‘कुलमान आफैंले गिराएको साख’

दिनेश दुलाल
२०८१ साल चैत्र ११ गते मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका चेपाङ बस्तीमा पहिलोपटक गाउँमा बिजुली बाल्न उज्यालो नेपालका नायक भनेर चिनिएका तत्कालिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बत्ती बाल्दै थिए, त्यतिबेलै उनको पद चैट भयो ।

त्यहि दिन केपी ओली नेतृत्वको क्याबिनेट बैठकले घिसिङको ठाउँमा पूर्व कार्यकारी निर्देशक नै रहेका हितेन्द्रदेव शाक्यलाई पुनः नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपछि सामाजिक सञ्जाल र सडकमा उक्त निर्णय विरुद्ध प्रदर्शन भयो । घिसिङको पक्षमा माहोल एकाएक तात्यो ।
नेपालमा लामो समयदेखि हुँदै आएको लोडशेडिङ हटाएको श्रेय उनले पाएका थिए । घिसिङलाई हटाइएको सूचना सञ्चारमाध्यममा आएपछि विभिन्न विपक्षी विद्यार्थी सङ्गठनहरूले विरोध प्रदर्शन समेत गरेका थिए ।

२०७३ सालमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र उर्जामन्त्रीमा पार्टीकै नेता जनार्दन शर्मा हुँदा घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा जम्मा ४ महिना बाँकी रहँदा उनको पद ओली सरकारले खोसेको थियो ।

उसोत तत्कालिन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा उर्जामन्त्री रहेकी राधा ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका निर्देशक घिसिङलाई हटाएकी थिइन । कुलमानलाई आयोजना प्रमुखबाट तानेर जगेडामा राखेर कारवाही गरेकी थिइन । ज्ञवाली २०७२ असोज १४ गते उर्जामन्त्रीबाट बाहिरिएकी थिइन् । तर ऊर्जामन्त्री ज्ञवालीले अयोग्य भन्दै कारवाहीको दायरामा राखेका कूलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएपछि नयाँ कार्यको शुभराम्भ भयो । दैनिक १६ घण्टासम्म लोडसेडिङको मार खेप्नुपरेको राजधानीमा तिहारयता कुलमानले काठमाडौंमा लोडसेडिङ हटाएका थिए । यद्यपि उनको मात्रै देन थिएन । उनलाई साथ दिने तत्कालिन प्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री जनार्दन शर्मा थिए ।

चिलिमे हाइड्रोपावरको प्रबन्ध निर्देशक भएर लामो समय काम गरेका घिसिङले चिलिमेकै आम्दानीबाट सिन्धुपाल्चोकमा निर्माणाधिन १०२ मेगावाटको मध्ये भोटेकोशी जलविद्युत आयोजना निर्माण सुरु गरेका थिए ।

राम्रो उत्पादन दिन थालेपछि तत्कालिन ऊर्जामन्त्री ज्ञवालीले एमाले निकट प्राधिकरणकै एक कर्मचारीलाई प्रबन्ध निर्देशक बनाएर चिलिमे पठाएकी थिइन् । घिसिङलाई त्यहाँबाट तानेपछि सिन्धुपाल्चोकमा निर्माणाधिन १०२ मेगावाटको मध्ये भोटेकोशी जलविद्युत र चिलिमे हाइड्रोपावरमा एमालेले चलखेल गर्ने बाटो खुलेको थियो । त्यतिबेला घिसिङलाई चिलिमेबाट सरुवा गरेपछि रसुवामा आन्दोलन समेत भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि काम गर्न सक्ने क्षमता देखेर प्राधिकरणका ११ औं तहका कर्मचारी घिसिङलाई कार्यकारी निर्देशक बनाइएको थियो ।

प्रचण्ड नेतृत्वको सरकारले २०७८ साउन २४ मा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका शाक्यलाई हटाउँदै कुलमान घिसिङलाई नियुक्ति सिफारिस गरेको थियो । तर आज भोली घिसिङले प्रचण्ड र उनको पार्टीले खेलेको भूमिकालाई चटक्कै बिर्सिका छन् । रामेछाप जिल्लाको एउटा विकट गाउँमा जन्मेका, हुर्केका र साधारण कर्मचारीको रुपमा रहेका कुलमानलाई यो हाइट सम्म पु¥याउने श्रेय प्रचण्ड र माओवादी केन्द्रकै थियो तर यो सत्यलाई कुलमानले भुलेका मात्रै छैनन् । गलत अभिव्यक्ति समेत दिएका छन् । ‘मलाई कुनै पार्टीले यो हैसियत सम्म बनाएको होइन जनताको आन्दोलनको बलमा यहाँसम्म आइपुगेको हुँ’ समेत भन्न भ्याए ।

पहिलो पक्ष, कुलमान संग राजनैतिक इमान्दारीता र अलिकति पनि नैतिकता भएको भए उनले पक्कै भन्ने थिए–‘ म माओवादी केन्द्र र प्रचण्डकै कारण यहाँ सम्म आएको हुँ तर तपाइहरुको कार्यशैली, योजना र क्रियाकलापमा अडिन सक्दिन, अलग धार बनाउँछु ।’ यो उनको वैयक्तिक स्वतन्त्रा थियो । कुनै अमुक दलले सहयोग गरेको भन्दैमा त्यहि दलको भक्तिभाव गाउन पर्छ र संगै हुनपर्छ भन्ने छैन । तर गरेको योगदानको मूल्याङकन र सम्मान भने गर्नुपर्छ । यो नैतिकताको प्रश्न हो । यसमा कुलमानले नैतिकता भुलेका छन् ।

