तामाङ समुदायले मनाए चौतारामा ल्होछार पर्व

कुसुम थामी
५ माघ,चौतारा । नेपाली समाजमा मनाईने विभिन्न पर्वहरुमध्ये तामाङ समुदायले मनाउने मुख्य सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा चौतारामा स्थानीयहरुले साँस्कृतिक कार्यक्रम गरि मनाएको छ ।


२८६२औ ता ल्हो (घोडा वर्ष) नयाँ वर्षको आगमनको प्रतीकका रूपमा मनाइने ल्होछार पर्वले तामाङ समुदायको मौलिक संस्कृति र जातीय पहिचान झल्काउने गर्दछ ।
बौद्ध धर्मालम्वीहरु तामाङ जातिसँगै शेर्पा, गुरुङ, लगायतका जातिहरूले पनि ल्होछार पर्व मनाउने परम्परा रहेको छ । तीन जातीले मनाउने ल्होछार पर्व तीन प्रकारका छन् । जसमा तामाङको सोनाम ल्होछार, शेर्पाको ग्याल्पो ल्होछार र गुरुङको तोल ल्होछार रहेका छन् ।
चौताराको गुम्बामा आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी, परम्परागत नृत्य र गीतको प्रस्तुतीले उल्लासमय बनाएको थियो । साथमा शुभकामना आदान–प्रदान समेत गरिएको थियो । शुभकामना दिने क्रममा बोल्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटाले ल्होछार पर्वले सामाजिक सद्भाव कायम गर्ने बताए ।

सापकोटाले भने “ल्होछार केवल एउटा पर्व मात्र होइन, यो हाम्रो पहिचान, संस्कार र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक धरोहर हो र यस्ता पर्वले समाजलाई एकताबद्ध बनाउँदै सकारात्मक ऊर्जा प्रदान गर्छ ।”
त्यस्तै नगर उपप्रमुख सिता थापाले ल्होछारले विविधताभित्रको एकतालाई झल्काउने बताउँदै सबै समुदायको संस्कृति संरक्षणमा स्थानीय सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।
“सोनाम ल्होछारले तामाङ समुदायको संस्कृति मात्र होइन, समग्र नेपाली समाजको सांस्कृतिक विविधतालाई उजागर गर्छ,” उनले भनिन्, “यस्ता पर्वको संरक्षण र प्रवद्र्धन गर्नु हाम्रो साझा दायित्व हो ।”

कार्यक्रममा सहभागीहरूले एक–आपसमा शुभकामना साटासाट गर्दै नयाँ वर्षको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए ।

चर्चित कलाकार एवं संगीतकार अनिष योञ्जन तामाङ, पलाकार रिचा तामाङ लगायतकाले उपस्थित सवैलाई छमछमी नचाएका थिए ।

कार्यक्रम युवा समाजसेवी मिलन लामाको सञ्चालन र तामाङका नगर अध्यक्ष अक्कल बहादुर तामाङको अध्यक्षतामा तामाङसमुदायको साथमा विभिन्न समुदायको सहभागिातामा भव्य रुपमा सम्पन्न भएको थियो ।