चौतारा साँगाचोकगढी नगरपालिकाको वित्तीय प्रगति उत्साहजनक, ५ महिनामै समग्रमा ५१ प्रतिशत

दिनेश दुलाल
पौष २९, चौतारा । सिन्धुपाल्चोक जिल्लामा रहेको चौतारा साँगाचोकगढी नगरपालिकाको वित्तीय प्रगति उत्साहजनक देखिएको छ ।

मंगलबार नगरपालिकाको १९ औं नगरसभामा उक्त जानकारी गराईएको हो । नगरसभामा नगरपालिकाकी उपप्रमुख सीता थापाले आर्थिक वर्ष २०८२÷०८३ को श्रावण देखि हाल सम्म भएका मुख्य मुख्य कार्यहरुको संक्षिप्त प्रगति विवरण प्रस्तुत गरेकी हुन् । प्रस्तुत प्रगति विवरण अनुसार वित्तीय प्रगति तर्फ चालू आर्थिक वर्ष ०८२।८३ को विनियोजित कुल बजेट एक अर्ब २० करोड ७८ लाख ४३ हजार ७ सय ८५ रुपैँया ८६ पैसा मध्ये हालसम्म ३४ करोड ३० लाख ५ हजार ६ सय २९ रुपैँया ७१ पैसा) खर्च भएको छ । जुन कुल बजेटको २८.३९% हुन आउँछ ।

त्यस्तै पँुजीगत तर्फ विनियोजित कुल बजेट ३३ करोड ४१ लाख ३१ हजार चार सय ७९ रुपैँया ८६ पैसा मध्ये रु ३ करोड ७९ लाख ८३ हजार ६ सय ९३ रुपैँया) खर्च भएको छ । जुन कुल पुँजीगत बजेटको ११.३६% हुन आउँछ ।

यस्तै चालू तर्फ विनियोजित कुल बजेट रु.८७ करोड ३७ लाख २२ हजार ३ सय ६ रुपैँया मध्ये हालसम्म रु. ३० करोड ५० लाख २१ हजार ९ सय ३६ रुपैँया ७१ पैसा) खर्च भएको छ । जुन कुल चालू बजेटको ३४.९१% हुन आउँछ । गत साल भन्दा यस पटकको आर्थिक वित्तीय प्रगति उत्साहजनक रहेको पालिकाले जनाएको छ । जुन समग्रमा ५१ प्रतिशत लक्ष्य हाँसिल गरेको छ ।

राजश्व तर्फ नगरपालिकाको आन्तरिक आय अन्तर्गत दहत्तर बहत्तर तर्फ चालू आर्थिक वर्ष २०८२÷०८३ मा इन्द्रावती नदी तर्फ भ्याट सहित कुल जम्मा रु. ११ करोड १४ लाख १८ हजारको ठेक्का सम्झौतामा भएकोमा हालसम्म इन्द्रावती तर्फ भ्याट सहित पहिलो किस्ता वापत् रु. ३ करोड ८९ लाख ९६ हजार ३ सय रुपैँया संकलन गरिएको नगरपालिकाले जनाएको छ । त्यसैगरी दहत्तर बहत्तर तर्फ चालू आ.व. २०८२÷०८३ मा सुनकोशी नदी तर्फ भ्याट सहित कुल जम्मा रु. ३ करोड ६३ लाख ८४ हजार ९ सय ९९ रुपैँयाको ठेक्का सम्झौतामा भएकोमा हालसम्म सुनकोशी नदी तर्फ भ्याट सहित पहिलो किस्ता वापत् रु.१ करोड २७ लाख ३४ हजार ७ सय ४९ रुपैँया संकलन गरिएको छ । त्यस्तै नगरपालिकाको अन्य र १४ वटै वडा तर्फको जम्मा रु. १ करोड एकसठ्ठी लाख ८४ हजार ८ सय ७१ रुपैँया गरी कुल जम्मा रु. ६ करोड ७९ लाख १५ हजार ९ सय २१ रुपैँया राजश्व संकलन भएको प्रगति विवरणमा उल्लेख छ ।

नगरपालिकाको स्वास्थ्य तर्फ ५० वटा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण केन्द्रबाट ३ हजार ९ सय ५० जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको तथा नगरपालिका भित्रका २० वटा स्वास्थ्य संस्थाबाट ४६७२ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको जनाएको छ । त्यस्तै २०८ वटा गाउँघर क्लिनिक सेवा संचालन गरी ४५५१ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

