रोजगारी सृजना गर्न चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा मिनिटेलर मर्मत तालिम

पौष ३०, चौतारा । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले किसान लक्षित गाउँमै रोजगारी सृजना गर्न मिनिटेलर मर्मत तालिम सम्पन्न गरेको छ ।

नगरपालिकाले कृषि विकास शाखा मार्फत नगरभित्रका सबै वडाहरुको प्रतिनिधित्व हुनेगरी कृषकहरुलाई मिनिटेलर मर्मत फलोअप ५ दिने तालिम मंगलबार सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै जनताको कृषिकर्मको लागि यो तालिम निकै महत्वपूर्ण हुने ठोकुवा गरे ।

नगरकै लगानीमा दोस्रोपटक रुचिराख्ने कृषकहरुले फलोअप तालिम लिएपनि अझै नपुग्ने हुँदा तालिममा सहभागी प्रतिक्षार्थी स्वयंमले अभ्यस्त हुन सुझाए । ‘तपाईहरु अझै कोशिस गर्नुहोस, कम्तिमा आर्थिक आम्दानी सहित रोजगारी हुनेगरी आफुलाई तयारी गर्नुहोस’, उनले सहभागीलाई सुझाब दिंदै भने । आफु स्वयम खेतबारी जोत्न मिनिटेलको प्रयोग गर्ने गरेको भएपनि प्राविधिक ज्ञानको कमी हुँदा समस्या आएको भन्दै सहभागी सबै वास्तविक किसान भएकोले सिकेको ज्ञानलाई जीवन व्यवहारमा उतार्न आग्रह गरे ।

नगरपालिका कृषि विकास शाखा प्रमुख चिरन्जिवी कट्टेलले किसानले सहज रुपमा कृषी औजार प्रयोग गरुन भन्ने उद्देश्यले मिनिटेलर मर्मत तालिम कार्यक्रम शाखाकै आयोजनामा गरिएको बताए । मिनिटेलर सम्बन्धी गाउँ–गाउँमा प्राविधिक आवश्यक हुँदा किसानले मिनिटेलर मर्मत गरेर आफैं आम्दानी समेत प्राप्त गर्न सकुन भन्ने नगरको चाहाना रहेको उनले सुनाए ।

तालिममा प्रशिक्षकको भूमिकामा रहेका प्रशिक्षक बालकृष्ण पराजुलीले मिनिटेलर मर्मत तालिममा सिकेका कुरा व्यवहारमा उर्तान सबै प्रशिक्षार्थीलाई आग्रह गरे । ५ दिनको तालिमले प्रशिक्षार्थीलाई केही सिकाई उपलब्धी भएको समेत उनले बताए ।

तालिममा सहभागी मध्येका दिनेश घलेले गाउँबाटै रोजगार सृजना हुनेगरी नगरपालिकाले किसानलाई मिनिटेलर तालिम प्रदान गरेकोमा धन्यवाद दिए । मिनिटेलरको लागि प्रयोग हुने रेन्चु सम्बन्धी समेत जानकारी नहुने आफुलाई ५ दिनको तालिमले परिपक्क बनाएको समेत ठोकुवा गरे । नगर कृषि शाखाका रामहरी रामहरी दाहालका अनुसार उक्त तालिममा नगर भरिका ३० जना सहभागी रहेका थिए ।