ब्लोदान सिन्धुपाल्चोकको अध्यक्षमा कसजू
५ पौष, चौतारा । ब्लड डोनर्स एसोसियसन (ब्लोदान) जिल्ला शाखा सिन्धुपाल्चोकको प्रथम जिल्ला अबिधेशनबाट अध्यक्षमा सुरेशराम कसजु निर्विरोध निर्वाचित भएका छन् ।
सुरक्षित रगत म आफैबाट सुरु हुन्छ भन्ने उदघोषका साथ चौतारामा सम्पन्न अबिधेसनबाट समितिको उपाध्यक्षमा निर्मल बस्नेत, सचिव प्रभात श्रेष्ठ, सहसचिव दीपक खत्री, कोषाध्यक्ष सुजता सापकोटा र सदस्यहरुमा कमल प्रसाद श्रेष्ठ, राकेश राना, रमेश दुलाल, पवन सापकोटा, रविन गौतम, सरोजा श्रेष्ठ, सविन श्रेष्ठ र सुप्रीन्स कसजु निर्बिरोध निर्वाचित भएको विर्नाचन समितिका संयोजक एवं ब्लोदानका केन्द्रिय महासचिव मचाकाजी महर्जनले बताए ।

२०४९ सालमा रक्तदाताहरुको अगुवाईमा स्थापना भएको एशोसियसनको हाल सम्म १५ वटा जिल्लामा शाखा स्थापना भएको छ । १५ शाखा मध्ये १४ औँ शाखाको रुपमा गतबर्ष चौताराको टुडिखेलमा जिल्लाका रक्तदाताहरुको एक भेलाले कसजुको संयोजकत्वमा १७ जनाको जिल्ला शाखा तदर्थ समिति गठन भएको थियो ।
चौतारा बजारमा रहेको कञ्चन स्मृति ग्राम विकास पुस्तकालयमा सम्पन्न अबिधेशन ब्लोदानका केन्द्रिय अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । श्रेष्ठले अबिधेशनको पानसमा बत्ति बालेर उदघाटन गरेका हुन् । उद्घाटन पछिको शुभकामना मन्तव्यका क्रममा स्थापनाकालदेखी हासम्मका गतिबिधि र रक्तदाताहरुको बारेमा चर्चा गरेका थिए । उनले अबिधेशनबाट निर्वाचत जिल्ला शाखा समितिलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।

कार्यक्रममा हास्यव्यङ्ग्य कलाकार धिताल चिरिच्याट्टले ब्लोदान सिन्धुपाल्चोकको गतिविधिको प्रशंशा गदै थप सफलताको कामना गरेका थिए । त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष कमला पाख्रीन, फोटो पत्रकार संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय नेपाल र चौतारा अस्पतालका प्रतिनिधी केशवप्रसाद अधिकारी र जिल्लाका विभिन्न सामाविक संघसंस्थाका रक्तदाताहरुको सहभागिता रहेको थियो ।

ब्लोदान सिन्धुपाल्चोकको अगुवाईमा चौतारा नगरपालिका, नेपाल रेडक्रस सोसाइटीसंग सहकार्य गरि चौतारा अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना गरेको छ । त्यस्तै एशोसियसनले नेपाल पत्रकार महसंघ, नेपाल आदीवासी जनजाती पत्रकार संघ, लाायन्स क्लव र स्थानीय सामुदायिक विद्यालय र विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरि रक्तदान कार्यक्रम गरि संकलित रगत चौतारा अस्पतालमा भण्डारण गरि प्रयोगमा ल्याईने गरेको छ ।
रक्तसञ्चार केन्द्र स्थापना पछि ५० जना भन्दा बढीको सल्यक्रिया सफल रुपमा नै चौतारा अस्पतालबाट भईसकेको छ । सहज रगत आपुर्ति नहुँदा विगतको समयमा चौतारा अस्पताबाट विमारीहरु राजधानीको अस्पतालमा रिफर हुँदै आएको थियो ।

