चन्दा उठाएरै ठूलो पुरस्कार राशीको प्रथम सरोज स्मृति पुरूष भलिबल प्रतियोगिता हुँदै

दिनेश दुलाल
पौष ३०, चौतारा । आजभोली गाउँ देखि शहर बजार सम्म छ्याप–छ्याप्ती क्लवहरु दर्ता छन् । ति मध्य कति क्लवहरु क्रियासिल छन् । कतिपय नाम मात्रैका छन् । आर्थिक स्रोत बिहिन रहेका प्राय क्लवहरुले कित चन्दा, कित सरकारी सहयोगबाट आफ्ना कार्यक्रम गतिविधि गर्ने गरेका छन् । तर सरकारी कम बजेटको बाबजुत पनि चन्दाकै भरमा ठूलास्तरका कार्यक्रम गर्ने केही उदाहरणीय क्लवहरु पनि समाजमा भेटिन्छन् ।

यसै मध्यको सिन्धुपाल्चोक जिल्लाको कुविण्डे युवा समुह हो । जसले सरकारी बजेट भन्दा ६ गुणाबढी आफैंले चन्दा उठाएर कार्यक्रमको आयोजना गरेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा रहेको उक्त युवा समुहले ‘जनयुद्व’ को उदगम स्थल कुविण्डेमा माघ १ देखि प्रथम सरोज स्मृति पुरूष भलिबल प्रतियोगिता २०८२ सुरुवात गर्ने भएको छ ।

जिल्लाका ११ वटा पालिका समावेश हुने सबैभन्दा ठूलो पुरस्कार राशीको प्रथम सरोज स्मृति पुरूष भलिबल प्रतियोगिता सामाजिक सञ्जाल मार्फत चन्दा उठाएरै सम्पन्न गरिने आयोजकले बताएको छ ।

युवा समुहले मंगलबार सदरमुकाम चौतारामा आयोजित खेल तालिका सार्वजनिकरण सहितको पत्रकार सम्मेलनमा माघेसंक्रान्तिका दिन हुने भलिबल प्रतियोगिताको बारेमा जिल्लाका सञ्चारकर्मीहरुलाई जानकारी दिएको हो ।

‘हामी पूर्ण रुपमा चन्दाकै भरमा यति ठूलो कार्यक्रमको आयोजना गर्दै छौं’, आयोजक कुविण्डे युवा समूहका अध्यक्ष मेखबहादुर न्यौपानेले भने । भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रमको लागि करिब १८ लाख लागत अनुमान गरिएको उनले बताए । उनका अनुसार उक्त प्रतियोगिताको लागि चौतारा साँगाचोकगढी नगरपालिकाले जम्मा ३ लाख सहयोग गर्ने प्रतिवद्वता जनाएको छ । बाँकी १५ लाखमा ५ लाख भन्दा माथि विभिन्न सामाजिक सञ्जाल मार्फत देशविदेशमा रहनेहरुले चन्दा सहयोग प्राप्त भएको र अझै प्रतिवद्वता निरन्तर रहेको समुहका अध्यक्ष न्यौपानेले बताए ।

सहभागी सञ्चारकर्मीहरुलाई जानकारी दिंदै अध्यक्ष न्यौपानेले माघ १ देखि ३ गते सम्म हुने प्रतियोगिताको लागि जिल्लाका बाह्रबिसे नगरपालिका बाहेक ११ वटा पालिका समावेश हुने छन् । अन्तरपालिका स्तरीय स्थानीय तह सहभागिताको हिसाबले अहिले सम्मकै धेरै सहभागिता भएको आयोजकको दावी छ । उक्त आयोजकका अनुअसार उक्त प्रतियोगिताको पुरस्कार राशी प्रथम एकलाख, द्वितीय ७५ हजार, तृतीय ५० हजार र सान्त्वना २५ हजार रहेको छ । टिम दर्ता शुल्क १० हजार राखेकोमा सबै टिम दर्ता भईसकेको आयोजकले जनाएको छ ।

पूर्व सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यता, निवर्तमान सांसद माधव सापकोटा तथा चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाको विशेष आतिथ्यतामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।
नेपाल पत्रकार महासंघको भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै आयोजकले खेल मैदान व्यवस्थापन, खेलाडी दर्ता, रेफ्री तथा प्राविधिक टोलीको व्यवस्था, सुरक्षा, स्वास्थ्य सेवा र दर्शक व्यवस्थापनलगायत सबै तयारी पुरा भएको जानकारी गराएको हो ।

यसैबीच पत्रकार सम्मेलनकै क्रममा प्रतियोगिताको टाइसिट समेत निर्माण गरिएको थियो । जसअनुसार प्रतियोगिताको पहिलो दिनको पहिलो खेल पाँचपोखरी थाङपाल गाउँपालिका र बलेफी गाउँपालिकाबीच, दोस्रो खेल सुनकोसी गाउँपालिका र जुगल गाउँपालिकाबीच तथा तेस्रो खेल लिसंखु पाखर गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाबीच हुने तय भएको छ ।

प्रतियोगिताको पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरिनुका साथै स्थानीय कलाकारहरूको सहभागितामा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ, जसले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला खेलकुद समितिका अध्यक्ष रामकृष्ण दंगालले यो प्रतियोगिता स्थानीय सहभागिताको हिसाबले अहिले सम्मकै उलेख्य सहभागि रहने खालको कार्यक्रम भएको प्रतिक्रिया दिए । अन्तर पालिका स्तरीय खेलकुद जिल्लाकै खेलकुदका हिसाबले महत्त्वपूर्ण हुने समेत उनको ठहर छ । नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष ध्रुब दंगालले उक्त प्रतियोगिता कार्यक्रम अन्य कार्यक्रम भन्दा निकै महत्वपूर्ण रहेकोले जिल्लाका सञ्चारकर्मीहरुले खुलेर सहयोग गर्ने प्रतिवद्वता जनाए ।

भलिबल प्रतियोगिता कार्यक्रममा देशका चर्चित कलाकार मार्फत साँस्कतिक मनोरञ्जन समेत गरिने आयोजकले जनाएको छ ।