८४ वर्षीय हजुरआमाले पाइन पहिलोपटक नेपाली नागरिकता !
पौष ३०, चौतारा । नेपालको संविधानले नेपाली नागरिकलाई १६ बर्ष पुगेसी नागरिकता पाउने अधिकार नै दिएको छ । तर सिन्धुपाल्चोककी एक ८४ बर्षीय वृद्वाले बल्ल पहिलो पटक नेपाली नागरिकता पाएकी छिन ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० खत्रीथोककी ८४ बर्षीय लाल कुमारी श्रेष्ठलाई मंगलबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नेपाली नागरिकता दिलाएका हुन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे अन्तर्गत पलाती गाउँमा जन्मिएर सानैमा आमाबाबु गुमाएकी लालकुमारीले अहिले सम्म नागरिकता बनाउनबाट बन्चित भएकी थिइन । लालकुमारीको नाम कुनै सरकारी अड्डाहरुमा अभिलेखी नभेटिएपछि उनको नागरिकता बनाउनबाट ढिलाई भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
वि.सं. २०१८ सालमा लालकबुमारीको विवाह भएपनि वि.सं. २०३० सालमै उनको श्रीमानको निधन भएको थियो । एक छोरा र एक छोरीकी आमा रहेकी लालकुमारीको नागरिकताको बारेमा कतैबाट पहल नभएको जानकारहरु बताउँछन् । उसोत लालकुमारी दुई छोराछोरी बोकेर उतिबेलै काठमाडौंमा इटा बोक्ने ज्याला मजदुरी गरेर बसेकी थिइन । तर पनि उनी जीवनभर बेसहाराजस्तै रहिन् । नागरिकता नहुँदा उनले कहिल्यै अस्पतालको ढोका देखिनन् । सरकारी कार्यालय त झन् परकै कुरा । राज्यबाट पाउने सेवासुविधाबाट उनी सधैँ वञ्चित भइन् । पछिल्लो समय स्थानीयको सहारामा गत भदौ ३० गते उनले नागरिकताका लागि निवेदन दिएकी थिएन । तर आज सम्म सम्भव भएको थिएन ।
स्थानीय समाजसेवी, अधिवक्ता सुष्मा गिरी, रामकुमार पाठक, दधिराम पराजुली, पुरुषोत्तम कार्की, सुकदेव तिमिल्सिना, अशोक पराजुलीलगायत स्थानीय तहका प्रतिनिधिहरूको निरन्तर पहलमा छ महिना पछि उनले नागरिकता पाउन सफल सफल भएकी हुन् । वृद्व उमेरमा नागरिकता पाउँदा आफु खुशी भएको लालकुमारीले बताइन ।
आफन्त मार्फत सनाखत सम्भव नभएपछि स्थानीय तहको सिफारिस, वडाध्यक्षको सनाखत र ज्येष्ठ नागरिकहरूको साक्षीका आधारमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नागरिकता जारी गरेको हो ।
नागरिकता पाउनु नागरिकको मौलिक अधिकार भएको र वास्तविक नेपाली नागरिकलाई कागजको अभावमा राज्यबाट टाढा राख्न नहुने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।

