‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा फेयरमेड फाउन्डेसन र महिला आत्मनिर्भरता केन्द्रद्वारा संचालित सिन्धु स्वास्थ्य परियोजनाको सहयोगमा विद्यालय नर्सहरूका लागि मातृशिशु स्वास्थ्य तथा उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

आईतबार सुनकोशी गाँउपालिका स्थित ग्रामीण महिला सिर्जनशील परिवारको सभा हलमा भएको उक्त कार्यक्रमले विद्यालयमा अध्यनरत विद्यार्थी लगायतको स्वास्थ्य प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै सोमबार जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको वार्षिक समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम समेत भएको छ। सुनकोशी गाउँपालिका–स्थित ग्रामीण महिला सिर्जनशील परिवारको सभा हलमा भएको कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहका ४५ जना विद्यालय नर्सको सहभागिता रहेको थियो ।

कार्यक्रममा वार्षिक प्रगति समिक्षासँगै विद्यालय नर्सहरूको सीप तथा ज्ञान अभिवृद्धिका विषयमा समेत छलफल गरिएको थियो।कार्यक्रमको समापन समारोहमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले जिल्लामा रहेका १४१ वटा माध्यमिक स्तरका (९-१० तथा ९-१२ कक्षा संचालनमा रहेका )बताउँदै १०२ माध्यमिक विद्यालयममा कार्यक्रम लागू हुनुपर्ने भए पनि हाल ५३ जना मात्र विद्यालय नर्स कार्यरत रहेको जानकारी दिईन ।

उनका अनुसार कतिपय स्थानमा पदपूर्ति हुन नसक्नु तथा दुर्गम क्षेत्रमा जान नर्सहरूको रोजाइ नहुनु प्रमुख समस्या रहेको छ। यी समस्याबारे प्रदेश स्वास्थ्य मन्त्रालय र सम्बन्धित निर्देशनालयलाई जानकारी गराइसकिएको प्रमुख बजगाईंले बताइन ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार सहरी क्षेत्रदेखि ग्रामीण भेगका माध्यमिक विद्यालयमा करार सेवामा नर्स नियुक्त गरी खटाइएको छ ।

पत्रु खानालाई हटाई पोषणयुक्त खानेकुरामा प्रोत्साहन गर्न, मर्यादित महिनावारी कार्यक्रम ,स्वास्थ्य सजगता अपनाउन उत्प्रेरित गर्ने, स्वास्थ्य, मानसिक स्वस्थ्य कार्यक्रम, सरसफाई , आत्महत्या रोकथाम र पोषण प्रवर्द्धन गर्न विद्यालयमा नर्स कार्यक्रम राखिएको हो ।

तत्कालीन बागमती प्रदेश सरकारले २०७५ बाट ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।