लिसंखुपाखरको रचनात्मक काम, बुलबुले चिया बगानमा यसरी जुट्यो श्रमदान
पुष ११, अत्तरपुर । यतिबेला लिसंखुपाखर गाउँपालिकाको बुलबुले पाखामा छरप्रष्ट मानिसहरु देख्न सकिन्छ । त्याहाँ न गोठाला हुन, न घाँसदाउरा गर्ने किसान न बनभोज मनाउनकै लागि गएका हुन । त्याहाँ त केबल चिया बगान संरक्षणका लागि स्थानीय जनप्रतिधि देखि कर्मचारी तथा सर्वसाधरण दैनिकी पुगेका छन् । गाउँपालिकाले थालेको यो अभियानका लागि गाउँपालिका अध्यक्ष राजु लामा, उपाध्यक्ष मिठुदेवी लामा, प्रत्येक वडाका वडाअध्यक्ष समेत उक्त अभियानमा सामेल भएको गाउँपालिकाले जनाएको छ ।

गाउँअपालिकाले २०८२ असोज २९ गतेको गाउँ कार्यपालिकाको निर्णय अनुसार पहिलो चरणमा कार्तिक १३ गते र दोस्रो चरणमा पौष ८ गते श्रमदानद्वारा बुलबुले चिया बगान गोडमेल तथा संरक्षण गर्ने कार्यमा सबै सहभागी गर्ने निर्णय भएको हो ।
चिया बगान गोडमेल तथा संरक्षण कार्यमा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, कर्मचारी, संघसंस्थाका प्रतिनिधि र स्थानीय समुदाय उत्साहका साथ लागेको गाउँपालिका अध्यक्ष राजु लामाले बताए । ‘श्रम अभियानले मानिसलाई हौसला र उत्साहित मात्रै गराउदैन श्रम संस्कृतिको विकास समेत गराउँछ’, पालिका अध्यक्ष लामाले भने । यस खालको अभियान आगमी दिनमा हरेक क्षेत्रमा निरन्तरता गरिने उनले जानकारी दिए । पालिकाको उक्त अभियान थालिएसंगै स्थानीय समेत उत्साहका साथ श्रम अभियानमा सरिक भएको गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामाले बताइन ।

