र र बाहिर निरन्तर संघर्ष गर्ने प्रतिवद्धता दोहोर्याए ।
सहिद परिवारले पनि भेटप्रति आभार व्यक्त गर्दै, यसपटक भावनात्मक आश्वासन होइन, न्याय सुनिश्चित गर्ने नेतृत्वको आवश्यकता रहेको धारणा राखेका छन्।
मनोनयनपछिको पहिलो सार्वजनिक गतिविधि नै सहिद परिवारसँग भेट गरेर सुरु गर्नु उम्मेदवार पराजुलीको राजनीतिक प्रतिवद्धता र जेन्जी आन्दोलनप्रतिको गम्भीरताको संकेतका रूपमा हेरिएको छ।