दोस्रो पक्ष, हरेक ठाउँमा झुट बोल्ने बानीले कुलमानलाई गिराएको छ । उनी जनतामा जाँदा आफु एक्लैले लडेर यहाँ सम्म आइपुगेको दावी गर्छन, अर्कोतिर माओवादी केन्द्रका नेताहरु (हाल नेपाली कम्युनिष्ट पार्टी) संग ‘म तपाइहरुकै हो’ समेत भन्न भ्याएका छन् । यसले पनि आगमी दिनमा सो पार्टीसंगको उनको विश्वासनीय आधार गुमेको छ । हालै मात्र उनले प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रीबाट राजीनामा दिन आग्रह गर्दा उनले आफु कुनै दलको सदस्य नभएको जिकिर गरेका थिए । यद्यपि उनी रास्वपाको उपसभापति भएको दुनिया जगजाहेर छ । भलै उनले मन्त्री पदबाट राजीनामा दिईसकेका छन् । यो खालको उनको व्यवहारले पनि उनी जनताको नजरमा गिरेका छन् ।

तेस्रो पक्ष, उज्यालो अभियान्ताको रुपमा जसरी कुलमानले आफुलाई स्थापित गराए । उनको जीवनमा सबैभन्दा ठूलो उर्जा र सम्पतिको रुपमा थियो । यो सम्पतिलाई पनि उनले रास्वपामा गएर धराशाही बनाए । उज्यालो नेपाल नामक उनको पार्टी आफैंमा एउटा ब्राण्ड थियो । उनले त्यहि पार्टीमा रहेर चुनाव लडेको भए, सायद आधा दर्जन सांसद जितेर मुलुककै एउटा उदयीमान नयाँ शक्तिका रुपमा आफुलाई स्थापित गराउन सक्थे होलान, त्यो अवसर अब उनले गुमाएका छन् । एकथान सांसद खानकै लागि कुनै बेलाका जनताका नजरमा लोकप्रिय छायका उज्यालो नेपालका अभियान्ता कुलमान गुमनाम हुँदैछन् ।

चौथो, रास्वपाको नीति र उद्देश्यमा कति सहमत होलान ? यो कुलमानका लागि यक्ष प्रश्न छ । किनकी रास्वपाको लक्ष्य सुरुमा संघीयता खारेजी र अन्तिम लक्ष्य संवैधानिक राजतन्त्र हुन सक्छ । रास्वपाले कहिल्यै पनि संघीयता स्विाकारेन र उसले गत निर्वाचनमा प्रदेशमा भाग नै लिएन । रास्वपाको संघीयता लक्ष्य नै होइन ऊ खारेजीको पक्षमा छ र रहन्छ । एउटा तामाङ समुदायको गरीब परिवारमा हुर्केका व्यक्ति कर्मचारी हुँदै आफ्नो करिअर बनाएका घिसिङले रास्वपाको संघीयता विरोधी नीतिमा साँच्चै लपेटिएलान ? यो उनले जान्ने कुरा हो । आज मुलुकमा संघीयता नभएको भए घिसिङ जस्ता मामुली कर्मचारीले यो अवसर पाएर चर्चाको शिखर कमाउन सक्थे होलान ? उनको अन्तरयामले के भन्ठानेको होला ? आज लोकले यो जान्न चाहेको छ ।

रास्वपा यो मुलुकको ठूलो पार्टी बन्यो भने उसको अन्तिम गन्तव्य संवैंधानिक राजतन्त्र नै हो । किनकी त्याहाँ ज्ञानेन्द्र शाही जस्ता व्यक्तिहरु समेत आउन खुट्टा उचालेर बसेका छन् । सक्रिय राजतन्त्रको पक्षपाती ज्ञानेन्द्री शाही, बालेन, शाह र रविन्द्र मिश्र जस्ता मान्छे रास्वपामा रहने भएपछि त्यो पार्टी अन्तत ः सवैंधानिक राजतन्त्रमै रहँदा कुलमान अलग हुन सक्दैनन् । यसकारण एकथान सांसद र पार्टीको दोस्रो बरियता पाएका कुलमानले त्यो व्यवस्थामा मुलुक र जनताले चाहेको सर्भिस पक्कै दिन सक्ने छैनन् । नेपालीमा एउटा उखान छ, ‘किन चाउरिस मरिच आफ्नै रागले’ भनेझैं कुलमान आफै चाउरिएका छन् । उनीभित्रको असिमित सिर्जनात्मक क्षमलाई दम्भ, अंहमता र महत्वकांक्षी भावनाले ग्रस्त बनाएर आफैंले बनाएको साख, आफैंले गिराउँछन् की जोगाउँछन् ? यो आगमी चुनाव सम्म अवश्य देखिएला ।

पुष २४, काठमाडौं