जनयुद्वका योद्वा विशालको आँखामा यसरी टिलबिलायो खुशीको आँशु

दिनेश दुलाल

मंसिर २९, तिपेनी (सिन्धुपाल्चोक) । पाँचपोखरी थाङपाल गाउँपालिका–तिपेनीका हरि बहादुर दनुवार (विशाल) माओवादी जनयुद्धका कुशल योद्वा हुन् । हत्केलामा जीवन राखेर जनयुद्वमा होमिएका बिशालको जीवन साँच्चै नाफाको जीदंगी थियो । तीन–तीनपटक मृत्युको मुखबाट फर्किएर बालबालले बाँचेका विशाल पटक–पटकको घटनाका कारण शारिरिक अपंगता पनि हुन् ।

पार्टीमा भूमिगत रहेकै अवस्थामा २०६१ साल असार २१ गते सिन्धुपाल्चोक जिल्लाको साविक मार्मिङ गाविस ज्याम्दुङ भन्ने स्थानबाट सशस्त्र कमाण्डो प्रहरीद्वारा लालकान्छा तामाङ, बासुदेव दुलाल सहित पक्राउ परेका थिए विशाल । झण्डै एकदर्जन माओवादी कार्यकर्ता घेरा हालेर पक्राउ गरेको तत्कालिन राज्य पक्षको सशस्त्र जत्थाले पक्राउ परेका सबैलाई मार्ने तयारी अनुसार हातखुट्टा बाँधेको थियो । संयौको संख्याको हतियारधारी सशस्त्रको घेराबाटै नाङ्गो शरिर भएकै अवस्थामा विशाल भाग्न सफल भए । उनी पार्टीको सम्पर्कमा पुगेपछि पार्टीको पहलकदमीमा मानव अधिकारवादी लगाएतको खवरदारीका कारण समातिएकालाई सशस्त्र प्रहरीले मार्न सकेन । विशालले यसरी जोगाएका थिए आफ्ना सहयोद्वाहरुलाई ।

युद्वका क्रममा कयौंपटक हण्डर खाएर तत्कालिन नेकपा(माओवादी) को पूर्णकालिन कार्यकर्ता भएर काम गरेका विशाल पछिल्लो दशकमा भने गुमनाम जस्तै थिए ।

नेपालमा शान्ती पक्रियापछि फेरीएको पार्टीको फरक रुपान्तरणले उनी जस्तै धेरै कार्यकर्तालाई विक्षिप्त बनाएको थियो । सामन्य गरिब परिवारमा जन्मिएका विशाल उहि पुरानै घरायसी जीवन शैलीमा फर्किएका थिए । गरिब र अभावका कारण टिनको छानो भएको सानो झुपडी समेत बनाउन नसकेका विशालले फेरी जीवनमा खुशीको बहार आउने कहिल्यै सोचेका थिएनन । पार्टीमा व्यक्तिवादी प्रवृति हावी हुँदै गएको परिवेशमा सामुहिकताको कमरेडली भावना फेरी जागृत होला भनेर उनले कहिल्यै सोचेका थिएनन । तर एकदिन उनै हरिबहादुर दनुवार उर्फ विशालले कहिल्यै नसोचेको कुरा पाए । उनको जीवनमा खुशीको बहार छायो ।

नेपाली कम्युनिष्ट पार्टी पाँचपोखरी थाङपाल गाउँपालिका समितिले पूर्व लडाकुको दयनीय अवस्था देखेपछि पाँच महिना अघि घर निर्माण अभियान सुरु गरेको थियो । विशालको बारेमा राम्रो जानकार भएका पूर्व कमाण्डर, नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् वाग्मति प्रदेश सांसद युवराज दुलाल ‘शरद’ को योजना र निर्देशनमा चिटिक्क परेको आवास बन्न सफल भयो ।

जनस्तरबाट संकलन गरिएको चन्दाबाट निर्माण सम्पन्न घरको उनै प्रदेश सांसद दुलालले सोमबार रिबन काटेर उद्घाटन गरे । सोही अवसरमा उनले जनयुद्वका योद्वा हरि बहादुर दनुवारलाई घरको चाबी हस्तान्तरण गरे । चाबी पाएसंगै विशालको आँखामा आँशु टिलबिलायो । शान्ति प्रक्रियामा योगदान दिएका घाइते तथा अपांगता भएका जनद्वका योद्वा विशालको जीवन सहज बनाउनु राज्य र समाज दुवैको दायित्व भएको सांसद दुलालले उल्लेख गरे ।

अभियानमा स्थानीयवासी, विभिन्न व्यक्ति तथा शुभेच्छुकहरूको सक्रिय साथ रह्यो । घर निर्माणका लागि बालुवा, सिमेन्ट, बत्ती लगायतका जिन्सी सामग्रीमा १ लाख ३७ हजार रुपैयाँ बराबरको सहयोग जुटेको हो । गाउँपालिका समिति संयोजक दिल बहादुर वाईवाका अनुसार नगदतर्फ ३ लाख १५ हजार ६ सय ९० रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

शसस्त्र जनयुद्धका क्रममा तीनपटक मृत्युको मुखबाट फर्किएका पाँचपोखरी थाङपाल गाउँपालिका–तिपेनीका पूर्व लडाकु हरि बहादुर दनुवारको जीवनले युद्धपछिको राज्य र समाजको वास्तविक अनुहार झल्कायो । साथै सामुहिकताको भावना पनि । युद्धमा एउटा आँखा र देब्रे हातका तीन औँला गुमाएका दनुवारले शान्ति प्रक्रियापछि पनि सम्मानजनक जीवन भने पाउन सकेका थिएनन । तत्कालीन माओवादी पक्षबाट लड्दै ‘कमरेड विशाल’को नामले चिनिएका दनुवारले देश शान्तिको बाटोमा हिँड्दा पनि आफू र परिवार भने असुरक्षित जीवन बिताउनुपरेको पीडा पोखे ।

तीन बालबालिकासहित पाँच सदस्यीय परिवार लिएर उनी घाम–पानीबाट जोगिन नसक्ने सानो टहरोमा वर्षौँ बिताउन बाध्य भएका थिए । जनयुद्धमा योगदान दिएका धेरै पूर्व लडाकुजस्तै, उनको जीवन पनि शान्ति सम्झौतापछि राज्यको प्राथमिकतामा पर्न सकेन । तर, यो अवस्था अब केहि मात्र भएपनि फेरिएको छ । स्थानीय पहल, पार्टी संरचना र शुभेच्छुकहरूको सहयोगमा दनुवार परिवारले सुरक्षित दुई कोठे घर पाएको छ ।

नेपाली कम्युनिष्ट पार्टी पाँचपोखरी थाङपाल गाउँपालिका समितिको अगुवाइमा पाँच महिनाअघि सुरु गरिएको घर निर्माण अभियानले सामाजिक सहकार्यको उदाहरण प्रस्तुत गरेको छ । सोमबारदेखि दनुवार परिवार सुरक्षित दुई कोठे घरमा बस्न थालेको छ । पूर्व माओवादी नेता कार्याकर्तामा आफ्ना सहयोद्वाप्रतिको सामुहिक भावना र सहयोग देखेर स्थानीय समेत दंग परेका छन् ।