मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय
पुष २९, चौतारा । मकैको खोस्टा जस्ता खेर जाने स्थानीय कच्चा पदार्थको प्रयोग गरी घरायसी सामग्री निर्माण गर्ने उद्देश्यले बलेफी गाउँपालिका वडा नम्वर –६ मा सञ्चालन गरिएको १० दिने तालिम सम्पन्न भएको छ । उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न तालिमपछि सहभागीहरूले यसलाई व्यावसायिक रूपमा अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

तालिममा सहभागी नारायण तिमल्सिनाले यसअघि मकैको खोस्टाबाट विभिन्न सामग्री बनाउन सकिन्छ भन्ने जानकारी नै नभएको बताउँदै अब सिकेको सीपलाई आयआर्जनको माध्यम बनाउने योजना रहेको जानकारी दिए । उनले अझ स्तरीय र उन्नत तालिमको आवश्यकता रहेको पनि उल्लेख गरे ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले स्थानीय स्रोतसाधनको उपयोग गर्दै सीप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । उनले स्थानीय स्तरमै उपलब्ध सामग्रीको प्रयोगबाट उत्पादन सुरु गर्न सके स्वरोजगारीका अवसर सिर्जना हुने धारणा राखे ।
तालिममा सहभागीहरूलाई मकैको खोस्टाबाट बुकी, ढकी, किरिङ, चकटीलगायत विभिन्न घरायसी सामग्री निर्माण गर्ने सीप प्रदान गरिएको थियो । प्रशिक्षक रिता गाहाले तालिममार्फत व्यावहारिक सीप हस्तान्तरण गरिएको र यसले स्थानीय स्तरमै रोजगारी तथा आयआर्जनका अवसर विस्तार हुने विश्वास व्यक्त गरे ।
बलेफी गाउँपालिका वडा नम्वर –६ का वडा अध्यक्ष तेजबहादुर पराजुलीले स्थानीय अवसर र कार्यक्रममा स्थानीय सामग्रीकै प्रयोगलाई प्राथमिकता दिने बताए । उनले पाहुना तथा अतिथि सत्कारका क्रममा पनि यस्ता सामग्री प्रयोग गरिने जानकारी दिए ।
स्थानीय कच्चा पदार्थको प्रयोग, सीप हस्तान्तरण, स्थानीय उत्पादन र उपभोगमार्फत स्वरोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो तालिमले बलेफी क्षेत्रमा आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