नगरपालिकालको आर्थिक सहयोगमा ६६८ जनालाई निःशुल्क स्वास्थ्य विमा तथा नगरपालिका अन्तर्गतका १४ वटै वडामा आँखा सम्बन्धी समस्या भएका विशेष गरी मोतिबिन्दुको बिरामी १४७८ जनाको आँखा परिक्षण गर्दा ७८ जनामा मोतिबिन्दु पत्ता लगाइएको र ८१ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ ।

सुशासन तर्फ कार्यालयबाट हुने दैनिक कार्य सम्पादनलाई जनमुखी र पारदर्शी बनाउनका लागि सि.सि.टि.भि. को माध्यमबाट प्रत्येक शाखाहरुको अनुगमन गरिँदै आइएको जनाएको छ ।
शिक्षा तर्फ नगरले सूचना सञ्चार प्रविधिको प्रयोग गर्दै प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रोत्साहन गर्न कम्प्युटर तथा प्रिन्टर नभएका विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराउने प्रकृया अघि बढाइएको जनाएको छ ।

यस्तै भौतिक प्रगति तर्फ नयाँ ट्रयाक) ४.१० किलो मिटर निर्माण कार्य सम्पन्न भएको छ भने २२० कि.मि. सडक स्तरोन्नती कार्य सम्पन्न भएको जनाएको छ ।
यस्तै योजना तर्फ वडा तथा नगर स्तरीय गरी जम्मा १२० वटा योजनाहरु सम्झौता भएकोमा ३० योजनाको कार्य सम्पन्न भई भुक्तानीको कार्य सम्पन्न भएको छ ।

यसैगरी कृषि तर्फ मिनिटिलर तथा कम्बाईन डिक्स मिल तथा स्प्रेयर बितरण कार्यक्रम तर्फ ४७ जनालाई कम्बाईन डिक्स मिल वितरण कार्य सम्पन्न गरिएको छ भने पशुतर्फ पशु बिमा कार्यक्रमलाई निरन्तरता दिई उक्त कार्यक्रम अन्तर्गत ९८७ गाईरभैँसी तथा ६६७ बाख्राको पशु बिमा गरिएको छ । यसैगरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस डिसेम्बर ३ को अवसरमा वडा नं. ५ स्थित श्री वनदेवी मा.वि. मा दृष्टिविहिन व्यक्तिहरुको क्रिकेट प्रतियोगिता र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको म्युजीकल चियर र बेलुन फुटाई प्रतियोगिता संचालन गरिएको छ ।

यस्तै विपद व्यवस्थापन तर्फ श्रावण देखि हालसम्म प्राकृतिक विपदमा परी मृत्यु भएका २ जनालाई रु। ३ लाख राहत उपलब्ध गराइएको जनाएको छ । नगरपालिकाले आफ्ना पालिका अन्तर्गतका सबै वडाहरुका सामाजिक सुरक्षा लाभग्राहीहरुको चालू आ.व. २०८२÷०८३ को दोस्रो त्रैमासिक सम्मको सामाजिक सुरक्षा भत्ता रकम इ.एफ.टी. मार्फत् बैंकबाट सहज रुपमा उपलब्ध गराइएको जनाएको छ ।

१९ औं नगरसभाका अध्यक्ष नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले पहिलो बर्षको कार्यकाल सिक्नै समय लागेकोले दोस्रो वर्ष देखि क्रमशः नगरका कार्यक्रमहरु सुधारउन्मुख रहेको बताए । केही कार्यक्रमहरु निकै निकै उत्साहजनक र उपलब्धीमुलक रहेको बताए ।

कार्यक्रममा नगर सल्लाकार, चन्द्र सापकोटा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम घिमिरे, १३ वटै वडाका वडाअध्यक्ष, नगरपालिका सदस्य, सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो । १३ नम्बर वडाअध्यक्ष तथा सामाजिक विकास संयोजक रामप्रसाद गौतमको सञ्चालनमा भएको उक्त कार्यक्रममा ५ नम्बर वडाअध्यक्ष शिब श्रेष्ठले स्वागत, ८ नम्बर वडा अध्यक्ष अमृत दंगालले शुभकामना मन्तव्य दिएका थिए । यसैगरी नगरसभामा ११ नम्बर वडाअध्यक्ष रोशनराज गिरीले नगर प्रहरी व्यवस्था सम्बन्धी कार्यविधि प्रस्तुत गरेका थिए । अब १८ बर्ष देखि २३ बर्ष सम्मका नगरभित्रका नागरिकले नगर प्रहरीमा भर्ना हुने अवसर पाउने भएका छन् ।